८ वैशाख २०८१ शनिबार
अर्थ

सिमेन्ट उत्पादन बढ्यो, खपत बढेन

काठमाडौं - मुलुकमा पूर्वाधार निर्माणले गति लिए खपत बढ्ने आसमा धमाधम नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आए पनि अपेक्षित रुपमा खपत नबढ्दा उद्योगी निराश बनेका छन्। बजारमा माग नबढेपछि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। नेपाल सिमेन्ट उत्पादक संघका महासचिव ताराप्रसाद पोखरेलका अनुसार अहिले सिमेन्ट उद्योगले आफ्नो क्षमताको ८० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्। ‘हरेक वर्ष १० प्रतिशत खपत बढ्ने अपेक्षा गरे पनि यो वर्ष बढेन,’ पोखरेलले भने, ‘खपत नबढेपछि उद्योगले आफ्नो क्षमताको ७५–८० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्।’

सिमेन्ट बनाउने ग्रान्डिङ उद्योगको क्षमता एक करोड ३० लाख टन पुगेको छ। खपत बढ्न नसकेपछि उद्योगी चिन्तित छन्। संघका अनुसार मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हुन्छ। हरेक वर्ष १० प्रतिशत खपत बढ्ने अपेक्षा गरिए अनुसार यो वर्ष करिब ९९ लाख टन सिमेन्ट खपत हुने अपेक्षा गरिएको थियो। ठूला पूर्वाधार परियोजनाको अभाव र सरकारले विकास खर्च गर्न नसक्दा सिमेन्टको खपत बढ्न नसकेको हो। ‘उत्पादन बढिरहेको छ,’ पोखरेलले भने, ‘बजारमा माग बढ्न सकेन।’

सिमेन्टको बजार एक सय ५० अर्ब रुपैयाँको पुगेको छ  पछिल्लो समय सिमेन्ट उद्योगमा धमाधम लगानी बढिरहेको छ। पुरानाले क्षमता बढाइरहेका छन् भने नयाँ थपिने क्रम जारी छ। उद्योग विभागका अनुसार अहिलेसम्म एक सय १३ वटा सिमेन्ट उद्योग सञ्चालनको अनुमति जारी भएको छ। तीमध्ये ५६ वटाले उत्पादन गरिरहेका छन्। केही नयाँ उद्योग तत्काल उत्पादन गर्ने तयारीमा छन्। ५४ वटा उद्योग निजी क्षेत्रले सञ्चालन गरेका छन्। सिमेन्ट उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी पुगेको छ। दैनिक उपभोग्य वस्तु विदेशबाट आयात भइरहेको बेला मुलुक सिमेन्टमा आत्मनिर्भर भएको छ। सिमेन्ट उत्पादनले फड्को मारेको उद्योगी, व्यवसायी बताउँछन्।  निजी क्षेत्रको लगानीमा मुलुक सिमेन्टमा आत्मनिर्भर भएको हो।

यहाँ ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुन्छ। केही वर्षअघिसम्म आयात हुने क्लिंकर पछिल्लो समय सिमेन्ट उद्योग आफैंले उत्पादन गरिरहेका छन्। स्वदेशमै उत्पादन भएपछि अर्बौं रुपैयाँ बिदेसिनबाट रोकिएको छ। यसले व्यापार घाटा कम गर्न सघाउ पुगेको छ। सिमेन्ट खपत बढ्ने अपेक्षामा बैंक तथा वित्तीय संस्थाको ऋणमा निजी क्षेत्रले लगानी बढाएको हो। सिमेन्ट उद्योगमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा नेपालमै पाइने र स्वदेशमै सिमेन्टको पर्याप्त बजार विस्तार हुने आसले उद्योगीले लगानी बढाएका हुन्।

सिमेन्टमा मात्र नभएर उद्योगमा प्रगोग हुने क्लिंकरमा पनि मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। विदेशबाट क्लिंकर आयात गरेर ग्रान्डिङ गर्दै आएका उद्योगले अहिले धमाधम आफैं क्लिंकर उत्पादन गरिरहेका छन्। अहिले  ग्रान्डिङ र क्लिंकर उत्पादन गर्ने दुई प्रकारका उद्योग छन्।  आफ्नै क्लिंकर उत्पादन गरेर ग्रान्डिङ गर्ने उद्योगको संख्या १८ छ। आगामी आर्थिक वर्षबाट क्लिंकर आयात गर्नु नपर्ने संघले जनाएको छ। आर्थिक वर्ष ०७६÷७७ को अन्त्यसम्म क्लिंकरको उत्पादन क्षमता १४.५ मिलियन टन पुग्ने संघले जनाएको छ। यहाँ चुनढुंगा खानी भएकाले उद्योगीले क्लिंकर उत्पादन बढाइरहेका छन्।  

प्रतिस्पर्धा बढेसँगै उद्योगले गुणस्तरमा पनि ध्यान दिएका छन्। यहाँका उद्योगले गुणस्तर चिह्न लिएर सिमेन्ट उत्पादन गरिरहेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘नेपाली सिमेन्ट उद्योगले गुणस्तरीय उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘कच्चा पदार्थमा प्रयोग हुने नेपालको चुनढुंगा राम्रो छ।’

कोइला आयातमा झन्झट
निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योगले फड्को मारे पनि उद्योगमा प्रयोग हुने कोइला आयातमा झन्झट रहेको उद्योगीको गुनासो छ। तेस्रो मुलुकबाट किनेको अर्बौं रुपैयाँको कोइला भारतको कोलकत्ता बन्दरगाहमा डम्प हुने गरेको छ। तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट आयात गर्न नपाउँदा नेपाली सिमेन्ट उद्योगीको अर्बौं रुपैयाँ लगानी डम्प भएको व्यवसायी बताउँछन्। सिमेन्ट उद्योगमा क्लिंकर उत्पादनमा प्रयोग हुने कोइला ढुवानीका लागि रेलको ¥याक नपाउँदा करिब ६ महिनासम्म बन्दरगाहमा अड्किने गरेको उद्योगी बताउँछन्।

नेपाली उद्योगीले दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत मुलुकबाट कोइला आयात गर्छन्। संघका अनुसार करिब चार अर्ब रुपैयाँ मूल्यको कोइला कोलकातामा सधैं अड्किने गरेको छ। कोलकाताबाट रक्सौलसम्म रेलबाट ल्याउने भएकाले समयमा ढुवानी गर्न नपाउँदा त्यहाँ राखेबापत उद्योगीले विभिन्न शीर्षकमा रकम तिर्नुपर्छ। क्लिंकर उत्पादन क्षमताको करिब १५ देखि २० प्रतिशत कोइला प्रयोग हुन्छ। यहाँ सञ्चालित १८ उद्योगले क्लिंकर उत्पादन गर्दै आएका छन्।

भारतबाटै कोइला खरिद गर्न सकिने व्यवस्था मिलाए सिमेन्ट उद्योगलाई ठूलो राहत हुने उद्योगी बताउँछन्। ‘भारतबाट कोइला खरिदको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छौं,’ महासचिव पोखरेलले भने, ‘यसले लागतसमेत घटाउँछ।’

भारतका व्यापारी नेपाली सिमेन्ट उद्योगलाई कोइला बेच्न तत्पर रहेकाले सरकारले अनुमति दिनुपर्ने उद्योगीको माग छ। भारतबाट खरिद गर्न पाए लिन उत्पादन लागत घट्ने उद्योगी बताउँछन्। रक्सौलमात्र नभएर विराटनगरको जोगवनी, भैरहवाको सुनौली, नेपालगन्जको रुपैडिहा नाकाबाट पनि ल्याउने वातावरण मिलाउन उद्योगीले आग्रह गरेका छन्। अहिले रुपन्देहीका उद्योगीले वीरगन्जबाट ट्रकबाट ढुवानी गरेर ल्याउँदा लागत बढेको छ।

 

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App