१५ चैत्र २०८० बिहीबार
अर्थ

हजारौं युवा मारमा

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ। रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाम, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन्।

मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन्। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मन्त्रालयले गत कात्तिक १२ मा मलेसियासँग श्रम समझदारी (एमओयू) गरे पनि कामदार पठाउन सुचारु नगरिँदा र व्यवसायीको पेसागत सुरक्षाका लागि उडान बन्द गर्न बाध्य भएको बताए।

व्यवसायीले यसअघि नै बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गरिएका कारण उडान बन्द गर्नु परेको र ती माग चाँडै पूरा नगरे सशक्त विरोधका कार्यक्रम अघि बढाइने बताए। हाल संघले एक सातालाई वैदेशिक रोजगारीको काम ठप्प पारेको हो। म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको असर हवाई, पर्यटन लगायतका उद्योगमा परेको छ। सोमबार यात्रु नपाएर एअर अरेबियाको शारजाह र फ्लाई दुबईको पूर्व निर्धारित दुबई उडान स्थगित भएका छन्।  

व्यवसायीले जेठ १७ देखि विदेश जाने कामदारको टिकट काट्न छाडेका छन्। ट्राभल व्यवसायीका अनुसार फ्लाई दुबई, कतार एअरवेज, नेपाल एअरलाइन्स लगायत विमानमा यात्रुको चाप घटेको छ। काठमाडौंबाट मध्यपूर्वका देशमा उड्ने जहाजमा ६५ प्रतिशत यात्रु वैदेशिक रोजगारीमा जाने हुन्छन्। व्यवसायीले आफ्नो मागपत्र प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यसअघि नै बुझाइसकेका छन्। मलेसिया रोजगारी सुचारु गर्नुपर्ने बाहेक सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीका माग छन्। वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन।

मलेसियासँग श्रम समझदारी पनि भइसकेको अवस्थामा सरकारले कामदार पठाउन चासो नदिँदा समस्या भएको गुरुङले बताए। कामदारको मागपत्र ल्याउँदा विदेशस्थित नेपाली दूतावासका कर्मचारीले अनेक बहानामा दुःख दिने, अनुचित लाभ लिने गरेको व्यवसायीको गुनासो रहने गरेको छ। एमओयू गरेपछि पनि मन्त्रालयले मलेसिया रोजगारी सुचारु गर्न सकेको छैन। एमओयूमा मलेसिया जाने कामदारको सम्पूर्ण लागत खर्च मलेसियन रोजगारदाताले बेहोर्ने दुई देशबीच सहमति गरिएको छ। सम्पूर्ण खर्च मलेसियन रोजगारदाताले बेहोर्ने सहमति भइसक्दा पनि मलेसिया रोजगारी बन्द भइरहेपछि बेरोजगार युवाले विरोध गरिरहेका छन्। संघका अध्यक्ष गुरुङ मलेसिया रोजगारी बन्द गर्नुको कुनै कारण नभएको बताउँछन्।

जेठ १५ मा कतार सरकारले कामदारको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया लगायत काम एकै स्थानबाट गर्न काठमाडौंमा भिसा सेन्टर खोलिसकेकाले पनि मलेसियाको सोही कामलाई रोक्नुपर्ने कुनै कारण नदेखिने व्यवसायीको भनाइ छ। श्रम स्वीकृति लिएको संख्याको आधारमा मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य हो। हालसम्म ११ लाख हाराहारी युवा श्रम स्वीकृति लिएर मलेसिया गएका छन्। तीमध्ये पाँच लाख जति मलेसियामै रहेको अनुमान छ। मलेसिया रोजगारी बन्द भएपछि बेरोजगार युवा रोजगारीका लागि समस्याग्रीत गन्तव्यमा जान बाध्य भइरहेको म्यानपावर व्यवसायी बताउँछन्। पछिल्लो १० महिनामा (साउन–वैशाख) नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ५४ हजार छ। 

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App