१६ चैत्र २०८० शुक्रबार
अर्थ

आन्तरिक हवाई उडान ‘योजनामै’ सीमित

पोखरा विमानस्थलमा पार्किङ गरिएका जहाज। यहाँबाट अन्य प्रदेशका मुख्य सहरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने घोषणा प्रदेश सरकारले गरेपनि केही तयारी छैन। फाइल तस्बिरः नागरिक

पोखरा– गण्डकी प्रदेश सरकारले गत मार्चबाट पोखरादेखि अन्य ६ वटा प्रदेशका मुख्य सहरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो। ‘आन्तरिक पर्यटन वर्ष २०१९’ मनाउने क्रममा पाहुनाको आगमन बढाउन पोखरालाई अन्य ६ वटा प्रदेशमा हवाई सेवाले जोड्ने भने पनि अहिलेसम्म त्यसको सुरुवात नै भएको छैन। आन्तरिक गन्तव्य हवाई माध्यमले जोड्ने सरकारी योजना झनै सुस्ताएको छ।

गत मार्चदेखि नै पोखरा र अन्य प्रदेशका मुख्य सहरसम्म हवाई सञ्जाल विस्तार गर्ने कार्ययोजना प्रदेश सरकारले बनाए पनि अहिलेसम्म तयारी छैन। प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले बारम्बार पोखरालाई अन्य सहरसँग सिधा हवाई उडानले जोड्ने बताउँदै आए पनि हवाई कम्पनीले भने त्यसको पहल नै नभएको बताएका छन्। पर्यटन व्यवसायीले पनि प्रदेश सरकारले तदारुकता नदेखाउँदा प्रदेश सरकारको योजना गफमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन्।

पोखरालाई अन्य सहरसम्म हवाई सञ्जालले जोड्दा आन्तरिक पर्यटक आगमन बढ्ने मन्त्रालयको ठहर थियो। तर, आन्तरिक पर्यटक भ्रमण वर्ष घोषणा गरेको आधा वर्ष बितिसक्दा पनि उडान सुरु हुने दिन निश्चित भएको छैन। उडान सञ्चालनका लागि उचित प्रक्रियालाई पनि तदारुकता देखाइएको छैन। यती एयरलाइन्सका प्रवक्ता भीम राइले अहिलेसम्म गण्डकी प्रदेश सरकारले पोखराबाट अन्य प्रदेशका मुख्य सहरसम्म हवाई उडान गर्ने भनेर आधिकारिक रुपमा छलफल नगरेको बताए। आधिकारिक रुपमा प्रदेश सरकारले जानकारी नदिए पनि अनौपचारिक जानकारी भने पाएको उनले बताए।

‘प्रदेश सरकारले उचित पहल गर्ने हो भने पोखरालाई अन्य प्रमुख सहरसँग हवाइ सञ्जालले जोड्न सकिन्छ। त्यसले पर्यटक आउजाउ पनि सहज बनाउँछ,’ राइले भने, ‘तर सक्रियता चाहिन्छ। अहिले नेपालगञ्ज, बिराटनगर, सिमराबाट पोखरा जानुपर्दा पर्यटकलाई काठमाडौं हुँदै जान दोहोरो खर्च भएको छ। सिधा उडानले सहज हुन्छ।’ पोखरालाई पूर्व र पश्चिमका मुख्य सहरसम्म हवाई उडानले जोड्ने हो भने भारतीय पर्यटकको आगमन पोखरामा बढ्ने राइले बताए। यती एयरलाइन्स आफैले पनि पोखरालाई केही आन्तरिक सहरलाई जोड्ने गरी उडान तयारी पनि गरिरहेको उनले जानकारी दिए। ‘भारतीय पाहुना लक्षित गरेर उडान गर्ने हो भने कुनै पनि गन्तव्यमा राम्रो गर्न सकिने सम्भावना छ,’ उनले भने, ‘सिधा हवाई उडान नभएकै कारण पनि धेरै पर्यटक अहिले पोखरा पुग्न सकेका छैनन्।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पोखरा प्रमुख भोलाप्रसाद गुरागाँइले पनि निजी कम्पनी उडान गर्न तयार हुने हो भने आन्तरिक उडानका लागि कुनै पनि कठिनाइ नरहेको बताए। प्रदेश सरकारले प्रधिकरणसँग पोखरालाई अन्य प्रदेशका सहरसम्म सिधा हवाई उडानले जोड्नेबारे छलफल चलाएको पनि उनले बताए। ‘प्राधिकरण मध्यस्थता गर्न तयार छ। यसमा निजी हवाई कम्पनीलाई मनाउन प्रदेश सरकारले सक्रियता देखाउनुपर्छ,’ उनले भने, ‘किनकी निजी कम्पनीसँग मात्र पर्याप्त हवाईजहाज छन्। निजी कम्पनी बिना आन्तरिक गन्तव्यसम्मको उडान सम्भव हुँदैन।’ आन्तरिक उडान सञ्चालन गर्नलाई हवाई रुटको कुनै पनि समस्या नभएको उनले बताए। पोखराबाट भद्रपुर, बिराटनगर, सिमरा, नेपालगञ्जसम्म सिधा उडान गर्ने हो भने पर्यटकको चहलपहल बढने उनले बताए।

मन्त्रालयका पदाधिकारी अब वर्षायाम सुरु भएकोले अझै तीन महिना उडान सुरु गर्न नसकिने बताउँछन्। असोजपछि मात्र पोखरालाई अरु प्रदेशका मुख्य सहरसम्म जोड्न सकिने गरी उडान सञ्चालनको पहल भइरहेको मन्त्रालयका पदाधिकारी बताउँछन्। मन्त्रालयको पर्यटन महाशाखाका प्रमुख कीर्तनराज पौडेलले यसअघि पहल भए पनि तयारी कम हुँदा सुरु गर्न नसकिएको बताए। ‘यसअघि कार्ययोजना बनाएर हामीले उडान थाल्ने योजना पनि बनाएका हौ। तर, त्यसमा पर्याप्त तयारी हुन सकेन,’ पौडेलले भने, ‘अब वर्षायाम लागेकाले पनि यो बेला उडान सञ्चालन गर्दा त्यति सहज नहुन सक्छ।’

वर्षायाम सकेर असोज लागेपछि बल्ल उडान सञ्चालनको पहल हुने उनले बताए। ‘असोज पछिका केही महिना हामीले आन्तरिक पर्यटक लक्षित गतिविधि पनि गर्ने तयारी गरेका छौं। त्यही बेला पारेर आन्तरिक गन्तव्य जोड्ने गरी हवाई उडान थाल्ने योजना छ,’ पौडेलले भने। प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा १५ लाख आन्तरिक पाहुना भिœयाउने लक्ष्यसहित आन्तरिक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो।

पर्यटन व्यवसायीले पनि अहिलेसम्म प्रदेश सरकारले व्यावसायिक रुपमा विभिन्न गन्तव्यसम्म उडान सञ्चालनका लागि छलफल नगरेको बताएका छन्। पोखरा पर्यटन परिषद (पिटिसी)का महासचिव दील गौतमले अहिलेसम्म आन्तरिक उडानबारे छलफल नै नभएको बताए। ‘व्यवसायीको सहयोग बिना कुनै पनि गन्तव्यसम्मको उडान सञ्चालन हुनै सक्दैन,’ गौतमले भने, ‘प्रदेश सरकारले विभिन्न गन्तव्यलाई पोखरासँग जोड्नेगरी उडान सञ्चालन गर्ने घोषणा गरे पनि छलफल पर्याप्त रुपमा गरेको छैन। घोषणामा मात्र सीमित राखेको छ। यस्तो शैलीले सरकारी लक्ष्य पूरा हुँदैन।’

पोखरालाई बिराटनगर, सिमरा, नेपालगञ्ज, भैरहवा, सिमरासम्म हवाई उडानले जोड्ने हो भने आन्तरिक पर्यटक मात्र नभई ती नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पनि सहज हुने उनले बताए। सिधा हवाई उडान नहुँदा अहिले भारतीय पर्यटक ठूला सवारी रिजर्भ गरेर पोखरा आउने गरेको उनले बताए। अहिले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर र भैरहवासम्म नियमित उडान भइरहेको छ। पोखरालाई आधार बनाएर अहिले बुद्ध, यती, सिम्रिक, समिट, तारा र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App