१६ चैत्र २०८० शुक्रबार
अर्थ

खोटाङका ६ वटा पुल निर्माणका लागि बजेट

संघीय सरकारको प्राथमिकतामा परेका योजनाका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै प्रतिनिधिसभाका सांसद बिशाल भट्टराई । तस्बिरः दमन/नागरिक

खोटाङ– सरकारले जिल्लामा ६ वटा सडक पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको कुनइ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाट ख्रोप्पास्थित सुनकोसी पुल, ओखलढुंगाको तलुवा र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले जोड्ने मुलघाट तथा उदयपुरको चौडन्दी नगरपालिकाको छुईला र खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने बंशिलाघाट मोटरेवल पुलका लागि डेढ–डेढ करोड बजेट विनियोजन भएको प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले जानकारी दिए।

संघीय सरकारबाट खोटाङका लागि बिनियोजित विकास योजनाका सम्वन्धमा आइतबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभाका सांसद भट्टराईले दिप्सुङ र बाक्सिला जोड्ने पुल, बाम्राङ र बुइपा जोड्ने दिखुवा खोला पुल तथा चिसापानी र खोटाङ बजार जोड्ने सावाखोला पुलका लागि बजेट विनियोजन भएको जानकारी दिए।

स्थानीय खोलामा निर्माण गरिने यी तीन पुलका लागि स्थानीय पुर्वाधार विभाग (डोली)ले अनुदान उपलव्ध गराउने जनाइएको छ। तर, यसका लागि बजेट भने एकमुष्टमा छुट्टिएको बताइएको छ। पुल, सडक, खानेपानी, सिँचाई, पर्यटन, कृषि तथा पशु लगायतका विकासे योजनामा जिल्लाका लागि संघीय सरकारबाट करिब साँढे ८ अर्व रकम विनियोजन भएको भट्टराईले जानकारी दिए।

‘पुँजीगत खर्च आठ खर्बको दुई प्रतिशत रकम खोटाङलाई विनियोजन भएको छ’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने ‘यो वजेटलाई सही तरिकाले उपयोग गर्ने हो भने जिल्लाले भौतिक विकासमा राम्रो उपलव्धी प्राप्त गर्ने छ।’

पत्रकार सम्मेलनमा सडकतर्फ सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जोड्ने सगरमाथा स्वर्ण चक्रपथ, अर्खौले–सल्ले–महादेवबेँसी सडक, दिक्तेल–खोटाङ बजार सडक, दिक्तेल–रेग्मीटार सडक, धाप्लाङ–ऐसेलुखर्क सडक तथा पामाखामभञ्ज्याङदेखि खोटाङबजार सडक निर्माणका लागि पनि बजेट विनियोजन भएको जानकारी दिइएको छ।

पर्यटनतर्फ हलेसी महादेव विकास समितिसँगको साझेदारीमा पुर्वाधार विकासका लागि ८० लाख, बराहपोखरीको पुर्वाधार विकासका लागि ५० लाख, ऐसेलुखर्कदेखि धर्माडाँडा घ्याङखर्क सगरमाथा मकालु बेस क्याम्प पदमार्ग निर्माणका लागि २५ लाख, धिप्लुङ झरनाको पर्यटन पुर्वाधार विकासका लागि २० लाख, केपीलासगढीको बहानेपोखरीका लागि २० लाख, सेल्मे कपासे पर्यटन पुर्वाधारका लागि २० लाख, जालपा सर्स भुमेस्थानका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको चिचिङ्गास्थित किराती संस्कृति प्रवद्र्धनका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिकाकै सल्लेस्थित भीमसेन स्थानका लागि १५ लाख बजेट विनियोजन भएको छ।

खानेपानीतर्फ २५ वटा, सिँचाईतर्फ ४५ वटा, कृषि तथा पशुतर्फ ९६ वटा योजनाका लागि बजेट विनियोजन भएको प्रकाशित रेडबुकमा उल्लेख छ। पत्रकार सम्मेलनमा नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ जेष्ठ २०७६ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App