१५ चैत्र २०८० बिहीबार
अर्थ

बाढीले निर्माणाधीन पुल बगायो

कास्कीको मादी नदीमा आइतबार बिहान ढलेको पुल। तस्बिर सौजन्य: राजकुमार बराल

पोखरा - ठेकेदारले इमानदार भएर काम नगरे त्यसको दुष्परिणाम के हुन्छ भन्ने पछिल्लो उदाहरण मादी नदीको निर्माणाधीन मोटरेबल पुल बनेको छ। ठेक्का लिएको लामो समयसम्म काम नगर्ने र वर्ष सकिने लागेको बेला हतारमा काम गर्ने प्रवृत्तिका कारण ढलान गर्न तयार मादी नदीको पुल बाढीले भत्काएको छ।

स्थानीयवासीका अनुसार ढलानको तयारीमा रहेको पुलको संरचना आइतबार बिहान नदीमा आएको बाढीले भत्काएको हो। यो पुल बनाउन सरकारले २०७२ चैतमा मृत सञ्जीवनी निर्माण सेवासँग आठ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७५ वैशाखमा पुल निर्माण सक्नुपर्ने थियो। निर्माण कम्पनीले ढिलाइ गरेपछि यो असारसम्म सक्ने गरी म्याद थप गरिएको थियो।

ठेकेदारले बेलैमा निर्माण नसक्दा पुल बगेको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताए। ‘निर्माणाधीन पुलका संरचना आइतबार विहानको बाढीले बगाएको छ,’ गुरुङले नागरिकसँग भने, ‘ढलानको तयारीमा रहेको पुल बगेको हो। पूरै क्षति नभए पनि बाढीले ढलानको तयारीमा रहेको पुलको टेका ढलाएको छ। अब फेरि नयाँ काम थाल्नुपर्छ।’

उनका अनुसार मादी गाउँपालिकाको वडा नम्बर ३ र ७ जोड्ने गरी नदीमाथि ८२.५ मिटर लामो र ७.५ मिटर चौडा पुल बनिरहेको थियो। लगातारको वर्षापछि नदीमा आएको बाढीले पुलमा क्षति पु¥याएको अध्यक्ष गुरुङले बताए। ‘पुल निर्माणको जिम्मा लिएको कम्पनीले निकै नै ढिलाइ ग¥यो। समयमै पुल निर्माण सकेको भए यो अवस्था आउने थिएन,’ उनले भने, ‘हामीले बारम्बार अनुरोध गर्दा पनि ठेकेदार कम्पनीले काम गरेन। त्यसको प्रतिफलस्वरुप यो अवस्था आएको हो।’

उनका अनुसार पुल निर्माणका लागि नदीको दुई किनार र बीचमा पिलर बनाइएको थियो। बीचको पिलरसम्म जोड्ने गरी एकतर्फी खण्डमा ढलानको तयारीमा संरचना बनाए पनि बाढीले क्षति पु¥याएको उनले बताए। काउरे–ज्याम्दु–ताङतिङलाई सहज हुने गरी बनेको पुल ढलान गर्न पानी कटाएर टेका लगाइएको थियो। बाढीले त्यही टेका बगाएको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार यो भेगका बासिन्दाको आउजाउ गर्ने बलियो आधार त्यही पुल थियो। ‘यो असारसम्म सक्ने गरी पुल निर्माणको म्याद थपिएको हो। तर, सकिने अवस्था थिएन,’ उनले भने, ‘ठेकेदारले बेवास्ता गर्दा यो अवस्था आयो। म्याद थप्ने बेलामा समयमै पुल निर्माण सक्ने वाचा गरे पनि काम भएको थिएन। अहिलेसम्म पुल ढलान भएको भए बग्दैनथ्यो।’

१५ महिना ढिला भइसक्दा पनि पुल निर्माण सम्पन्न नगरेकाले यो अवस्था आएको उनले बताए। ‘ठेकेदारले अनेक बहानामा काम ढिला गरे, त्यसले गर्दा यो अवस्था आयो,’ अध्यक्ष गुरुङले भने। मादी–३ का अध्यक्ष मनबहादुर गुरुङले रातभरको वर्षाले मादीमा पानीको बहाव बढेको र पुल भत्किएको बताए।

ठेकेदार कम्पनी मृत सञ्जीवनीका इन्जिनियर दिवस शर्माले ढलानका लागि तयार पारेको पुलको टेका लगाएको ठाउँ बाढीले खोलेकोले पुलको केही खण्ड ढलेको बताए। ‘म्याद थपपछि यो असार मसान्तसम्म निर्माण सक्ने गरी ढलानको तयारी थियो, ढलानका लागि ठिक्क पारेको बेला बाढीले ढलाएको छ,’ शर्माले भने, ‘एक्कासि पानी बढी परेकोले समस्या भएको हो।’

निर्माण सामाग्री ल्याउन केही समस्या भएकोले तोकिएको समयमा पुल बनाउन नसकेको उनले बताए। ‘अरुभन्दा फरक डिजाइनमा यो पुल निर्माण हुन थालेको हो। निर्माणाधीन पुलका केही सामाग्री आउन समय लाग्यो, त्यही भएर तोकिएको समयमा काम पूरा हुन नसकेको हो,’ उनले भने, ‘तोकिएको समयमा नबनेपछि यो असारसम्म म्याद थपिएको हो। त्यही पनि बाढीले नोक्सान पु-याएको छ।

प्रकाशित: ९ असार २०७६ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App