coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआरएनएको फेमिली कार्ड सुरु

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली सुरु गरिएको छ । संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी कार्डको सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले प्राप्त गर्न सक्ने बताइएको छ । विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जनाएको छ ।

संघले सदस्यलाई सदस्यताबापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानसँग सहमति गरी ती प्रतिष्ठानले आपूर्ति गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । यस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्डधारीलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।
कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, एअरलाइन्स, ट्राभल, टुर एन्डटिकट एजेन्सी, सूचना तथा सञ्चारसम्बन्धी क्षेत्र, बैंकिङ क्षेत्र, बिमा, फिटनेस सेन्टरलगायत उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद दुई वर्षको हुनेछ । त्यसपछि कार्ड पुनः नवीकरण गराउनुपर्नेछ ।
यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्ने बताइएको छ । संघले आफ्ना सदस्यहरुको क्युआर कोड  सहितको कार्ड बनाउने प्रक्रिया सुरु गरिसकेको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्था सुरु गरिएको बताए । गैरआवासीय नेपालीको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन् भनेर कार्डको व्यवस्था गरिएको उनको भनाइ थियो ।
संघकी उपाध्यक्ष सपिला राजभण्डारीले लामो समयदेखिको प्रयासले सफलता पाएको बताइन् । आगामीअक्टोबरसम्म कम्तीमा सात सय विभिन्न स्वास्थ्य, शिक्षा, बैंकिङ, बिमालगायत क्षेत्रका प्रतिष्ठानसँग सहमति गरी कार्डमार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा संघका अध्यक्ष भट्ट, उपाध्यक्ष राजभण्डारी, मकाउबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक प्रमोद ढकाललगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App