१६ चैत्र २०८० शुक्रबार
अर्थ

प्रविधितर्फ किसान आकर्षित

बेझाड – पाल्पाका कृषक पछिल्लो समय आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनि टिलर, ट्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो।

कृषिमा भित्रिएको नयाँ प्रविधिको प्रयोग गरी खेती लगाउने र स्याहार्ने कार्यमा यहाँका कृषकको आकर्षण बढेको पाइएको छ। खेतबारी खनजोत गर्न र बाली स्याहार्न विभिन्न यन्त्र तथा उपकरण गाउँ गाउँ भित्रिएपछि यहाँका कृषकले आधुनिक प्रबिधिबाट खेती गर्न थालेका हुन्।

गोरु लगाई परम्परागत रुपमा धान रोप्नुका बदला अहिले मेशिनबाट रोप्न थालिएको छ। जिल्लामा गोरुले खेत रोप्ने पुरानो परम्परा हट्दै गएको छ।

रामपुर नगरपालिका–५ बांगेपसल बस्ने कृषक ऋषिराम रेग्मीले छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनि टिलर, ट्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको बताए। यी मेसिनबाट कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोप्न सजिलो भएको छ।

रामपुर नगरपालिका वडा नं ४ सदावर्त बस्ने नरबहादुर नेपालीले ४० वर्षसम्म आफैंले गोरु जोतेर धान रोपे तर, अहिले उनी गोरु पाल्न छाडेर ट्याक्टरबाट प्रयोग गर्छन्। गोरु लगाएर रोपाइँ गर्दा एक हप्ता अघिदेखि हलगोरु र खेतालाको बन्दोबस्त गर्नुपथ्र्यो। यो समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन्। रोपाइँका बेला भनेकै समयमा हलगोरु पाउन मुश्किल हुन्थ्यो। गोरु पाल्न झण्झट छ। गोठाला जाने चलन गाउँघरमा हराउँदै गएको छ।

बढ्दो यान्त्रीकरण काम गरेर खाने मजदूरहरुको रोजीरोटी खोसिँदै छ। ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने श्रमिक र मजदूरहरुको आम्दानीको स्रोत नै गुमेको छ। परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्याक्टर, पावर टिलर, बीउ रोप्ने मेशिन, धान काट्ने मेशिन, गहुँ ठटाउने, धान झाट्ने मेशिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आवद्ध कृषि मजदूर विस्थापित हुन पुगेका हुन्। हिजोआज जिल्लाको माडी, अर्गली, कचल, सर्देवा, हुँगी, दोभान, रामपुर फाँटहरुमा  कृषि यन्त्र र उपकरणहरुको प्रयोग बढ्दो छ।

घरमा पालेको गोरु अरुको खेतबारी जोतेर वर्षमा पचास हजारभन्दा बढी आम्दानी गर्नुहुने रामपुर नगरपालिका–५ बहखोलाका वीरबहादुर कुमाल गोरुको विकल्पमा गाउँमा ट्याक्टर आएपछि आफू बेरोजगार जस्तै बन्न पुगेको बताए।रासस

प्रकाशित: ३० असार २०७६ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App