८ वैशाख २०८१ शनिबार
अर्थ

तरकारीबाट आत्मनिर्भर बन्दै

तलिचौर गाउँमा गरिएको तरकारी खेती। तस्बिरः डिबी/नागरिक

जुम्ला – चन्दननाथ नगरपालिका–१, तलिचौरकी सम्झना देवकोटा तरकारी खेतीमा ब्यस्त छिन्। तरकारी गोडमेल गर्ने, मलजलको व्यवस्थापन गर्ने र सिँचाइ गर्नेसँगै उनको दैनिकी बित्छ।

‘तरकारी खेतीलाई प्राण ठानेकी छु। रातदिन नभनेर तरकारीको स्याहारमा जुटेकी छु,’ उनले भनिन्, ‘धान फल्ने खेतमा समेत तरकारी लगाउन थालेकी छु।’ पछिल्लो समयमा तरकारी आम्दानीको राम्रो स्रोत बनेको उनको अनुभव छ। तरकारी खेतीमा निकै खटिए पनि रोजे अनुसारको बीउ पाउन नसकेको उनले बताइन्।

त्यस्तै पर्याप्त अर्गानिक मल नपाउँदा र सिँचाइ अभावले अपेक्षाअनुसार तरकारी फलाउन सकिएको छैन। ‘मुहान छ, पानी छ, तरकारी बारीसम्म पुग्ने गरी सिँचाइ कुलो छैन। यसले तरकारी खेतीका लागि अगाडि बढ्न दिँदैन।’ सम्झनाले वर्षमा तरकारी बेचेरै एकदेखि डेढ लाख रुपैयाँसम्म चोखो बचाउँछिन्। उक्त रकमले छोराछोरी पढाइ, घर खर्चसम्म चलेको छ।

तलिचौरकै राधा न्यौपाने जिल्लामै कहलिएकी तरकारी किसान हुन्। उनको बारीमा अहिले तरकारी टन्न फलेको छ। उनको बारीमा प्रायः सबै सिजनमा हरियो तरकारी पाइन्छ। तरकारी खेती आम्दानीको प्रमुख स्रोत भएको उनी बताउँछिन्। यो समय तरकारी गोडमेल, मलखाद व्यवस्थापन, सिँचाइको समय भएकाले दिनानुदिन तरकारीकै लागि मेहनत गर्ने गरेको उनी बताउँछिन्। ‘सिंगो घरपरिवारको खर्च तरकारी खेतीले धानेको छ,’ उनी भन्छिन्।

सम्झना र राधा प्रतिनिधि उदाहरणमात्रै हुन्। चन्दननाथ–१ तलिचौरका झन्डै ५० घर तरकारी खेतीमा लागेका छन्। उनीहरुले तरकारी खेती गर्नकै लागि धान खेतीलाई तिलान्जली दिएका छन्। १४ वर्षदेखि तरकारी खेतीमा संलग्न मायालाल देवकोटा भन्छन्, ‘यहाँका स्थानीयको समृद्धिको आधार तरकारी खेती नै हो। अहिले गाउँका सबैले तरकारी लगाउँछन्। तरकारी बेचेर मनग्गे आम्दानी गर्छन्।’

तलिचौरका बारीमा अहिले बन्दा, प्याज, गाँजर, टमाटर, मुला, केराउ, खुर्सानी, रायोलगायत विभिन्न प्रकारको साग उम्रिएको छ। हरियो सागसब्जी खलंगा बजारमा बेच्न लैजान थालिएको छ। ‘माघ महिनामा तरकारीको बेर्ना राख्छौं, फागुन महिनाको अन्तिमदेखि बारीमा बिरुवा सार्छौं,’ उनले भने, ‘जेठ महिनाको पहिलो साताभित्र तरकारी बिक्रीका लागि बजार लैजान्छौं।’

यहाँ उत्पादन हुने तरकारी विषादीमुक्त हुने भएकाले बजारमा माग बढ्दो छ। यहाँ तरकारी बजार नभएकाले बिक्री गर्न निकै असहज छ। उनले भने, ‘अर्गानिक तरकारी बाहिरबाट आयातित तरकारीभन्दा महंगो भएकाले बजारमा समस्या छ। अर्गानिक तरकारीको बजारीकरणका लागि बाहिरबाट आयातित तरकारी विस्थापित गर्नु जरुरी छ।’ बजारीकरणका लागि छुट्टै सब्जीमण्डी छैन।

आफ्नो बारीको तरकारी मुगु, कालीकोट, नेपालगन्ज र काठमाडौंसम्म पुग्ने गरेको किसान बताउँछन्। अर्गानिक तरकारीको मूल्य र महŒवबारे सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए। गाउँमा एक तरकारी किसानले न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कमाउँछन्।

काउली र बन्दा वर्षमा दुई सिजनमा हुन्छ। प्याज भित्र्याइसकेपछि सिमी खेती हुन्छ। धान खेतीमा मेहनत धेरै, उपलब्धी कम हुने भएकाले तरकारी खेतीतिर स्थानीय आकर्षित भएका हुन्। कालीमार्सी धानमा रोगको संक्रमण बढेकाले तरकारी खेतीतर्फ किसान आकर्षित भएका हुन्। पहिलेको तुलनामा अहिले तरकारी उत्पादन निकै बढेको किसानको भनाइ छ।

जुम्लामा उत्पादित तरकारी बेच्ने बजार नहुँदा समस्या हुने गरेको छ। तरकारीले उचित मूल्य पाउँदैन्, बजारमा तरकारी राखेर बेच्ने ठाउँ छैन। पहिले निर्माण भएको टहरा प्रयोगमा छैन। स्थानीय किसान जीवनबहादुर न्यौपाने तरकारी खेतीका लागि आउने अनुदान वास्तविक किसानसम्म पुग्न नसक्ने बताउँछन्।

आन्तरिक तथा बाह्य पर्यटक डाडामाथि पुगेर फोटो खिच्छन्। अहिले जिल्लाभर तरकारी खेती गर्न थालिएको छ। कृषि ज्ञान केन्द्र जुम्लाले तरकारी खेती गर्नका लागि किसानलाई आवश्यक परामर्श दिने गरेको छ। जिल्लाका सबैजसो ठाउँमा अहिले तरकारी खेती गर्ने प्रचलन बढेको छ।

प्रकाशित: ८ असार २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App