१६ चैत्र २०८० शुक्रबार
अर्थ

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

नेपाली ग्रेटवालको संज्ञा दिएर हेलम्बु गाउँपालिकाले हेलम्बुमा बनाउन थालेको पदमार्ग (ग्रेटटेल) पर्खाल। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयल सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले चार महिनादेखि गाउँपालिका घेर्ने गरी महत्वकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो।

चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामा बताउँछन्। ‘यो महत्वकांक्षी आयोजना हो। तर सम्पन्न गरेरै छाड्ने संकल्प गाउँपालिकाले लिएको छ,’ उनले भने।

चालु आर्थिक वर्षमा पदयात्रा पर्खालको सुरुवाती एक सय १० मिटरको निर्माण कार्य सकिएको लामाले जानकारी दिए। उनका अनुसार साविक इचोक गाविसको बुद्धपार्कबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायांग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिने छ।

लाङटाङ, गोसाइकुण्ड, ग्वोञ्जलापास र सुन्दरीजल पदमार्ग जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। दुई हजार चार सय मिटर उचाइबाट सुरु भइ पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ।

चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको सोचाइ आएको अध्यक्ष लामा बताउँछन्। ‘हेलम्बु आफैंमा पर्यटकीय गाउँ हो। त्यसैले वार्षिक लाखौं पर्यटक पदमार्ग पर्खाल हेर्न आउँछन् भन्ने विश्वास गाउँपालिकाले लिएको छ,’ उनले नागरिकसँग भने।

पदमार्ग पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुईमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाउँदै जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–वायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइने छ। ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएको ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौँ,’ अध्यक्ष लामाले भने।

नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ। हेलम्बु गुम्बाको गाउँ नामले समेत चर्चित छ। शेर्मा, ह्योल्मो समुदायको बाहुल्य रहेको यो गाउँपालिकामा बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलको रुपमा समेत प्रसिद्ध छ। त्यसैले यहाँ घुम्नका साथै ध्यान, साधना गर्न वार्षिक हजारौँको संख्यामा देश/विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन्। हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमते रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उनको विश्वास छ।

प्रारम्भिक १० किलोमिटर दूरीको डिपिआर (विस्तृत परियोजना अध्ययन प्रतिवेदन) तयार पारेर गाउँपालिकाले पदमार्ग पर्खाल निर्माण थालेको हो। चालू वर्षका लागि प्रदेश नं. ३ सरकारले ले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। त्यसैबाट सय मिटरभन्दा बढी पर्खालको काम सकिएको हो। गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा पदमार्ग पर्खाललाई उच्च प्राथमिकतामा राखेर ५० लाख रुपैयाँ बिनियोजन गरेको छ। त्यस्तै आर्थिक वर्ष ०७६/७७ लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजना गरेको अध्यक्ष लामाले जनाए।

अहिले उपभोक्ता समितिमार्फ पर्खालको काम भइरहेको छ। ठूलो बजेट संकलन भएर टेन्डर प्रक्रियाद्धारा पदयात्रा पर्खालको काम अघि बढाउने गाउँपालिकाको सोचाइ छ। ‘डेढ करोड बजेट परेकाले साउनदेखि दुई स्थानबाट काम सुरु गर्दैछौँ,’ लामाले भने, ‘आगामी आवभित्र अलि बढी काम गर्न सक्छौँ।’ पदमार्ग पर्खाल निर्माणमा सघाउन पर्यटन बोर्डलाई समेत आग्रह गरिएको उनले बताए।

६० किमि पदमार्ग पर्खाल गर्न तीन अर्व रुपैयाँ लाग्ने अनुमान गर्दै गाउँपालिकाले व्यक्तिगत र संस्थागत सहयोग जुटाउने नीति अघि सारेको छ। ‘व्यक्ति, परिवार वा संस्थाले मापदण्डभित्र रहेर जति दूरीको पर्खाल बनाउँछन्, त्यतिमा उनीहरुको नाम लेखिदिने नीति अघि सारेका छौँ,’ महत्वकांक्षी योजना सम्पन्न गर्न गाउँपालिकाले अघि सारेको नीति सुनाउँदै अध्यक्ष लामाले भने।

उनका अनुसार ६० किमि पदमार्ग पर्खाल घुम्न पदयात्रा एक साताको समय लाग्ने छ। पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सोलार बत्ती, पार्क, भ्यूटावर आकर्षणका रुपमा रहने छन्। पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहरणको तालिम केन्द्र बनाउने नीति पालिकाले गाउँसभाबाट पारित गरेको छ। ‘भेन्थाङ आधा दर्जन हिमालको आधार शिविर पनि हो। तर आरोहण सुरु हुन सकेको छैन,’ लामा बताउँछन्।

हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाईकुण्डका साथै जुगल, गणेश, यांग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने उनले जानकारी दिए। ‘पर्खालमा पर्ने पाकेडाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ,’ उनले भने। उनका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जंगली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा पर्खाको प्रमुख विशेषता हुने छन्। रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट टेल’लाई ‘धर्मचक्र पर्खाल’को रुपमा समेत जोडेको छ।

प्रकाशित: २९ असार २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App