८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

काठमाडौं – मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ। 

राष्ट्र बैंकले शुक्रबार जारी गरेको मुलुकको आर्थिक अवस्थाका तस्बिरहरुले मुलुकको अर्थतन्त्र बलियो अवस्थामा नभएको देखाएका हुन्। चुलिएको व्यापार घाटा, त्यसैअनुसार बढ्न नसकेको निर्यात, शोधानान्तर स्थिति, चालु खाता घाटा, महँगी, विदेशी विनिमय सँचितिको अवस्थालगायत परिसूचकहरु बलियो अर्थतन्त्रका रुपमा देखिएका छैनन्। अर्थतन्त्रलाई विगतमा जस्तै भरथेग रेमिटेन्सले गरेको छ।

व्यापार स्थिति :
बैंकका अनुसार गत जेठसम्ममा मुलुकको कुल व्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १७.२ प्रतिशतले बढेको हो।

यो अवधिमा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ सय ९९ अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोसाक, एमएस बिलेट, विद्युतीय सामान लगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायत वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुक्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालयबाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ। आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालयबाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएकोे छ। यो अवधिमा आयात अनुपात ६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो। कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएकोे थियो। गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिस्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोसाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ।

विप्रेषण आय
बैंकका अनुसार यो अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भई खर्ब ९९ अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा व्यक्त गर्दा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो।

चालु खाता अवस्था
बैंकका अनुसार चालु खाता घाटा विस्तार भई दुई खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई खर्ब १० अर्ब २४ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको ११ महिनामा दुई अर्ब तीन करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा दुई अर्ब २० करोड पुगेको छ।

शोधनान्तर स्थिति
यो अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार अर्ब ३४ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ११ महिनामा चार करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा छ।

विदेशी विनिमय सञ्चिति
बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब आठ करोड रहेकोमा २०७६ जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ।

११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २९.८ प्रतिशत, ६४.६ प्रतिशत र ३० प्रतिशत रहेका छन्।

विदेश जाने घटे
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा ३७.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने उक्त अवधिमा ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो।

मूल्य वृद्धि
गत आवको जेठमा उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २०७६ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत थियो।

जेठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षकोे सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५.० प्रतिशत रहेको थियो। क्षेत्रगत उपभोक्ता मुद्रास्फीति २०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.१ प्रतिशत, हिमालमा ६.५ प्रतिशत, तराईमा ५.८ प्रतिशत र पहाडमा ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१ प्रतिशत, ६.४ प्रतिशत, ४.२ प्रतिशत र ४.९ प्रतिशत रहेको थियो।

प्रकाशित: ५ श्रावण २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App