coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मादी पुल निर्माणको म्याद दोस्रोपटक थप्ने तयारी

असार ७ गते आएको बाढीले बगाएको कास्कीको मादी पुल। फाइल तस्बिर : नागरिक

पोखरा – सम्झौताअनुसार तोकिएको समयमा काम नगरेका ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको छ। मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो। सम्झौताअनुसार निर्धारित समयमा काम नसकेपछि यो पुल बनाउन यसअघि नै एकपटक म्याद थपिसकिएको थियो।

दोस्रोपटक म्याद थप्दा पनि तोकिएको समयभित्र पुल निर्माण सम्पन्न हुनेमा भने स्थानीयले आशंका व्यक्त गरेका छन्। मादी गाउँपालिका–३ र ७ जोड्नेगरी मादी नदीमाथि निर्माणाधीन मोटरेबल पक्की पुल बनाउने जिम्मा पाएको कम्पनी (मृत सञ्जीवनी निर्माण सेवा)लाई पाँच महिना समय थपिदिन थालिएको हो। निर्माणाधीन यो पुल असार ७ गतेको बाढीले बगाएको थियो।

बाढीले बगाएपछि काम रोकिएको पुल निर्माणबारे छलफल गर्न बसेको सरोकारवालाको बैठकले पुल निर्माणका लागि पाँच महिना समय थपेर काम गर्न निर्देशन दिने निर्णय भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पुल निर्माणका लागि दिएको समय यही असार २० मा सकिए पनि काम नसकिएकाले आगामी मंसिर मसान्तभित्र सक्नेगरी निर्माण कम्पनीलाई निर्देशन दिएको बताए।

‘आगामी मंसिरभित्र काम सक्ने कम्पनीको प्रतिबद्धता आएपछि अन्तिमपटकका लागि भन्दै समय थपिदिने निर्णय भएको हो,’ बुढाले भने, ‘काम गरिरहेकै अवस्थामा पुल बगेको र ठेकेदार कम्पनी पनि सम्पर्कमा रहेकाले अन्तिम मौका दिएका हौं।’ ठेकेदार कम्पनीले यसअघि दुईपटक म्याद गुजारेको पनि उनले बताए।

मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो।

‘ठेकेदार कम्पनी भागेको होइन। काम गर्दागर्दै बाढीले बगाएको सबैलाई थाहा छ,’ बुढाले भने, ‘फेरि अर्काे ठेकेदार भित्र्याउने प्रक्रिया पनि निकै लामो छ। त्यही भएर पुरानै कम्पनीलाई अन्तिमपटक मौका दिएका हौं।’ अबको पाँच महिनाभित्र पनि काम पूरा नगरे ठेकेदारलाई कारबाही गर्ने सर्तमा अन्तिम मौका दिएको प्रजिअ बुढाले बताए।

नदीमाथि ८२.५ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको पुल बनिरहेको थियो। आठ करोड ६ लाख रुपैयाँ लागत रहेको पुल बनाउन २०७२ चैतमा सम्झौता भएको थियो। सुरुमा १५ महिना समय पाएको निर्माण कम्पनीले काम नसकेपछि पहिलोपटक दुई वर्ष म्याद थप भएको थियो। दुई वर्ष म्याद थपिँदा यो असार २० मा काम सक्नुपर्ने थियो। तर,  निर्माणाधीन चरणमा रहेका बेला असार ७ गतेको बाढीले पुल बगाएको थियो। पुल बगेपछि निर्माण कम्पनीले आगामी मंसिरसम्म काम सक्ने लिखित प्रतिबद्धता जनाएपछि समय थपिएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताए। 

‘निर्माण कम्पनीले लिखित प्रतिबद्धता जनाएपछि आगामी मंसिरसम्म समय पाएको छ। कुनै पनि हालतमा त्यो समयभित्र सक्नुपर्छ,’ उनले भने, ‘यसअघि हामीले ताकेता गर्दा पनि अटेर गरेकाले यो अवस्था आएको हो। त्यसैले अब पाँच महिनाभित्र कुनै पनि हालतमा काम सक्नुपर्छ।’ नयाँ ठेकेदार कम्पनी चयन गर्दा प्रक्रिया लम्बिने भएकाले पनि फकाइफुल्याई पुरानै कम्पनीलाई काम दिन बाध्य भएको उनले बताए।

‘नयाँ ठेकेदार चयनको प्रक्रिया आजको भोली नै नसकिने रहेछ। त्यसले गर्दा पुल निर्माण झनै ढिला हुने भयोे,’ उनले भने, ‘अघिल्लो वर्ष पनि यस्तै सहमति गर्दा पनि काम त गरेको थिएन। तर,यो पटक अन्तिम समय भन्दै प्रतिबद्धता जनाएपछि हामी सहमतिमा पुगेका हौ। नयाँ प्रक्रिया थाल्दा पुलै नबन्ने भएकाले पनि पुरानै कम्पनीलाई दिन बाध्य भएका हौं।’

अध्यक्ष गुरुङका अनुसार वर्षायाम भएकाले यो पटक पाँच महिना समय थपिँदा पनि काम गर्न सहज छैन, तर आँटेर गर्ने हो भने पूरा पनि भइहाल्छ। ‘मध्य वर्षायाम चलेकाले काम सक्न चुनौती छ। तर, निर्माण सामाग्री आइसकेकाले काम भइहाल्छ कि भन्ने हो,’ उनले भने, ‘खोलामा पानीको बहाव घट्नासाथ आउजाउ चलिहाल्छ। त्यही भएर मंसिरसम्म सक्दा ठिकै हुन्छ।’

पुल निर्माणका लागि नदीको दुई किनार र बीचमा पिलर बनाइएको थियो। बीचको पिलरसम्म जोड्नेगरी एकतर्फी खण्डमा ढलानको तयारीमा संरचना बनाए पनि बाढीले क्षति पु-याएको थियो। काउरे–ज्याम्दु–ताङतिङलाई सहज हुने गरी बनेको पुल ढलान गर्नका लागि पानी कटान गरेर टेका लगाइएको थियो। तर, बाढीले ढलानको तयारीमा रहेको पुलको टेका बगाएको थियो।

पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्काले तोकिएको समयमा काम पूरा नगरेकाले कारबाहीको तयारीसहित पाँच महिनाभित्र पुल निर्माण सक्न निर्देशन दिएको बताए। उनका अनुसार समयमा काम नसक्ने ठेकेदारलाई दुईथरि कारबाही हुन्छ। पहिलो बिनाकुनै कारबाही म्याद थप्ने र दोस्रो कारबाही स्वरुप म्याद थप्ने गरी दुईथरि कारबाही हुने उनले बताए। खड्काका अनुसार पुल निर्माण नसक्ने यो कम्पनीलाई कारबाही गर्दै पाँच महिना समय दिन सकिने बताए। त्यस अनुसार कारबाही गर्दा कम्पनीले झन्डै ८० लाख रुपैयाँ क्षतिपूर्ति सरकारलाई तिर्नुपर्छ। सम्झौता रकमको ०.०५ प्रतिशतका दरले दैनिक क्षतिपूर्ति दिनुपर्ने खड्काले बताए। त्यो अनुसार झन्डै ८० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नैपर्ने उनले बताए। ‘क्षतिपूर्तिको निणय भइसकेको छैन। तर, यत्तिकै समय थपिन्न,’ उनले भने, ‘यसअघि नै दुईपटक म्याद कटेकाले क्षतिपूर्ति रकम तिरेपछि बल्ल समय थपिन्छ।’

पुल निर्माणको जिम्मा लिएको कम्पनी मृत सञ्जीवनीका इन्जिनियर दिवस शर्माले पाँच महिना समय थप्नका लागि माग गरे बमोजिम छलफलपछि सिफारिस भएको बताए। उनले सम्झौता भएको वर्ष झन्डै आठ महिना काम गर्न नपाएको बताए। ‘वर्षा लाग्ने समयमा सम्झौता भएकाले सम्झौताअनुसार तत्कालै काम सुरु भएन,’ शर्माले भने, ‘हामीले पाएभन्दा फरक डिजाइनमा पुल बनाउनुपर्दा सामान ल्याउन ढिलाइ भयो। भारतबाट सामान ल्याउनुपर्ने भएकाले केही बढी समय लागेको हो।’

शर्माले पनि यतिखेर मध्यवर्षा चलेकाले अबको पाँच महिनामा पनि काम सक्न मुस्किल रहेको बताए। ‘असोजसम्म त काम गर्नै सकिन्न। कतिपय काम सून्यबाटै सुरु गर्नुपर्छ,’ शर्माले भने, तर पनि मेहनत गर्ने हो।’ बाढीले बगाउँदा कतिपय सामान बगेको उनले बताए। ‘सामानका कारणले काम रोकिन्न। गर्दै जाँँदा केही समय यताउता भइहाल्छ,’ उनले।

प्रकाशित: १ श्रावण २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App