७ वैशाख २०८१ शुक्रबार
अर्थ

तेस्रोपटक म्याद थपियो

निर्माणाधीन भैरहवा विमानस्थलको टर्मिनल भवन। तस्बिर : नागरिक

भैरहवा – सरकारले समयमा काम गरेको भनेर हल्ला फिँजाएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नसकिएपछि फेरि म्याद थपिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले आगामी डिसेम्बर २०१९ अर्थात १६ पुस २०७६ सम्मका लागि विमानस्थलको म्याद थप गरेको हो।

विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले समयमा काम गर्न नसकेका कारण प्राधिकरणले समय थप गरेको नागरिकलाई जानकारी दिए। ‘विमानस्थल अन्तर्गतको आइसिपी १ निर्माणका लागि २८ जुन २०१९ सम्मको समय दिइएको थियो,’ अधिकारीले भने, ‘विविध कारणले काम गर्न नसकेको कारण डिसेम्बर २०१९ सम्मका लागि समय थपिएको हो।’

आइसिपी बनाउन अहिलेसहित तीनपटक म्याद थपिएको छ। सरकारले पहिलोपटक १८ जुन २०१८ मा काम सक्न भनेको थियो। यो मितिमा नसकिएपछि  दोस्रोपटक म्याद थप गरी २८ जुन २०१९ सम्म सक्ने लक्ष्य राखिएको थियो। यो समयमा पनि काम नभएका कारण अहिले तेस्रोपटक आइसिपी १ र आइसिपी २ को काम सम्पन्न गर्ने गरी म्याद थपिएको हो। आइसिपी २ का लागि नौ महिना समय दिइएको थियो। यसमा तीन महिनामा ठेकेदार कम्पनीले विद्युतीय र प्रविधिक काम अगाडि बढाइसकेको छ। अबको ६ महिनामा आइसिपी १ का बाँकी काम गर्ने र आइसिपी २ सरहको विमानस्थल निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ।

भूकम्प, नाकाबन्दी तथा निर्माण सामग्रीको अभाव लगायत कारणले गर्दा निर्माण कार्य पटक–पटक अवरुद्ध भएको थियो। गत असार १४ गते शनिबार प्रधिकरण सञ्चालक समिति बैठकले विविध कारणले गर्दा विमानस्थलको बाँकी निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले अरु कुनै विकल्प नभएर म्याद थप गरी आयोजनाको अवधि ६ महिना बढाइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए। कामको प्रगति ७३ प्रतिशत पुगेको छ। तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे, ६ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ। जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, ६ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। कार्गाे भवन र एयर ट्राफिक म्यानेजमेन्ट इक्विपमेन्ट सहितको काम बाँकी छ।

अन्तिमपटक विमानस्थलको म्याद थप गर्न लगानीकर्ता बैंक सहमत भएपछि प्राधिकरणले निर्माण कम्पनीलाई आगामी डिसेम्बरसम्मको अवधि दिएको अधिकारीले जनाए।

विमानस्थलको मुख्य काम धावनमार्ग निर्माण भइसकेको छ। अरु भौतिक प्रगति निकै राम्रो छ। थपिएको अवधिभित्रै आयोजना सम्पन्न हुने उनले बताए। समय थपिए पनि आयोजनाको लागत भने नबढेको उनले बताए।

विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो। सात करोड अमेरिकी डलर लगानीको यो विमानस्थल निर्माण गर्न ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई ३१ डिसेम्बर २०१४ काम सुरु भएको आयोजनामा एडिबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।

मुआब्जा अन्तिम चरणमा
विमानस्थल निर्माणसँगसँगै निर्माणस्थलका क्रममा भएका स्थानीयका जग्गा अधिग्रहणको रकम भुक्तानी गर्ने कार्य अन्तिम चरणमा छ। करिब साढे २३ अर्ब सुरुको इस्टिमेटमा २० अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको छ। दुई हजारभन्दा बढी घरधुरीले भुक्तानी लिइसकेका छन्।  मुअब्जा वितरणको रकम सबै निकासा भए पनि करिब दुई सय घरधुरीको मुआब्जा वितरण गर्न बाँकी छ । ‘जग्गा गाउँ ब्लक घरबासमा भएकाले हाल सम्बन्धित निकायबाट पुर्जा वितरण भइरहेको र नक्सा हस्तान्तरणको प्रक्रिया चलिरहेको छ। छिट्टै नै भुक्तानी प्रक्रिया अगाडि बढाउँछौं,’ आयोजना प्रमुख अधिकारीले भने।

प्रकाशित: ३० असार २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App