coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन निकुञ्जमा डुंगा सफारी गर्दै पर्यटक। तस्विरः नागरिक

चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक संख्या वृद्धि भएको छ। यो आर्थिक वर्षमा एक लाख ८५ हजार ६ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन्। एक लाख १६ हजार तीन सय ९४ विदेशी, ४४ हजार पाँच सय १२ नेपाली र २४ हजार सात सय ३८ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन्।

पर्यटकबाट २९ करोड १० लाख ९७ हजार आठ सय २३ रुपैयाँ राजश्व संकलन भएको छ। आव ०७४/७५ को भन्दा ३१ हजार नौ सय ७३ जना बढी पर्यटकले निकुञ्ज भ्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

गएको आर्थिक वर्षमा एक लाख ५२ हजार ६ सय ७१ पर्यटकले निकुञ्ज घुमेका थिए। २४ करोड ८१ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ संकलन भएको थियो। आर्थिक वर्ष ०६३६४ मा ८१ हजार एक सय ७१ पर्यटक चितवन निकुञ्ज आएका थिए। त्यस वर्ष चार करोड ७७ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछि निकुञ्ज घुम्ने पर्यटकको संख्या राजस्व संकलनको दर क्रमशः बढ्न थालेको पाइन्छ। आव ०७१÷७२ मा भने एक लाख ७८ हजार दुई सय ५७ पर्यटकले निकुञ्ज भ्रमण गर्दा २४ करोड ६८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको निकुञ्जको तथ्यांक रहेको छ।

२०७२ को वैशाखमा भूकम्प गएपछिको आर्थिक वर्षमा भने पर्यटकको संख्या घटेको थियो। आव ०७२/७३ मा भने ८७ हजार तीन सय २१ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। त्यस वर्ष ११ करोड ६८ लाख ५३ हजार सा सय १० रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछिका वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या बिस्तारै बढ्दै गएको उनी बताउँछन्। जिप सफारी, ढुंगा सफारी र जंगल वाक गरेर पर्यटक निकुञ्जमा घुम्छन्।

निकुञ्ज घुम्ने पर्यटक सौराहा, घटगाई, कसरा, भिम्ले, अमलटारीलगायत स्थानबाट निकुञ्ज प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ। ‘निकुञ्जको भित्री क्षेत्र घुमघाम गर्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दैछ,’ प्रमुख संरक्षण अधिकृत ढकाल भन्छन्, ‘सौराहा घुम्न आइपुग्ने आधाभन्दा केही बढी पर्यटक मात्र निकुञ्ज प्रवेश गर्ने गरेका छन्।’ गैंडा संरक्षण गर्ने उदेश्य राखेर स्थापना गरिएको निकुञ्जले पर्यापर्यटनबाट राम्रो आम्दानी गरिरहेको उनले बताए।

निकुञ्जभित्र जिप सफारी गर्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सातवटा जिप निकुञ्ज प्रवेश गर्छन्। वर्षात्को समयमा भने निकुञ्जमा जिप सफारी बन्द गरिन्छ। यो वर्ष पनि असारको २१ गतेबाट निकुञ्जभित्र गरिने जिप सफारी बन्द गरिएको छ। वर्षात्को समयमा जिप सफारी गर्ने बाटो बिग्रने, हिलो हुने, रुख ढल्ने, घाँसको झाडी बढ्ने भएकाले केही महिनाका लागि हरेक वर्ष जिप सफारी बन्द गरिँदै आएको छ। दसैं, तिहारको समयअगावै जिप सफारी पुनः सञ्चालन गर्ने गरिन्छ। निकुञ्जको मध्यवर्ती क्षेत्रका वनमा भने वर्षात्को समयमा पनि जिप सफारी चल्छ।

विभिन्न कार्यक्रमअन्तर्गत यो आवमा निकुञ्जको बजेट ३५ करोड ७१ लाख ८५ हजार रुपैयाँ रहेकामा ८४.६१ प्रतिशत बजेट खर्च भएको ढकालले बताए। राष्ट्रिय निकुञ्ज आयोजना, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, हात्तीसार आयोजना, मध्यवर्ती क्षेत्र कार्यक्रमलगायत शीर्षकमा निकुञ्जलाई बजेट प्राप्त हुँदै आएको छ। यो आर्थिक वर्षमा पर्यटन विकासका लागि प्रदेश ३ सरकारले निकुञ्जलाई सफारी बाटो मर्मत, भ्यू टावर निर्माण, आरसिसी मचान निर्माण र आरसिसी कल्भर्ट निर्माणका लागि दुई करोड ८० लाख रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए।

प्रकाशित: ३१ असार २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App