coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरको बजेट १५ अर्बः भर्टिकल पार्किङदेखि मोनोरेलसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार भएको काठमाडौं महानगरपालिकाको नगरसभाको ५ औं महाअधिवेशन कार्यक्रमबाट सो बजेट पारित गरेको हो।

महानगरपालिकाकी उप–मेयर हरिप्रभा खड्गी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी थिइन्। नगरसभाले पूर्वाधार सुधार तथा अन्य विकास खर्च शिर्षकमा रहेर सबै भन्दा धेरै ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट छुट्टाएको छ। प्रस्तुत सो बजेटको स्रोतका रुपमा महानगरपालिकाले आन्तरिक स्रोत अन्तर्गत स्थानीय कर आय, गैह्रकर आय र राजश्व बाडफाटबाट प्राप्त आय ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार भएको उल्लेख गरेको छ।

त्यस्तै अन्य स्रोतमा रहेर नेपाल तथा प्रदेश सरकार सशर्त अनुदान, नेपाल तथा प्रदेश सरकार समानिकरण अनुदान तथा अन्य निकायको सहयोगमा ४ अर्ब १८ करोड ९० लाख ८ हजार र गत वर्षको बैंक मौज्दातमा २ अर्ब ६२ करोड ९० लाख ९७ हजार गरी जम्मा बजेट १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय उल्लेख गरेको छ। यस्तै, व्यय अन्तर्गत १५ अर्ब ५० करोड ७० लाख १२ हजार विनियोजन बजेट प्रस्तुत गरेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको बिनियोजित १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको तुलनामा १९ प्रतिशतले बढि रहेको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७/०७७ का लागि पारित गरिएका नीति तथा कार्यक्रमले सम्वृद्ध महानगर निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ। उक्त नीति तथा कार्यक्रमले महानगरका लागि विशेष महत्व मानिएका योजनाहरु अन्तर्गत फ्लाई ओभर, आकाशे पुल, महानगर जेष्ठ नागरिक अस्पताल, बालाजु वाइसधारा उद्यानको आधुनिकिकरण, नदीहरुको शुद्धिकरण, काठमाडौं महानगर क्षेत्रबाट संकलन हुने फोहोरबाट उर्जा उत्पादन, महानगरको केन्द्रीय भवनको निर्माण, भर्टिकल पार्किगंको लागि भवन निर्माण, पर्यटन पदमार्ग, तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनोरेल आदि रहेका छन्।

यस्तै, आगामी आर्थिक वर्षमा शहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम, महानगर स्तरीय एकीकृत सिप विकास प्रतिष्ठान निर्माण तथा संचालनमा ल्याइने छ। त्यस्तै महानगरका मूख्य मूख्य सडकहरुमा मेयर उज्यालो कार्यक्रम अन्तर्गत हाइमास बत्ति जडान गर्ने कार्यक्रम रहेको छ। यी सबै कार्यक्रमको लागि बजेट विनियोजन महानगरपालिकाले गरेको छ। यसका साथै महानगरपालिकाले सम्पदा संरक्षण तथा सम्वद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षका रुपमा संचालन गर्ने भएको छ।

योजना कार्यक्रम तथा बजेटमा रहेर आर्थिक विकासमा कुल बजेटको ४ प्रतिशत, सामाजिक विकासमा २४ प्रतिशत, पूर्वाधार विकासमा ३९ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापनमा ४ प्रतिशत र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनमा २३ प्रतिशत बजेट रहेको छ।

नगरसभाले विभिन्न अनुमान तथा कार्यक्रमहरुको बजेट सीमा निर्धारण पनि गरेको छ। भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जम्मा अनुमानित खर्च ५ अर्ब ३१ करोड ५० हजार, शिक्षामा १ अर्ब ३४ करोड ९० लाख ५० हजार, जनस्वास्थ्य सेवा कार्यक्रममा १२ करोड ३४ लाख ८२ हजार, कृषि र पशु सेवा कार्यक्रममा ६ करोड २९ लाख ७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ करोड ४ लाख ७७ हजार गरी जम्मा १८ वटा कार्यक्षेत्रको आधारमा जम्मा बजेट १० अर्ब ८२ करोड ३ लाख ९२ हजार राखिएको छ।

नगरसभाले असार ५ गतेदेखि अधिवेशन थालेको हो। नगरसभाको दोस्रो बैठकले २०७६/०७७ को बजेट प्रस्तुत, आर्थिक विधेयक २०७६ र काठमाडौं महानगरपालिकाको विनियोजन विधेयक २०७६ गरी तीन वटा एजेण्डामा रहेर बजेट कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रकाशित: १० असार २०७६ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App