२९ असार २०७७ सोमबार
अर्थ

जलवायुमैत्री स्मार्ट कृषिमा अग्रसर हुँदै नेपाल

काठमाडौं – जलवायु परिवर्तनको कारण मारमा परेका किसान र कृषि क्षेत्रलाई जलवायुमैत्री कृषि बनाउन नेपालले पनि जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रममा अग्रसरता देखाएको छ। सन् २०१४ मा क्लाइमेट चेन्ज एग्रिकल्चर एन्ड फुड सेक्युरिटी (सिक्याफ) को प्राविधिक सहयोगमा नेपालका तीन जिल्लाका ३२ गाउँमा सुरु गरिएको जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रमको सफलतापछि हाल यो प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका गाउँमा सरकारी कार्यक्रमकै रूपमा मान्यता पाएको छ।

गण्डकी र प्रदेश नम्बर ५ सरकारले आफ्नो बजेट कार्यक्रममै जलवायुमैत्री नमुना कृषि गाउँको व्यवस्था गरी बजेट निकासा गरी कार्यक्रम सुरु गरेको सिक्याफका साउथ एसिया रिजनल अफिसर एवं एसोसिएट वैज्ञानिक अरूण केसीले बताए। उनले पाँच वर्षअघि नवलपरासी, बर्दिया र महोत्तरीका ३२ गाउँमा सुरु गरिएको जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रम हाल नेपालका एक सय १८ गाउँमा कार्यान्वयन भइरहेको बताए। ‘प्रदेश ५ को ५० गाउँ र गण्डकी प्रदेशको ३६ गाउँमा जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रम लागू छ,’ वैज्ञानिक केसीले नागरिकसँगको भेटमा भने, ‘जलवायु परिवर्तनको कारण कृषि क्षेत्रले खेपिरहेको बालीनाली र जिवजन्तुमा लाग्ने रोगको न्यूनीकरण गर्न यो कार्यक्रम सहयोगी सिद्ध भएको छ।’ उनले थपे, ‘त्यही भएर अहिले सात वटै प्रदेशबाट यो कार्यक्रम सञ्चालनका लागि हामीसँग प्राविधिक सहयोगको माग गरिएको छ।’

गण्डकी प्रदेशले यस वर्ष ३६ वटै निर्वाचन क्षेत्रमा एक/एक गाउँ पर्ने गरी जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई बजेटमा राखेको वरिष्ठ कृषि विकास अधिकृत माधव लम्सालले बताए। उनले यो वर्ष ३६ वटै निर्वाचन क्षेत्रमा एक/एक गाउँ गरी कुल ३६ गाउँलाई जलवायुमैत्री नमुना कृषि गाउँका लागि प्रदेश सरकारले १० करोड ८० लाख बजेट छुट्याएको छ। ‘मुख्य रूपमा यस कार्यक्रममा किसानलाई जलवायुमैत्री कृषि उत्पादनका लागि तालिम दिएर उन्नत जातको बीउ प्रवद्र्धन गर्ने, भकारी सुधार, यन्त्रीकरण गर्ने, स्थानीय जातको बाली तथा पशुको उचित स्याहार, सुधार, जैविक विषाधी प्रवद्र्धन, घर, गोठ र टोलको सफाइ तथा वृक्षरोपणका काममा सक्षम बनाइन्छ,’ अधिकृत लम्सालले नागरिकसँग भने, ‘यसले साना सिँचाइलाई सहयोग गर्नुका साथै स्थानीय किसानलाई आत्मनिर्भर र सक्षम बनाउँछ।’ उनले थपे, ‘यो गाउँ केन्द्रित कार्यक्रम हो। कृषि क्षेत्रमा रोजगारीको अवसर बनाउँदै कृषि पर्यटनमा समेत जोड दिने लक्ष्यका साथ जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सुरु गरिएको हो।’ उनले अगामी वर्षको बजेटमा ७२ गाउँमा जाने योजना रहेको सुनाए।

कृषि तथा वन विश्वविद्यालयका प्रध्यापक डा. ईश्वरीप्रसाद कडरियाले नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू मारमा परेको अवस्थामा जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रमले उनीहरूलाई राहत मिल्ने बताए। उनले जलवायुमैत्री कृषिले जलवायु परिवर्तनको यर्थालाई स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन गरी समाधानको उपाय अगाडि ल्याउने बताए। ‘विश्वविद्यालयमा समेत यस विषयमा विद्यार्थीलाई पठनपाठन गराइन्छ। मौसममैत्री अभ्यासहरू, पानीमैत्री अभ्यास, बीउ/जातमैत्री अभ्यास, कार्वन तत्वमैत्री अभ्यास र संस्थागत बजारमैत्री अभ्यास स्मार्ट प्रविधिअन्तर्गत पर्छन्,’ डा. कडरियाले भने, ‘विभिन्न बालीका लागि फरक फरक जलवायु स्मार्ट प्रविधि किसानलाई प्रयोग गर्न सिकाइन्छ।’ उनले थपे, ‘यसले विरुवालाई चाहिने मात्रामा मात्र युरिया मलको प्रयोग गर्न सिकाउन जरुरी भएको छ। यसैका लागि भकारो तथा मलखाद सुधार, बालीचक्रमा कोसे बालीहरूको प्रयोग र भूक्षय रोक्ने जस्ता प्रविधिबाट माटोको उर्बराशक्ति सुधार गर्ने प्रविधिहरू खाद्य तत्वमैत्री प्रविधिको रूपमा रहेका छन्। जुन स्मार्ट कृषि गाउँ कार्यक्रममा सिकाइन्छ।’ यसका अतिरिक्त लिफ कलर, चार्टजस्ता उपकरणको प्रयोग गरी बिरुवाको कुन अवस्थामा कति मात्रामा युरिया मल प्रयोग गर्नु पर्दछ भन्ने शिक्षा दिने प्रविधिहरू पनि स्मार्ट कृषि प्रविधि भित्र पर्ने उनले बताए।

प्रकाशित: २९ असार २०७६ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App