coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतबाट आयात हुने तरकारी र फलफूलमा कडाइ

नेपालगन्ज – भारतबाट आयात हुने तरकारी, फलफूललगायत वस्तुको अनिवार्य ‘विषादी परीक्षण रिपोर्ट’ पेस गर्नुपर्ने नियम लागू भएपछि नेपालगन्ज नाकामा त्यसको प्रभाव परेको छ। विषादी परीक्षण रिपोर्ट पेस गर्न नसकेका व्यापारीको सामान आयातमा रोक लगाइएको छ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले विषादी परीक्षण रिपोर्ट पेस गरेका व्यापारीको मात्र भन्सार जाँचपास हुने गरेको जानकारी दिए। ‘पहिलेजस्तो मनपरी रुपमा अब तरकारी, फलफूललगायत वस्तु आयात हुन पाउँदैन, जसले विषादी परीक्षण रिपोर्ट पेस गर्छ, उसको मात्र जाँचपास हुन्छ, जसले रिपोर्ट पेस गर्न सक्दैन, त्यसलाई आयातमा रोक लगाइन्छ,’ निरौलाले भने। उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते राजपत्रमै सूचना प्रकाशित गरेपछि नेपालगन्जलगायत देशका विभिन्न नाकामा यस्तो नियम लागू भएको हो।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी भए/नभएको प्रमाणित गर्ने एउटा छुट्टै निकाय रहेको छ। ‘विषादी दु्रत विश्लेषण एकाइ’ले परीक्षण गरिसकेपछि रिपोर्ट दिन्छ। सोही रिपोर्ट पेस गरेपछि मात्र सामानको जाँचपास हुने भन्सार प्रमुख निरौलाको भनाइ छ। रिपोर्ट पेस गरेका व्यापारीको सामान आयात भए पनि रिपोर्ट पेस गर्न नसकेका व्यापारीको सामान रोकिएको उनले बताए।

‘यो कानुनमै आएको व्यवस्था हो, त्यसकारण यो नियमलाई कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हुन्छ,’ उनले थपे। भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आव ०७५÷७६ को साउनदेखि हालसम्म भारतबाट नेपालगन्ज नाका हुँदै दुई अर्ब मूल्यबराबरको तरकारी र फलफूल नेपाल भित्रिएको छ। भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादीको मात्रा धेरै देखिने गरेको तथ्य यसअघि सार्वजनिक हुँदै आएको थियो। विषादी प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै सरकारले नयाँ कानुनी व्यवस्था लागू गरेको मन्त्रालय स्रोतले जनाएको छ। यता व्यापारीले भने नयाँ कानुन लादेर आफूहरुलाई दुःख दिने काम भएको गुनासो गरेका छन्।

प्रकाशित: १० असार २०७६ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App