१६ चैत्र २०८० शुक्रबार
अर्थ

योजना डिजाइनमै उद्योगी व्यापारीको असन्तुष्ट

वीरगन्जमा बिहीबार आयोजित कार्यक्रमका सहभागी।तस्बिर ः रितेश÷नागरिक

वीरगन्ज - व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बन्न लागेको पथलैया–वीरगन्ज ६ लेन सडक निर्माणमा वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीले कमजोरी औंल्याएका छन्।पहिलेदेखि रहेको प्राकृतिक बहाव बन्द भएको र दुवै किनारमा सडकसँगै बनेको नयाँ नालाले छेउछाउँको बर्खे पानीको निकास नदिएको भन्दै उनीहरुले कमजोरी रहेको बताए।

मुलुककै सबैभन्दा ठूलो औद्योगिक करिडोरको रूपमा रहेको वीरगञ्ज–पथलैयाका उद्योगीहरूलाई मनसुनको चिन्ता छ।वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार संघकै कार्यकक्षमा राखेको सरोकारवाको बैठकमा यस्तो चिन्ता जनाए।

तीन सय उद्योग डुबानको जोखिममा

‘वीरगन्ज पथलैया सडकखण्ड देशकै लागि महŒवपूर्ण हो।नेपालको ६० प्रतिशत व्यापार हुने वीरगन्जस्थित तीन नाका साबिक वीरगन्ज भन्सार, आइसिपी र सुक्खा बन्दगाहलाई जोड्ने सडकखण्ड हो यो।नेपालमा सवारी साधन न्यून संख्यामा रहेका बेला सन् १९५९ मा बनेको त्रिभुवन राजपथको संरचनाले अहिलेसम्म धानिँदै आएकामा अब करिब ६० वर्षपछि सडकले मुहार फेर्न लागेको हो,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, ‘यस सकखण्डको सेरोफेरोमा देशका करिब ६ सय ठूला साना उद्योग छन्।यस सडकले वीरगन्जसँगै नेपालको अर्थतन्त्रमा समेत टेवा पु¥याउने आशा गरिएका बेला सडकको बनौटले ल्याएका केही असहजताले स्वभाविक रुपमा निकास खोजिरहेको छ ।’

उनले असहजताका बुँदा औंल्याउँदै डुबानको जोखिमलाई तत्काल सम्बोधन गर्नुपर्ने र केही अरु सुधारका कुरा नीतिगत निर्णय गरेर अगाडि बढाउनु पर्ने बताए।योजनाको पथलैयास्थित कार्यालयले आफ्नो स्तरबाट सम्बोधन हुन नसक्ने विषयलाई सिफारिस गरेर विभागलाई पठाई दिन अध्यक्ष केडियाले आग्रह गरे।
‘६ लेन सडकभित्रको साघुरो रहेको सर्भिस लेनमा प्रवेश गरेर ठूलाठूला कार्गो लैजानु पर्ने छ।मुख्य लेनबाट सर्भिस लेनमा र सर्भिस लेनबाट उद्योगमा त्यता ठूला सवारी पस्ने ठाउँ अपुग छ।त्यसैगरी सडकमा बनाइएको बार (रेलिङ)ले ४० फिटका कन्टेनर बोकेका गाडी, फलाम बोकेका प्लेटफर्म ट्रक पस्न नसक्ने अवस्था छ,’ केडियाले भने, ‘त्यस्तै उद्योगबाट निस्किने पानीलाई समेत सडकसँगै बन्ने नालाले निकास प्रदान गर्ने सुरुमा आपेक्षा गरिएको थियो।परियोजना कार्यान्यवन गरिरहेको कार्यालयले त्यसमा सकारात्मक प्रतिक्रिया जनाएको थियो।दुई नालामध्ये एउटाले सडकको पानी र अर्कोले औद्योगिक पानीको निकास हुनेमा योजना कार्यालयले मौखिक सहमति जनाएको थियो।सडक र नाला बनेर तयार भएपछि त्यसो हुन नसकेको पाइयो ।’

उद्योगको पानीमात्र होइन सो क्षेत्रमा पर्ने आकासे पानीको प्राकृतिक निकास यसले मासेकाले उद्योग र केही बस्तीसमेत डुबानमा पर्ने उनको भनाइ छ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई दुई वर्षभित्र बन्नुपर्ने ६ लेन सडक तीन वर्ष बितिसक्दा पनि ४० प्रतिशत मात्र सम्पन्न भएकाले अझै पाँच वर्ष लाग्नसक्ने देखिएको बताउँछन्।‘एक वर्षभित्र यसको निर्माण पूरा गर्न चौतर्फी सहयोग र पहल आवश्यक छ,’ उनी भन्छन्।सँगसँगै व्यापारिक मार्ग पारवहन र यातायात मात्र नभएर औद्योगिक ढुवानीका लागि पनि भएकाले र औद्योगिक क्षेत्र भएर गएकाले उद्योगी व्यवसायीले उठान गरेका सवाललाई व्यवहारिक रुपमा लिई समाधान गर्नुपर्ने बताए।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सडक निर्माणमा प्रशासनिक स्तरबाट चाहिने सबै सहयोग प्रदान गर्न आफू तयार रहेको बताए।उद्योगी व्यापारीले उठान गरेका समस्या सम्बोधन गर्दै योजना प्रबन्धक संजयकुमार मिश्रले सडक निर्माण अवधि पछाडि धकेलिँदै गएकाले यसलाई चाँडो सम्पन्न गर्न आफूहरु लागिपरेको बताए।सडकसँगै छेउमा बनेका नाला ढलको निकासका रुपमा नभई सडकमा पर्ने पानीलाई निकास दिन बनाइएकाले उद्योगको पानीका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।

त्यसैगरी उद्योगमा ठूला मालवाहक साधन प्रवेश गर्ने गरी ६० फिटसम्मको ठाउँ दिइएको मिश्राले जानकारी दिए।उक्त सडक एसियन स्ट्यान्डरमा निर्माण भइरहेकाले गुणस्तरमा ढुक्क हुन उनले आग्रह गरे।१० टन प्रतिएक्सल भारवहन क्षमता रहे पनि प्रतिएक्सल २० टनसम्म मालसामान ओसारेको पाइएको उनले बताए।सडक विभागको हेटौंडास्थित डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर सुमन योगेशले उद्योगले सडकको नालामा फोहोर वा औद्योगिक पानी फाल्न नपाउने बताए।
वीरगन्जमा आयोजित छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदिप केडियाले सडक विभागले नालाको डिजाइनमा सुधार नगरे खर्ब बढेर लगानी जोखिममा पर्ने बताए।उनले औद्योगिक क्षेत्रका तीन उद्योग डुबानको जोखिम रहेको बताए।पूर्वअध्यक्ष केडियाका अनुसार सिमरातिरको पानी बजनीस्थित लालका पुलनिर झथ्र्यो भने जितपुर–नितनपुरतिरका उद्योगको पानी कियासोती खोला मिसिन्थ्यो।त्यस्तै परवानीपुरदेखि गण्डकसम्मका उद्योगको पानी गण्डक नहरमा आउथ्यो।यो प्राकृतिक बहाव मासिएकामा उनले चिन्ता जनाए।

वरिष्ठ उद्योगी बाबुलाल चचानले पहिलेदेखि कायम रहेको औद्योगिक क्षेत्रलाई जोखिममा नपार्ने गरी समस्या समाधान गर्न सुझाव दिए।संघका पूर्वअध्यक्ष अशोक बैद्यले उद्योगधन्दा देशको मेरुदण्ड भएकाले योजना कार्यान्वयनका दौरान उद्योगका समस्या नजरअन्दाज नगर्न सुझाव दिए।नेपाल उद्योग वाणिज्य महासंघका सदस्यसमेत रहेका उद्योगी अशोक टेमानीले सडकमा देखिएका समस्यामा उद्योगी र सडक विभाग वादी प्रतिवादी जस्तो देखिएकामा त्यसो नभई मिलेर समाधान खोजे निकास निस्किने बताए।उनले ६ लेन सडकअन्तर्गत परवानीपुरदेखि आइसिपीसम्म नाला नै डिजाइनमा नरहेकाले पछि समस्या हुने बताए।युवा उद्यमी आशिष लाठले सडकमा ठाउँठाउँमा बस्ती र मानव हुने भएकाले कि मान्छे हिँड्ने आकासे पुल कि सडक नै माथि लैजाने फ्लाइओभर डिजाइनमा थप्नुपर्ने बताए।६–७ ठाउँमा आकासे पुल बनाउने तयारी भइरहेको सडकका अधिकारीले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App