१६ चैत्र २०८० शुक्रबार
अर्थ

साढे चार वर्षमा ८९ हजार पर्यटक

नेपाल आएका चिनियाँ पर्यटक आपूmले ल्याएको सामान जाँच गराउँदै। तस्बिर: हिमनाथ/नागरिक

रसुवा - चीनसँगको नाका रसुवागढी हुँदै नेपाल आउने पर्यटक बढेका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार साढे चार वर्षमा ८९ हजारभन्दा बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्। २०७२ वैशाख १२ गते आएको भूकम्पपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ८९ हजार चार सय ३३ पर्यटक नेपाल आएका छन्। २०१५ मा चिनियाँ पर्यटकमात्र आएका थिए।

२०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको कार्यालयले जनाएको छ। यो नाका प्रयोग गरेर नेपाल आउनेमध्ये ७० प्रतिशत चिनियाँ रहेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए। सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ र सन् २०१९ को ६ महिनामा १३ हजार ७० पर्यटक नेपाल आएको कार्यालयको तथ्यांक छ।

२०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो। त्यो महिना दुई सय ९१ पर्यटक आएका थिए। यो नाका भएर नेपाल भित्रनेमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकिया र अस्ट्रेलियाका नागरिक बढी छन्।

नेपाल घुम्न आउने धेरैजसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांश चिनियाँ पर्यटक ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशतले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्। नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा र लुम्बिनी जाने गरेका छन्। रसुवागढी हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका छन्।

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अन–अराइभल भिसा उपलब्ध गराउँदैन। सरकारी र कूटनीतिक राहदानीबाहक बाहेक नाइजेरिया, घाना, जिम्बावे, स्विजल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनु पर्छ।

भिसाको लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको उनले बताए।  विभागको वेबसाइटमा गएर फारम भर्न सकिन्छ। उक्त फारमले १५ दिनसम्म मात्र काम गर्ने भएकाले फारम धेरै चाँडो भर्न नहुने उनको भनाइ छ।
अध्यागमन अधिकृतले कागजात छानबीन गरी नेपालमा प्रवेश दिन उपयुक्त देखे पर्यटक भिसा जारी गर्नेछन्। कार्यालयले किओस्क मेसिन जडान भएपछि पर्यटकलाई फारम भर्न सजिलो भएको छ।

प्रकाशित: १९ असार २०७६ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App