३१ असार २०७७ बुधबार
अर्थ

उत्पादन, किसान र खेती क्षेत्रफलमा काभ्रे अगाडि

कफीको फ्रेस चेरी। तस्बिर साैजन्य : कफी व्यवसायी महासंघ

बनेपा – केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।

मुलुकको आठ सयदेखि एक हजार ६ सय मिटर उचाइसम्मका ३२ जिल्लाका व्यावसायिक कफी किसानसँग गरिएको सर्वेक्षणले यो नतिजा निकालेको हो। विभागले सन्दर्भ वर्ष २०७४ भरिको कफी उत्पादनको अवस्थाका आधारमा यो तथ्यांक सार्वजनिक गरेको जनाएको छ।

‘२०७४ वैशाखदेखि चैतसम्मको अवधिमा व्यावसायिक किसानले एक हजार पाँच सय ७३ मेट्रिक टन कफीको फल (फ्रेस चेरी) उत्पादन गरेका छन्। यसमध्ये काभ्रे जिल्लामा दुई सय २१ मेट्रिक टन फ्रेस चेरी उत्पादन भएको पाइयो। काभ्रे अब मुलकभरमै धेरै कफी फलाउने जिल्ला हुन पुगेको छ,’ विभागको कृषि तथा पशुपक्षी गणना तथा सर्वेक्षण शाखाका प्रमुख डा. महेशकुमार सुवेदीले भने।

विभागले काभ्रेका कफी उत्पादक  किसान, संकलक र कफी सहकारी पदाधिकारीमाझ सर्वेक्षणको नतिजा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘उत्पादनमात्रै नभई काभ्रे जिल्लामा किसानसमेत धेरै जना कफी खेतीमा संलग्न रहेको पायौं। यस्तै, सर्भेक्षण गरिएका जिल्लाहरुमा क्षेत्रफलको हिसाबले समेत कफी खेतीमा काभ्रे नै अग्रणी रहेका पायौं,’ सुवेदीले थपे। सर्बेक्षणले काभ्रेका नौ सय ४३ किसानले एक सय चार हेक्टरमा कफी खेती गरेको देखाएको छ।

सो अवसरमा निर्देशक बद्रीकुमार कार्कीले काभ्रे जिल्लासँगै कफी उत्पादनका हिसाबले प्रदेश ३ समेत अग्रणी रहेको बताए। ‘प्रदेश ३ का काभ्रे र सिन्धुपाल्चोक जिल्लाको योगदानले प्रदेश ३ ले कफीको फ्रेस चेरी उत्पादनमा अग्रता लिएको छ। यस प्रदेशका साढे २७ सय किसानले चार सय २३ हेक्टर क्षेत्रफलमा सात सय ५७ मेट्रिक टन कफी फलाएका छन्,’ उनले थपे।

कृषि तथा पशुपक्षी गणना तथा सर्वेक्षण शाखाले यसअघि पोल्ट्री र फ्लोरिकल्चरको व्यावसायिक सर्भेक्षण गरिसकेको छ। नेपालको कफी खेतीमा पहिलो पटक सर्भेक्षण गरिएको हो। ‘कफीको मूल्य शृंखला (भ्यालु चेन) धेरै प्रक्रिया पर्छन्। खेतीको अवस्था पत्ता लगाउने र कफी खेती प्रवद्र्धनका लागि सरकारलाई सुझाव संकलन गरिदिने हिसाबले कफीको फ्रेस चेरीसम्मको अवस्थाको सर्भेक्षण गरेका हौं,’ तथ्यांक अधिकृत किशोर केसीले जानकारी दिए।

काभ्रेका कोशीपारी, रोशीपारी, डाँडापारी, पाँचखाल र  मण्डनदेउपुरक्षेत्र कफी खेतीका लागि उर्वर भूमि मानिँदै आएको छ। यहाँ उत्पादित कफी अमेरिका, युरोप, जापान र दक्षिण कोरियामा निर्यात हुने गरेको छ। ‘विगतमा हामीले गुल्मीबाटै कफीका बिरुवा ल्याएर काभ्रेमा कफी रोप्न थालेका हौं। हामीले अर्गानिक तरिकाले कफी खेती गरिरहेकाले विदेशमा माग बढ्दो छ। यतिखेर हामीहरुले अरबिका वर्णको टिपिका र वर्वन जातका कफी खेती गर्दै आएका छौं,’ काभ्रे कफी सहकारी संघका व्यवस्थापक ज्ञानबहादुर अस्तानी मगरले भने।

काभ्रेका किसानहरुले अर्गानिक एग्रीकल्चर सर्टिफिेकसन थाइल्यान्ड (एसिटी) र अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन)बाट कफीको अर्गानिक सर्टिफिकेसन गराउँदै आएका सर्बेक्षणमा उल्लेख छ। सर्बेक्षणका क्रममा किसानहरुले कफी खेतीमा गुणस्तरीय प्राविधिक सेवा, सिँचाइ सुविधा, तालिम र अध्ययनको व्यवस्थामा कमी रहेको औंल्याएका छन्। यस्तै, कफी बिक्रीका लागि बजारको व्यवस्था र अनुदान तथा सहयोग नहुँदासमेत कफी खेतीले व्यापकता लिन नसकेको गुनासो गरेको प्रतिवेदनमा उल्लेख छ।

‘काभ्रेका किसानहरुमध्ये आधा संख्याले कफीको फ्रेस चेरीको न्यूनतम सरकारी मूल्य र राष्ट्रिय कफी नीति २०६० बारे थाहा नभएको सर्बेक्षणले देखाएको छ। यस्तै, कफीखेतीमा संलग्न किसानको वित्तीय पहुँच पनि नभएको देखियो। कफी व्यवसायी महासंघ र कफी सहकारी संघले किसानलाई सर्बेक्षणले औंल्याएका तथ्यका आधारमा जनचेतना जगाउने समन्वय बढाइदिनेतर्फ पनि ध्यान दिनुपर्ने देखेका छौं,’ तथ्यांक अधिकृत गणेशप्रसाद फुयाँलले सुझाए।

प्रकाशित: २४ असार २०७६ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App