१६ चैत्र २०८० शुक्रबार
अर्थ

जलाशय भरिएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पूर्ण रुपमा बिजुली उत्पादन गर्न थालेको छ। प्राधिकरणले जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

‘पानी पर्न भर्खर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिनाअगाडि नै भरियो,’ उनले भने। ‘विगतमा बर्खामा कुलेखानी विद्युत््गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई  पूर्ण क्षमतामा चलाई भारतको विद्युत् आयात घटाएका छौं।’ कुलेखानी पहिलो विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह दुई सेन्टिमिटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

कुलेखानी बर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो। विद्युत्् आवश्यक परेका बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ। गत वर्ष जलाशयमा पानीको सतह १५२६ मिटर रहेकामा यस वर्ष सोमबार बिहानसम्ममा १५२६ मिटर पुगेको छ। सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मिटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मिटर पुगेको हो।

जलाशयमा अधिकतम १५३१ मिटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ। त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन–चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको हो। कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ। ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसो हुँदा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बाँधमा रहेका गेटहरु खोलेर पानी बाहिर निकाल्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्छ, यसबाट बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दछु।’
 

प्रकाशित: २ श्रावण २०७६ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App