८ वैशाख २०८१ शनिबार
अर्थ

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

प्रतापपुरका किसान टेकनारायण चौधरी थारु छिट्टै चिनी मिल बन्द हुँदा खेतमै सुकिरहेको उखु बाली देखाउँदै।एक बिघामा उखु लगाएका चौधरीले १५ कट्ठाको उखु मिलमा लगेको एक महिना बित्दासमेत भुक्तानी पाएका छैनन् भने पाँच कट्ठाको उखु खेतमै सुकेको छ। तस्बिर : रेखा/नागरिक

बुटवल - बर्सेनि उधारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानले यसपालि पनि उखुको भुक्तानी समयमै नपाउँदा मर्कामा परेका छन्।चिनी मिल बन्द भएको महिना दिन बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको उखु किसानले बताएका हुन्। यो वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु क्रसिङ भएको छ।करिब एक लाख क्विन्टल उखु खेतमा छदै मिल बन्द गरेर किसानलाई बिचल्लीमा पारेका उद्योगीले क्रसिङ गरेको उखुको भुक्तानीसमेत नदिँदा किसान थप मर्कामा परेका हुन्।

जिल्लाका किसानले यो वर्ष उखुको ६१ करोडभन्दा बढी रकम भुक्तानी पाएका छैनन्।यसअघि ऋण खोजेर घर खर्च चलाएका किसानलाई उखुको भुक्तानी नपाउँदा फेरि ऋण खोज्न कहाँ जाने भन्ने चिन्ता थपिएको छ।चिनी मिललाई १५ कट्ठाको उखु बेचेका  सुस्ता पक्लीहवाका किसान नगेन्द्र कुर्मीले उखुको भुक्तानी नपाउँदा खेतालाको ज्याला र ढुवानी भाडासमेत तिर्न नसकेको बताए।

प्रतापुर–६ का टेकनारायण चौधरीले पनि चिनी मिलले समयमै भुक्तानी नदिँदा चितवनमा एग्रिकल्चर पढ्दै गरेकी छोरीको पढाइ खर्च जुटाउन निकै गाह्रो भएको बताए।नगदे बाली उधारोमा बेच्नुपर्दा बर्सेनि ऋणमा डुब्नु परेको गुनासो चौधरीको छ ।एक बिघामा उखु लगाएका चौधरीको करिब पाँच कट्ठाको उखु भने मिल बन्द हुँदा खेतमै सुकेको छ ।

उखुको भुक्तानी मिलाइदिन गाउँपालिका र जिल्ला प्रशासनमा हारगुहार गर्दा पनि ती निकायले किसानको पक्षमा कुनै कदम नचालेको गुनासो किसानको छ।सरकारले यसपालि उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ तोकेको थियो।जसमध्ये ६५ रुपैयाँ ५० पैसा सरकारी अनुदान हो।चिनी मिलले कृषकलाई प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ भुक्तान गर्नुपर्छ।

सुस्ता गाउँपालिका–२ कुडीयाको बागमती खाँडसारी मिलले किसानको ३३ करोड ४४ लाख भुक्तानी दिएको छैन।उद्योगका प्रमुख कार्यकारी निर्देशक टंकनाथ काफ्लेका अनुसार यो वर्ष उद्योगले सात लाख ११ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो।उत्पादित चिनी बिक्री गर्न नपाएकाले किसानको भुक्तानी गर्न नसकिएको जिएम काफ्लेले बताए।यो उद्योगको गत वर्षकै पनि भुक्तानी बाँकी छ।

अघिल्लो वर्षको करिब २१ लाख भुक्तानी बाँकी रहेको काफ्लेले बताए।केही दिनअघि आएको हावाहुरीले उद्योगको छानो उडाउँदा भुक्तानीमा ढिलाइ भएको उनको भनाइ थियो।‘किसानलाई भुक्तानी दिन राखेको पैसा छानो मर्मतमा खर्चियौं।अब छिटै पुरानो भुक्तानी सुरु गर्नेछौं,’ काफ्ले भने।यो वर्षको भुक्तानी कहिले दिने भन्ने सम्बन्धमा पनि सरसल्लाह भइरहेको उनले बताए।बैंकले चिनी राखेर लोन दिन छाडेकाले चिनी बिक्री नभएसम्म किसानको भुक्तानी दिन समस्या भइरहेको जिएम काफ्लेको भनाइ छ ।

प्रतापुरको इन्दिरा सुगर मिलले पनि किसानको झन्डै १७ करोड रुपैयाँ भुक्तानी दिएको छैन।उद्योगले यो वर्ष तीन लाख ६० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो।जुन उखुको सरकारी मूल्य १६ करोड ९५ लाख ६० हजार हुन्छ।यो उद्योगबाट किसानले अघिल्लो वर्षकै चार करोड ९७ लाखभन्दा बढी भुक्तानी लिन बाँकी छ।भुक्तानी नदिए तालाबन्दी  गर्ने चेतावनी किसानले दिएपछि सोमबारदेखि अघिल्लो वर्षको भुक्तानी सुरु भएको छ।‘अघिल्लो वर्षको भुक्तानी दिदैछौं।त्यो सकेर यो वर्षको सुरु गर्छौं,’ उद्योगका बिक्री प्रमुख दुर्गा चतुर्वेदीले भने।सुनवलको लुम्बिनी चिनी कारखानाले १० करोड ७३ लाख ७८ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ।यो उद्योगले दुई लाख २८ हजार क्विन्टल उखु क्रसिङ गरेको लेखा अधिकृत कुशप्रसाद सुवेदीले बताए।सुवेदीले अघिल्लो वर्षको भुक्तानी बाँकी नरहेको दाबी गरे।उत्पादित चिनी नबेची उखुको भुक्तानी दिन नसकिने पनि उनले बताए।सरकारले उखुको मूल्यको तुलनामा चिनीको मूल्य कम तोकिदिएकाले लागत नउठ्ने तीनवटै उद्योगका अधिकारीको भनाइ छ।

त्यसोत चिनी बिक्री गरेर उखुको भुक्तानी दिने बताए पनि यहाँका उद्योगी किसानको भुक्तानी रोकेर चिनीको मूल्य बढाउने दाउमा देखिन्छन्।अहिले उद्योगमा चिनीको मूल्य ६२ रुपैयाँ प्लस भ्याट तोकिएको छ।तर यहाँका उद्योगीले भने सो मूल्यमा बेच्दा चिनीको लागत मूल्य नउठ्ने भन्दै बिक्री गर्न आनाकानी गरिरहेका छन्।चिनी बिक्री नभएको बहानामा किसानको भुक्तानी रोकेर चिनीको मूल्य बढाउन सरकारलाई दबाब दिने दोहोरो रणनीतिमा उद्योगी लागेको उखु उत्पादक कृषक तदर्थ समिति नवलपरासीले जनाएको छ ।

सरकारले उखुलाई राष्ट्रिय नगदे बालीको रूपमा घोषणा गरेको छ।तर नवलपरासीका किसानका लागि भने उखु नगदे नभइ उधारो बाली बनेको छ।यसले उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ।अघिल्ला वर्षमा करिब २० लाख क्विन्टल उखु उत्पादन भएको नवलपरासीमा यो वर्ष साढे १४ लाख क्विन्टल उखु उत्पादन भएको छ।जसमा १३ लाख क्विन्टल उखु मात्रै क्रसिङ भएको छ।बाँकी उखु किसानका खेतमा सुकेका छन्।सुकेका उखु दाउरा बनाएर किसानले बाल्न बाध्य छन्।केही किसानले जुस पेल्ने व्यवसायीलाई आधा कम मूल्यमा बेचेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App