१६ चैत्र २०८० शुक्रबार
अर्थ

दुईवटा होटल धान्दै सुखद कृषि फार्म

सुखद कृषि फामबाट उत्पादित गोलभेंडा होटल ल्याइँदै। तस्बिर/नागरिक

नुवाकोट – प्रायः होटल सञ्चालकलाई चिन्ता हुन्छ– ताजा तरकारी र मासुको। कहाँबाट ल्याउने, ताजा हो/होइन, विषादीयुक्त हो कि ! भनेर पटकपटक सोच्न बाध्य बनाउँछ र दैनिक डो-याउँछ तरकारी पसलले। तर, विदुरस्थित सुखद पाहुना घर र सप्तरंगी होटललाई तरकारी किन्न बजारले होइन कृषि फार्मले डो-याउने गरेको छ।

विदुरमा सप्तरंगी होटल सञ्चालनमा आएको चार र सुखद पाहुना घर सञ्चालनमा आएको दुई वर्ष भयो। यी दुई होटलमा खाजा/खानाको लागि आउनेलाई स्वस्थ र अर्गानिक तरकारी खुवाउने उद्देश्यसहित सात महिनाअघि सुखद कृषि फार्म सञ्चालनमा आएको छ। अहिले यी दुई होटललाई सुखद कृषि फार्मले धानिरहेको सञ्चालक धु्रव रावलले बताए। ‘तरकारी बाहिरी देशबाट आउँछ, विषादीयुक्त भएर मानव स्वास्थ्यलाई असर गर्छ भन्ने छ। त्यसैबाट छुटकारा पाउनर होटलका पाहुनालाई स्वस्थ र अर्गानिक तरकारी ख्वाउन सुखद कृषि फार्म सञ्चालन गरेका हौं,’ रावलले भने, ‘अहिले हाम्रो यो दुई होटल तरकारीमा आत्मनिर्भर छ।’

सुखद कृषि फार्म करिब तीन रोपनी जग्गामा फैलिएको छ। त्यहाँबाट मौसमी तथा बेमौसमी तरकारीसँगै मासुको लागि लोकल र ब्रोइलर कुखुरा उत्पादन हुने गरेको छ। फार्ममा तीनवटा टनेलमा गोलभेंडा लगाइएको छ भने बाँकी जग्गामा करेला, विभिन्न प्रजातिको साग, घिरौंला, रामतोरिया, चिचिन्डा, धनियाँ, खुर्सानी, बोडी, लसुन जस्ता तरकारी लगाइएको छ। खाली जग्गाको सदुपयोग गर्दै १० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको फार्मबाट होटलमा आउनेलाई लोकल कुखुराको स्वाद समेत दिइरहेको छ। ‘दुवै होटलमा कन्फरेन्स हलको सुविधा छ। दैनिक केही न केही कार्यक्रम भइरहन्छ। मासुको माग पनि बढी नै हुन्छ। त्यसैले हामीले लोकल र ब्रोइलर दुवै जातका कुखुरा फार्ममा पालेका छौं,’ रावलले भने।

कृषि फार्म सञ्चालन गर्नुअघि दैनिक एक होटलमा ३–४ हजार रुपैयाँ बराबरको तरकारी लाग्ने गरेको सप्तरंगी होटलका सञ्चालक रोशन भण्डारीले बताए। ‘बजारबाट तरकारी ल्यायो आधा जति त खेरै जाने गथ्र्यो । कुहिएका हुन्थे। स्वाद नै छैन भन्ने गुनासो आउँथ्यो। अहिले त्यो समस्या छैन,’ भण्डारीले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो। हाम्रो सफलतामा जेडिएको छ, सुखद कृषि फार्म।’

मासिक रुपमा दुवै होटलमा गरी एक लाख ५० हजार रुपैयाँ बराबरको तरकारी खपत हुने गरेको छ।

सुखद पाहुना घर रोजाइमा
वातावरणमैत्री, महिलामैत्री, अपांगमैत्री र बालमैत्री भौतिक संरचना सहित सखद पाहुना घर निर्माण गरिएको छ। नुवाकोटको १२ वटै स्थानीय तहको नामबाट शयन कक्ष छन्। वार्षिक रुपमा एक लाख २० हजार रुपैयाँ तिर्ने गरी चार रोपनी जग्गा भाडामा लिएर होटल व्यवसाय सुरु गरिएको सञ्चालक धु्रव रावलले बताए। ‘नुवाकोट ऐतिहासिक, प्राकृतिक रुपले भरिपूर्ण जिल्ला हो। आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिरहन्छन्। उनीहरुलाई मध्यनजर गर्दै सुरुवातमा सप्तरंगी होटल सञ्चालन गरेँ। माग अनुसारको सेवा दिन ठाउँको अभावले नसक्दा सुखद पाहुना घरको परिकल्पना गरेर सुरु गरेको हुँ,’ रावलले भने, ‘होटल व्यवसाय सञ्चालन गरेर पर्यटन प्रवद्र्धनको लागि सघाउ पुगेको महसुस गरेको छु। सेमिनार, गोष्ठी, तालिम सञ्चालन गर्न परेमा धेरैको रोजाइ सुखद पाहुना घर नै हुन्छ।’

पाहुना घरमा अहिले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानी भइसकेको छ। दुवै होटलमा पालैपालो काम गर्ने १८ जना युवाले रोजगारी पाएका छन्। रावलसँग पत्रकारिता पेसाको लामो अनुभव छ। पत्रकारिता पेसालाई अगाडी बढाउने क्रममा रिपोर्टिङको लागि गाउँगाउँ जादा बेरोजगारीको समस्या धेरै  देखे। त्यो समस्या समाधानको लागि लगानीमैत्री वातावरण बनाउन सके केही युवालाई रोजगारी दिन सकिन्छ र उनीहरुको अमूल्य समय खेर जादैन भन्ने उद्देश्यको साथ होटल व्यवसाय सञ्चालन गरेको उनले बताए।

प्रकाशित: २६ असार २०७६ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App