६ वैशाख २०८१ बिहीबार
अर्थ

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बुटवल— बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख तारानाथ अधिकारीले छानबिनका लागि सम्बन्धित निकायबाट घटनाको विवरण र कागजात झिकाइएको बताए। राजश्व अनुसन्धानको छानबिन प्रतिवेदनलाई समेत अख्तियारले सुक्ष्म अध्ययन अनुसन्धान गर्ने अधिकारीले बताएका छन्। ‘अनुसन्धानमा कुनै त्रुटी भेटियो गल्ती ढाकछोप गर्ने प्रयास भयो भने त्यसमा संलग्नलाई समेत भ्रष्टाचारको मुद्दा लाग्नेछ’, अधिकारीले भने। 

गत जेठ ६ गते भन्सार छलेर नेपाल भित्रिएको जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालबाहक कन्टेनर भन्सारदेखि करिब एक किलोमिटर भैरहवा तर्फ आएपछि नेपाल प्रहरीको नजरमा परेको थियो। भन्सारको मुल गेट र यात्रु प्रवेश गेटमा खटिएका कर्मचारी र राजश्व गस्तीले कन्टेनरलाई नदेखे जस्तो गरी पास हुन दिएकोबारे प्रहरीले विशेष सुराकी पाएको थियो। प्रहरीले नियन्त्रणमा लिएको कन्टेनर राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाएको छ। घटनाका सम्बन्धमा राजश्व अनुसन्धानले छानबिन भइरहेको जनाएको छ। कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले ४५ दिने अनुसन्धान अवधी भित्रै यथार्थ बाहिर आउने बताए। 

तस्करीको सामान नेपाल ओभरसिज मार्केटिङ प्रालि खिचापोखरी काठमाडौंको नाममा रहेको भन्सारले जनाएको छ। यसअघि यो कम्पनीको मालसामान एजेन्टका रुपमा भैरहवाका बोधराज पोख्रेलले छुटाउँदै आएका थिए। तर यो सामानमा उनको दायित्व कही कतैबाट पुष्टि हुन नसकेको दावी भन्सार अधिकृत कलिराम पौडेललको छ। पोख्रेलसंग एजेन्टको लाइसेन्स भने नभएको बताइएको छ। ठुला व्यापारी, चल्तापुर्जा एजेन्ट र भन्सारका कर्मचारी जोडिएकाले यो घटनामा चालकलाई दोषी देखाएर सामान्य जरिवानामै मुद्दा मिलाउन खोजिएको स्रोतको दावी छ। भन्सारका उपल्लो तहका कर्मचारीको मिलेमतो बिना साना कर्मचारी र गस्तीमा खटिने जवानले मालबाहक कन्टेनर भन्सार भित्रै नपसाली पास गराउन सम्भव नभएको भैरहवाकै केही भन्सार एजेन्टहरु बताउछन्। अख्तियार स्रोतले पनि मालबाहक कन्टेनर भन्सार भित्रै नपसी मुल सडकबाटै पास हुनुलाई चालकको लापरबाही मात्रै भन्न सक्ने स्थिती नदेखिएकाले छानबिन थालेको बताएको छ।

प्रकाशित: २८ जेष्ठ २०७६ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App