coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाँच वर्षमा ५० प्रतिशत लक्ष्य

पोखरा – पोखरामा जुन–जुलाई–अगस्ट भारतीय पाहुना आउने सिजन मानिन्छ। यो पटक भारतीय पाहुनाको आगमनमा अघिल्ला वर्षभन्दा केही सुधारिएको व्यवसायीले बताएका छन्। भारतीय पाहुनाको यो आगमनलाई बढाएर आगामी पाँच वर्षभित्र ५० प्रतिशत हाराहारीमा पु-याउने लक्ष्य व्यवसायीको छ।

व्यवसायीका अनुसार अहिले वर्षभरिको भारतीय पाहुनाको हिस्सा करिब २० प्रतिशत छ। तर, मुल सिजन (जुन–जुलाई–अगस्ट)को आगमन भने अकुपेन्सीको ५० प्रतिशत हाराहारीमा छ। सिजनको हिस्सालाई बाहै्रमास कायम राख्नेगरी भारतीय पाहुनालाई पोखरा भित्र्याउन पहल भइरहेको व्यवासायीले बताएका छन्। त्यसका लागि प्रवद्र्धन कार्यक्रम व्यवसायीले गरिरहेका छन्।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले सिजनको बेलाको आगमन सन्तोषजनक रहे पनि सदावहार आगमन एकैखालको बनाउन नसकेको बताए। भारतीय पाहुनाको आगमन बढाउँदा व्यवसायीलाई राहत मिल्ने भए पनि अझै सोचेअनुरुप नभएको उनले बताए। ‘अहिले वर्षभरिको पाहुना आगमनको हिस्सा २० प्रतिशत अंश भारतीयले ओगटेका छन्। सिजनको बेलाको आगमन ५० प्रतिशत हाराहारीमा छ,’ लेकसाइडस्थित पिस प्लाजा होटलका सञ्चालकसमेत रहेका पराजुलीले भने, ‘अगामी पाँच वर्षभित्र २० प्रतिशतलाई उकासेर ५० प्रतिशतमा पु-याउन सकियो भने त्यसबाट पोखराले निकै नै लाभ पाउँछ।’ आगमन उकासेर ५० प्रतिशत पु-याउने लक्ष्यसहित भारतीय सहरमा हरेक वर्ष प्रवद्र्धनात्मक गतिविधि गरिरहेको उनले बताए। ‘चलिए पोखरा’ अभियानमार्फत संघले हरेक वर्ष भारतीय सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ।

भारतीय पाहुनाका लागि नेपाल सजिलो र सहज गन्तव्य भए पनि नेपालमा हुने राजनीतिक उतारचढावसहित पूर्वाधारका हिसाबले भारतीय पर्यटक सोचेजति आउन नसकेको उनको अनुभव छ। ‘भारतीय पाहुना आगमनमा केही सुधार देखिन थालेको मात्र थियो, भूकम्प र नाकाबन्दी भयो,’ उनले भने, ‘भूकम्पभन्दा पनि नाकाबन्दीले निकै नै अप्ठेरो पा-यो।’ त्यसबाहेक बारम्बार भइरहने बन्द, हड्तालले पनि अप्ठेरो पारेको उनले बताए।

‘आउन चाहेकालाई पनि सहज हुनेगरी बाटोघाटोको उचित व्यवस्था छैन,’ पराजुलीले भने, ‘अहिलेको आगमनलाई बढाएर ५० प्रतिशत पु-याउँदा पोखराको मात्र नभई नेपालकै पर्यटन उकासिन्छ।’ भारतीयको वर्षभरिको आगमन ५० प्रतिशत हाराहारीमा पु-याउँने र त्यसमा आन्तरिक र अरु विदेशी मुलुकका पाहुनालाई थप्दा पोखराको पर्यटनले निकै नै लाभ पाउने उनले बताए। ‘आगमन बढाउन भने व्यवसायी मात्र तातेर हुँदैन। सरकार र पर्यटन बोर्ड पनि उत्तिकै सक्रिय हुनुपर्छ,’ उनले भने, ‘अहिले व्यवसायीले कुनै न कुनै रुपमा प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन्।’

पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हरि शर्मा गैरेले पछिल्लो समय भारतीय पर्यटकको आगमनमा केही सुधार देखिए पनि गुणात्मकतामा भने कमजोर अवस्था रहेको बताए। ‘बजेट खालका पर्यटक मात्र बढी आएका छन्,’ उनले भने, ‘आगमनमा केही सुधार आएको छ। तर, अब स्तरीय सेवा लिनसक्ने खालका पाहुना ल्याउनुपर्छ।’ पोखरामा केही पूर्वाधार कम भएकाले पनि त्यो तहका पाहुना भित्र्याउन नसकेको उनले बताए।

‘खर्चालु पर्यटकलाई ल्याएर उनीहरुलाई खर्च गराउने क्षमता पोखराले अझै विकास गर्न सकेको छैन,’ शर्माले भने, ‘चौबिसै घण्टा रमाउने खालका पूर्वाधार नै छैनन्। क्यासिनोसहितका पूर्वाधार भएमा बल्ल खर्चालु पाहुना आउने थिए। अब प्रदेश सरकारले रात्रिकालीन गतिविधि बढाउन सघाउने हो भने पाहुना आउँछन्। उनीहरुलाई हामीले खर्च गराउन सक्नुपर्छ।’

संघका अध्यक्ष विकल तुलाचनले सन् २०१२ मा सुरु भएको ‘चलिए पोखरा’ अभियानपछि नेपाल आउने भारतीय पाहुनाको संख्या थपिन थालेको बताए। उनका अनुसार यो अभियान थाल्ने बेलामा पोखरामा भारतीय पाहुना निकै नै कम आउँथे। मुम्बई र दिल्लीबाट हनिमुन मनाउन आउने सीमित खर्चालु भारतीय नवजोडी आउने गरेकामा अहिले ती पाहुनाको आगमन खस्केको उनले बताए। तर, बजेट पाहुनाको आगमन भने केही बढेको तुलाचनको भनाइ छ।

‘चलिए पोखरा अभियान थाल्नु अघि निकै कम संख्यामा भारतीय पाहुना पोखरा आउँथे। तर, ती पाहुना खर्चालु हुन्थे,’ तुलाचनले भने, ‘अहिले ती खर्चालु पाहुनाको आगमन घटेको छ। तर, बजेट पाहुना भने बढेका छन्। बजेट पाहुना निकै नै कम खर्चमा धेरै घुम्ने खालका हुन्छन्।’ अब भारतीय पाहुनाको आगमन बाह्रैमास एकैनासको बनाउन प्रवद्र्धनात्मक गतिविधिमा जोड दिने तुलाचनले बताए।

उनका अनुसार अहिले भारतीय पाहुना समूहमा मिलेर आउने गरेका छन। तर, पैसा भने निकै कम खर्च गर्छन्। पछिल्लो समय सीमावर्ती सहरबाट भारतीय पाहुना पोखरा आउने गरेको उनले बताए। तुचालनका अनुसार पोखरामा वर्षमा दुई लाखजति भारतीय पर्यटक आउँछन्। समूहमा र आफैं गाडी लिएर आउने भारतीय पाहुना बढी रहेको उनले बताए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणि लामिछानेले पनि पछिल्लो समय पोखराले भारतीय पर्यटनबाट राम्रो लाभ लिन सकेको बताए। उनका अनुसार गर्मी छल्नकै लागि भारतीय पाहुना पोखरा आउन चाहन्छन्। ती बाहेक धार्मिक पर्यटक पनि उत्तिकै संख्यामा रहेका छन्। भारतीय सहरमा चर्काे गर्मीमा आत्तिएको बेला पोखरा आउँदा उनीहरुलाई ‘एसी’मा बसेको अनुभव हुने गरेको लामिछानेको भनाइ छ। उनले पनि अहिले आएका भारतीय पर्यटक संख्यात्मक रुपमा ठूलो देखिए पनि आम्दानीका हिसाबले उत्तम भन्न नमिल्ने बताए। ‘आउँदै नआउनु भन्दा आउनु नै राम्रो हो। धेरै संख्यामा आए पनि आम्दानी पनि धेरथोर थपिन्छ,’ लामिछानेले भने, ‘तर अब संख्यात्मक रुपमा मात्र नभई गुणात्मक पाहुना पनि बढाउनुपर्छ। त्यसतर्फ हामीले बजारीकरण गर्न जरुरी छ।’ गुणात्मक पाहुनाका लागि योजना बनाउनुपर्ने लामिछानेले बताए।

प्रकाशित: १७ असार २०७६ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App