coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य

काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो।

बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाएतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म  बृद्धि भएको छ।

प्राय बर्षातको समयमा तरकारीको भाउ ह्वात्तै बढ्ने गरेको छ। सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। अहिले नेपालमा आयात हुने हरिया तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको छ। त्यसमा पनि मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उनी बताउँछन्। गएको १० दिनको भिन्नतालाई हेर्दा असार २६ गते गोलभेडाको मूल्य प्रतिकेजी ६८ रुपैयाँ थियो भने ३४ रुपैयाँले बढेर हाल श्रावण पहिलो हप्ता औसत मूल्य ९२ रुपैयाँ छ। तर बाहिर बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १४० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन्। यस्तै, भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले ११५ रुपैयाँ छ। यसमा विगतको भन्दा झण्डै ६० रुपैयाँको अन्तरले मूल्य बढेको छ।

हाल काठमाडौंमा विषादी परीक्षणले गर्दा बजारमा तरकारी जति हुनुपथ्र्यो त्यती उपलब्ध हुन नसक्दा नेपाली बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको बिक्रेताको भनाई छ। दश दिन अघि तिते करेला प्रतिकेजी ४८ थियो भने अहिले २० रुपैयाँको अन्तरमा ७८ रुपैयाँ कायम छ। दशदिन अघि मात्र ४८ रुपैयाँ मूल्यको परवर हाल ८८ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। भटमासकोशा ७८ थियो भने अहिले ११५ रुपैयाँ राखिएको छ। यस्तै घिरौला ५८ थियो भने हाल ७८ रुपैयाँ कायम गरिएको छ भने, लोकल काक्रो ५५ थियो भने हाल ११५ रुपैयाँ तोकिएको छ। यसरी कालिमाटी तरकारीले औसत मूल्य तोकिदिएको भए पनि बाहिर खुद्रामा बेच्दा पसलेहरुले  चर्को पैसा लगाउने गरेका छन्। आजभोली बजारमा यस्ता हरियो तरकारीको मूल्य कम्तिमा प्रतिकेजी १०० देखि १८० सम्म लगाउने गरेका छन्। कागती प्रतिकेजी २४० रुपैया औसत मूल्य तोकिएको भएपनि बजारमा प्रतिगोटा १० रुपैयाँमा बेच्दै आएका छन्। न्यूरो १० दिन अगाडि ९५ रुपैयाँ थियो भने हालपनि ९५ नै कायम गरिएको छ। सबैले रुचाउने चम्सुर र रायोको सागको भाउ आकाशिएको छ। क्रमश यसको हालको मूल्य १०५ र ९५ रुपैयाँ छ।

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न ठाउँबाट तरकारी आउँछ।  यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले यसको अभाव नहुने श्रेष्ठको दाबी छ।  उनका अनुसार यो मौसममा आलु र प्याजमा भने भारतकै भर पर्नुपर्नेकाले धेरै लामो समयसम्म आयात नभए समस्या हुने गरेको छ। तर केही दिनलाई धान्ने गरी यी वस्तुको स्टक रहेकोले समस्या नहुने भन्दै श्रेष्ठले आलु र प्याज काठमाडौंवासीलाई एक साताभन्दा बढी धान्ने स्टक रहेको जानकारी गराए।

हरियो तरकारीको भाउ हदै भन्दा बढेको भए पनि गुन्द्रुकको मूल्य २९० प्रतिकेजीमा स्थिर रहेको छ। चुकुन्दरको मूल्यमा पनि पहिलेको भन्दा घट्दो देखिन्छ। आज भन्दा १० दिन अगगाडि ९५ रुपैयाँ भएको चुकुन्दर हाल ७५ रुपैयाँ रहेको छ। भान्सामा दिनहु चाहिँने तरकारीको मूल्यमा भने दिनदिनै बढ्दै गएको छ। यस्तै अदुवाको मूल्य १९५ थियो भने हाल ४० रुपैयाँले बढेर २ सय ३५ कायम गरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी रुपमा मूल्य लगाउने गरेका छन्। यसरी उपभोत्ताको ढाड सेकिने गरी तरकारीमा भएको  मूल्य वृद्धिबारे सम्बन्धित निकायले समय मै चासो दिई अनुगमन गर्नुपर्नेमा जोड दिन्छन्, श्रेष्ठ।  

 

प्रकाशित: ६ श्रावण २०७६ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App