७ वैशाख २०८१ शुक्रबार
अर्थ

धान रोप्न प्रविधि प्रयोग

चितवन – कृषिलाई यान्त्रिकीकरणमा लैजान धान रोप्नका लागि प्रविधिको प्रयोग गरिएको छ। भरतपुर महानगरपालिका वडा २६ दिव्यनगरका कृषकले धान रोप्नका लागि मेसिनको प्रयोग गरेका हुन्। दिव्यनगरको वृहस्पती धान बाली पकेट क्षेत्रमा यो वर्ष ‘राइस ट्रान्सप्लान्टर’ मेसिनबाट धान रोपिएको छ। देव कृषि मार्गमा पर्ने पकेट क्षेत्रमा धान खेती गर्न २२.५ बिघा क्षेत्रफल रहेको छ।

पकेट क्षेत्रको क्षेत्रफलमध्ये यो वर्ष तीन बिघा जमिनमा मेसिनबाट धान रोपाइँ गर्ने तयारी भएको राष्ट्रिय बीउबिजन समितिका सदस्यसमेत रहेका कृषक मित्रराज दवाडीले जानकारी दिए। राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गर्न ‘ट्रे’मा बीउ छरेर धानको बिरुवा उमारिएको थियो। मेसिनको प्रयोगबाट धान रोपाइँ गर्दा एक कट्ठामा धान रोप्न आठवटा ट्रेमा उत्पादन गरिएको बीउले पुग्ने उनले बताए। मेसिनबाट एक घण्टामा १० कट्ठामा रोपाइँ गर्न सकिने उनी बताउँछन्।

एक कट्ठामा धान रोप्न एक जनालाई दिनभर लाग्छ। ‘धान रोपाइँदेखि धान भित्र्याउँदासम्म प्रविधि प्रयोग गर्ने तयारी गरिएको छ,’ उनी भन्छन्, ‘यान्त्रिकीकरणको माध्यमले कृषिमा लाग्ने लागत कम गर्न सकिन्छ भनेर यान्त्रिकीकरणमा लागेका छौं।’ दवाडीले जापानबाट ल्याइएको राइस ट्रान्सप्लान्टर नौ लाखमा खरिद गरेर प्रयोग गर्न सुरु गरेका हुन्। कालाबञ्जार फाँट भनेर चिनिने दिव्यनगरका खेत धान उत्पादनका लागि पनि प्रख्यात भएकाले पकेट क्षेत्रबाट यान्त्रिकीकरणमा जाने प्रयास गरिएको उनले बताए।

धानखेती राम्रो उत्पादन हुने भए पनि श्रम गर्ने कामदार अभाव हुँदा कतिपय खेतबारी बाँझै छाडिने कार्यलाई यान्त्रिकीकरणको प्रयोगले हटाउने दवाडीको भनाइ छ। तराई क्षेत्रबाट र भारतबाट आउने कामदारलाई धान बाली लगाउन र भित्र्याउन प्रयोग गरिन्छ। कामदार अभाव हुँदा समयमा नै खेतीबाली लगाउनसमेत समस्या हुने भएकाले अब कृषिलाई यान्त्रिकीकरणमा लैजानुपर्ने उनले बताए। घरायसी प्रयोजनका लागि खेती गर्न भने मेसिनरी उपकरणको प्रयोग महंगो पर्ने भएकाले ‘कस्टम हायरिङ’ प्रणालीमार्फत किसानलाई सामूहिक रुपमा उपकरण प्रयोग गर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।

टुक्रे खेतीबाट उत्पादन वृद्धि गर्न नसकिने भएकाले चक्लाबन्दी खेती गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन्। भरतपुर महानगरपालिकाले कृषिलाई यान्त्रिकीकरणमा लाने र चक्लाबन्दी खेती गर्ने नीति लिएको महानगरपालिकाका आर्थिक महाशाखाका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए। किसानलाई प्रतिफलका आधारमा प्रोत्साहन गर्ने नीतिसमेत महानगरले अघि बढाएको छ। चालु आवमा डेढ करोड कृषि क्षेत्रको बजेट रहेकामा आगामी वर्षका लागि ६ करोड छुट्याइएको उनले जानकारी दिए।

चितवनमा ४६ हजार आठ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेकामा ४४ हजार दुई सय ९१ हेक्टरमा खेती लगाइन्छ। गएको सिजनमा २८ हजार ६ सय हेक्टरमा वर्षे र पाँच हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए। गत वर्ष एक लाख २१ हजार ६ सय ७२ मेट्रिक टन धान चितवनमा उत्पादन भएको थियो। यो वर्ष पनि गत वर्षको जत्तिकै हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ। आधुनिक प्रविधिको विस्तारसँगै धान उत्पादनमा लागत घटाएर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने श्रेष्ठ बताउँछन्।

‘जनशक्ति अभावको समस्या, कृषि पेशाप्रति हालको अधिक निर्भरता कम गर्न यान्त्रिकरणमा जोड दिनुपर्छ’ उनी भन्छन्, ‘कृषिको यान्त्रिकरणले उत्पादन लागत घटाउने मात्र नभई उत्पादक समेत बढाउँछ।’ कृषिमा यान्त्रिकरणलाई प्रयोग गर्न खेतबारीलाई समेत यन्त्रमैत्री  बनाउनुपर्ने उनको भनाई छ। चितवनको माडीमा यसै वर्षबाट प्रदेश सरकार र ज्ञान केन्द्रको सहयोगमा खण्डित जग्गालाई एकनाशको बनाएर सामुहिक खेती गर्न सुरु गरिएको उनले बताए।

प्रकाशित: १६ असार २०७६ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App