coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिदर १०.२ प्रतिशतको लक्ष्य

पोखरामा आइतबार गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिँदै। तस्बिर : नागरिक

पोखरा – पाँच वर्षभित्र आर्थिक वृद्धिदर १०.२ प्रतिशत पु-याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। हाल ७.१ प्रतिशत रहेको आर्थिक वृद्धिदर अबको पाँच वर्षभित्र बढाएर १०.२ प्रतिशत पु-याउने लक्ष्य रहेको प्रदेश नीति तथा योजना आयोगले बताएको छ।

आर्थिक वृद्धिदरको राष्ट्रिय लक्ष्य हाल ६.८ प्रतिशत मात्र छ। अबको पाँच वर्षभित्र आर्थिक वृद्धिदरको राष्ट्रिय लक्ष्य ९.६ प्रतिशत छ। आर्थिक वृद्धिदर बढाउन लगानी बढाउनेदेखिका योजना प्रदेश सरकारको छ। आयोगका उपाध्यक्ष गिरीधारी शर्मा पौडेलले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर अबको पाँच वर्षभित्र १०.२ र १० वर्षभित्र १०.५ प्रतिशत पु-याउने लक्ष्य रहेको बताए। अबको २५ वर्षभित्र आर्थिक वृद्धिदर कम्तीमा ११ प्रतिशत पु-याउने प्रदेशको लक्ष्य रहेको उनले बताए।

पाँचवर्षे योजना अवधिमा औसत १०.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कुल स्थिर पुँजी लगानी १० खर्ब १२ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान रहेको उनले बताए। कुल स्थिर पुँजी लगानीमध्ये सार्वजनिक क्षेत्रबाट तीन खर्ब ६० अर्ब ८३ करोड (३५.६ प्रतिशत), निजी क्षेत्रबाट पाँच खर्ब ८७ अर्ब ९२ करोड (५८.१ प्रतिशत), सहकारी क्षेत्रबाट ४४ अर्ब आठ करोड (४.४ प्रतिशत) र सामुदायिक क्षेत्रबाट १९ अर्ब ४१ करोड (१.९ प्रतिशत) लगानी हुने अनुमान रहेको उनले बताए।

लगानीका क्षेत्र पर्याप्त रहेकोले पनि अप्ठेरो नरहेको उनको भनाइ छ। उपाध्यक्ष पौडेलका अनुसार पाँच वर्ष अवधिमा सबैभन्दा बढी ऊर्जा क्षेत्रमा लगानी भित्रिने प्रक्षेपण छ। कुल लगानीको ३१ प्रतिशत ऊर्जामा हुने उनको भनाइ छ। त्यस्तै, भौतिक पूर्वाधारमा २०, स्वास्थ्य शिक्षामा १०, कृषि तथा वनमा नौ, पर्यटनमा आठ, उद्योगमा चार, खानी तथा भू–गर्भ, वित्तीय मध्यस्थता, घरजग्गा लगायतमा १५ प्रतिशत क्षेत्रगत लगानी प्रक्षेपण गरिएको उपाध्यक्ष पौडेलले बताए।

‘हामीले आत्मनिर्भर अर्थतन्त्र र सुखी नागरिक बस्ने प्रदेश बनाउन चाहेका हौं,’ उनले भने, ‘उत्पादन र  उत्पादकत्व बढाउने सहितका योजना अनुसार अघि बढ्ने हो भने प्रदेश सरकारको लक्ष्य पूरा हुनेछ।’

उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानव संशाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नु आवधिक योजनाको उद्देश्य रहेको उनले बताए।

गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा पहुँच पु-याई सबै नागरिकलाई सामाजिक सुरक्षा र सुशासनको अनुभूति गराउने पनि योजना रहेको उपाध्यक्ष पौडेलले बताए। अनुसन्धान र विकासलाई सँगसँगै अगाडि बढाई आवश्यक ज्ञान र प्रविधि प्राप्त गरी उच्च उत्पादन र उत्पादकत्व हासिल गर्ने, सार्वजनिक, निजी, सहकारी सामुदायिक क्षेत्रको सहकार्यमा उत्पादन बढाई रोजगारी सिर्जना गर्ने, लगानी बढाई दिगोे, फराकिलो र समतामूलक उच्च आर्थिक वृद्धिदर हांसिल गरी सबै प्रकारका गरिबीको अन्त्य गर्ने योजना पनि प्रदेशको रहेको उनले बताए।

पर्यटन व्यवसाय र स्थानीय उत्पादकबीच सहकार्यको साथै पर्यटन व्यवसायीको क्षमता वृद्धि र पर्यटन पूर्वाधारको विकास गरी गुणस्तरीय पर्यटनको विकास गर्ने, हालको निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण, सिँचाइ सुविधाको विस्तार, उच्च उत्पादन दिने उन्नत बीउ र प्राविधिक सहयोग विस्तार गरी कृषि र पशुपालन क्षेत्रमा उच्च उत्पादन र उत्पादकत्व हासिल गर्ने योजना रहेको उनले बताए। संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा  निजी क्षेत्रको सहभागितामा ठूला र जलशाययुक्त जलविद्युत् आयोजना र सौर्य ऊर्जाको सँगसँगै विकास गर्न सकिने उनले बताए। प्रदेशको औद्योगिकीकरणका लागि मझौला तथा ठूला कृषि प्रशोधन र खनिजजन्य नयाँ उद्योग स्थापना र विस्तार गर्न निजी स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने योजना छ।

प्रदेशको कुल गार्हस्थ उत्पादन अहिले दुई सय ८८ अर्ब रहेकोमा पाँच वर्षभित्र बढाएर चार सय ६८ अर्ब रुपैयाँ पु-याउने लक्ष्य छ। यो वृद्धिदरलाई १० वर्षमा सात सय ५८ अर्ब र २५ वर्षमा तीन हजार ६ सय ७० अर्ब रुपैयाँ पु-याउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए। प्रतिव्यक्ति आय एक हजार ४३ अमेरिकी डलर रहेकोमा पाँच वर्षभित्र १९ सय ५६ र १० वर्षमा ३७ सय २१ डलर र २५ वर्षमा १५ हजार सात सय २९ अमेरिकी डलर पु-याउने लक्ष्य रहेको उनले सुनाए।

कुल गार्हस्थ उत्पादन बढाउन कृषि, उद्योग र सेवाको योगदान बढाउने, गरिबी घटाउने लक्ष्य पनि प्रदेश सरकारको रहेको पौडेलले बताए। ‘पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासन कायम हुने हो भने प्रदेशको लक्ष्य पुरा हुनेछ,’ पौडेलले भने। पौडेलले सिंगो मुलुकले नै दिगो विकासको लक्ष्यको प्रतिबद्धता जनाएकोले २५ वर्षको योजना अघि बढाएको बताए। उनले प्रदेशभित्र पूर्वाधार धेरै बनिरहेकोले आर्थिक गतिविधि बढ्न गई वृद्धिदर बढाउन सघाउने बताए। ‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेकोले अबको केही वर्षपछि आर्थिक क्षेत्रमा थप चलायमान हुनेछ,’ उनले भने, ‘सडक, ऊर्जा लगायतका योजना अघि बढिरहेकोले पनि आर्थिक वृद्धिदरमा सघाउनेछ।’

योजना सार्वजनिक गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशले अरुको तुलनामा राम्रो योजना बनाएको बताए। उनले प्रदशले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यको आधार बनाएको बताए। ‘लक्ष्य हासिल गर्ने हो भने प्रदेश समृद्ध बन्नेछ,’ उनले भने।

प्रकाशित: ६ श्रावण २०७६ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App