२८ श्रावण २०७७ बुधबार
अर्थ

वर्षा ढिला हुँदा धान रोपाइँ कम

काठमाडौं – मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो। गत वर्षको असार ९ सम्म १५.९ प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष सोही अवधि (असार ९ गतेसम्म ) मा ११.६४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

कृषि मन्त्रालयका वरिष्ठ कृषि अधिकृत विनोद भट्टराईका अनुसार मौसम ढिला सुरु भएकाले रोपाइँ कम भएको हो। ‘नेपालमा मौसम सुरु हुन ढिला हुँदा अपेक्षित रोपाइँ हुन सकेन,’ भट्टराईले भने, ‘उच्च पहाड र मध्य पहाडको तुलनामा तराईमा वर्षात् कम भएको छ।’

मन्त्रालयका अनुसार अहिलेसम्म उच्च पहाडमा २६.३१ प्रतिशत, मध्य पहाडमा १५.१२ प्रतिशत तराईमा ९.५९ प्रतिशत रोपाइँ भएको छ। धान खेती हुने अधिकांश भूभाग तराईमा भएकाले समयमा धान रोपाइँ नहुँदा उत्पादनमा असर पर्ने धानविज्ञले बताएका छन्। तराईमा पर्याप्त वर्षा नहुँदा किसानले धान रोप्न पाएका छैनन्। धानविज्ञ भोलामानसिंह बस्नेतले यो वर्ष १० दिन ढिला मौसम सुरु भएकाले धान रोपाइँ प्रभावित भएको बताए। ‘वर्षात् ढिला हुँदा रोपाइँ ढिला भएको छ,’ बस्नेतले भने, ‘यसको असर उत्पादनमा पर्छ।’

उच्च पहाडमा अकासे पानीका भरमा धान खेती गर्नुपर्ने भएकाले किसान मर्कामा परेका छन्। ‘रोपाइँ ढिला हुँदा पाक्न पनि ढिला हुन्छ,’ उनले भने, ‘यसको असर हिउँदे खेतीमा पनि पर्छ।’ बस्नेतका अनुसार दक्षिण एसियाली मौसमविद्ले यो वर्ष तराईमा सामान्यभन्दा कम पानी पर्ने प्रक्षेपण गरेका छन्। ‘धेरै धान उत्पादन हुने क्षेत्रमा कम वर्षात् हुने प्रक्षेपण गरिएको छ,’ बस्नेतले भने, ‘प्रदेश नं १, २, ३ र ५ मा कम वर्षा भएको छ।’

गत वर्षभन्दा कम रोपाइँ भए पनि अहिले नै उत्पादनको आँकलन गर्न नसकिने कृषि विभागले जनाएको छ। विभागका उप–महानिर्देशक प्रकाश सञ्जेलले वर्षा कम भए पनि उत्पादनको घट्ने/बढ्ने प्रक्षेपण गर्न अहिले हतार हुने बताए। ‘साउनको दोस्रो सातासम्म रोपाइँ हुन्छ,’ उनले भने, ‘ठूलो असर पर्दैन कि भन्ने विश्वास लिएका छौं।’

मुलुकमा धान खेती १५ लाख ६२ हजार हेक्टर पुगेको छ। मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा धान खेती हुन्छ। ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ। कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती हुन्छ।

धान उत्पादन बढाउन कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जातका धान लगाउन किसानलाई सिफारिस गर्दै आएको छ। तराईका किसानले पुरानो जात राधा (राष्ट्रिय धानबाली) १२, राधा १३, राधा १४ जातका धान लगाउँछन्।  त्यसैगरी, पश्चिम क्षेत्रमा राधा ४ लोकप्रिय छ। भारतबाट मिठो, मसिनो चामल आयात भएकाले नार्कले मिठो–मसिनो चामल फल्ने धान सिफारिस गरेको छ। पहाडमा लेकाली धान १, ३ रोप्ने चलन छ। त्यसैगरी, तराईमा जलवायु परिवर्तन भएकाले सुक्खा र डुवानमा फल्ने बहुुगुणी धान १, २ लगाउँछन्।

धान मुलुकको प्रमुख खाद्य बाली हो। चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो। समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि भएको थियो। गत आव ०७४÷७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो।

सरकारले चामललगायत खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ। धान उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विशेष पकेट क्षेत्र बनाइएको छ। मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने नयाँ जातका धान लगाउन प्रोत्साहित गर्दै आएको छ।

सरकारले खाद्यान्न बालीमा आत्मनिर्भर बन्ने योजना बनाए पनि खाद्यवस्तु उत्पादन वृद्धि नहुँदा विदेशबाट खाद्यान्न आयात भइरहेको छ।  चालु आर्थिक वर्ष ०७५/७६ को वैशाखसम्म करिब डेढ खर्ब रुपैयाँको कृषि उत्पादन आयात भएको छ। कुल वस्तु आयातमा १४.६ प्रतिशत कृषि उत्पादनको हिस्सा ओगटेको छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशत रहने अर्थ मन्त्रालयको अनुमान छ।

प्रकाशित: ११ असार २०७६ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App