१६ चैत्र २०८० शुक्रबार
अर्थ

पर्वतारोहणबाट ५५ करोडमाथि राजस्व

मिनराज भण्डारी
काठमाडौं - चालु आव ०७५/७६ को जेठ ११ सम्ममा सगरमाथासहित अन्य ३२ हिमाल आरोहणबाट ५५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । विदेशी आरोहीको संख्या उत्साहजनक रुपमा बढेकाले यो वर्ष पोहोरको तुलनामा झण्डै १९ प्रतिशतले पर्वतारोहण राजस्व बढेको बढेको पर्यटन विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार सरकारले चार सय १४ हिमाल आरोहणका लागि अनुमति दिएको छ । शनिबारसम्म ३२ हिमालबाट सो रकम संकलन भएको हो । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यस आर्थिक वर्षमा सगरमाथा लगायत ३२ हिमाल आरोहणका लागि एक सय १५ समूहले अनुमति लिएका छन् । तिनमा आठ सय ८९ स्वदेशी तथा विदेशी आरोही छन् ।

६ हजार मिटरभन्दा माथिका हिमाल आरोहणबाट यो सिजनमा सरकारले ५५ करोड ४९ लाख ९८ हजार नौ सय २७ रुपैयाँ राजस्व संकलन गरेको विभागले बताएको छ । यो वृद्धिदर अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतभन्दा धेरै हो । गत आव ०७४÷७५ मा पर्वतारोहण क्षेत्रबाट ४६ करोड ५८ लाख ३५ हजार नौ सय ५० रुपैयाँ राजस्व उठेको विभागले जानकारी जनाएको छ ।

 सूचना अधिकारी थापाका अनुसार पर्वतारोहणको सिजन सकिन अझै केही समय बाँकी रहेकाले राजस्व रकम अझै बढ्न सक्छ । नेपाली हिमालप्रति विदेशी र स्वदेशी पर्यटकको आकर्षण र आगमन निरन्तर रहिरहे यसमा राम्रै सफलता मिल्ने उनको भनाइ छ ।

हिमाल चढ्नेको ओइरो  
यो वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या निकै बढेको छ । स्वदेशी तथा विदेशी गरी यस आर्थिक वर्षमा ६ सय हाराहारीले सगरमाथा आरोहण गरिसकेकोे विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । ‘पछिल्लो समय सगरमाथा चढ्ने विदेशी मात्र नभएर स्वदेशी आरोहीको संख्यासमेत बढेको छ । यसले पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग त मिलेको छ नै मुलुकलाई राजस्व पनि राम्रै प्राप्त भएको छ,’ आचार्यले भनिन् ।

 विभागले जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा तीन सय ८१ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् । तीमध्ये ३७ समूहका तीन सय ७६ विदेशी र सात समूहका १४ नेपालीले आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ ।
निर्देशक आचार्यका अनुसार पोहोरभन्दा यो वर्ष आरोही पर्यटकको संख्या र मौसममा भएको सुधारले राजस्व बढाउन मद्दत गरेको हो । अहिलेसम्म आरोही, गाइड, शेर्पा, हाई अल्टिच्युड वर्कर गरेरे झण्डै ६ सयले सगरमाथा चढिसकेको उनले जानकारी गराइन् ।

‘वास्तविक तथ्यांक आउन अझै केही समय लाग्ने भएकाले जेठको अन्त्यसम्ममा पूर्ण तथ्यांक सार्वजनिक हुन सक्छ,’ उनले भनिन्, ‘अहिले आरोहीको संख्या बढेका कारण राजस्व संकलनमा पनि प्रगति देखिएको हो ।’ अन्तर्राष्ट्रिय जगतमा नेपाली हिमाल सुरक्षित छन् भन्ने सन्देश प्रवाह भएका कारण आरोहीको संख्या बढेको आचार्यको भनाइ छ । आरोहण अनुमति जारी गरेकोे ७५ दिनसम्म आरोहण सीमा भएकोले पनि अझै आरोहीको संख्या बढ्न सक्ने पनि उनको भनाइ छ । ८८४८ मिटर अग्लो सगरमाथापछि दोस्रो (८५१६ मिटर) उचाइमा रहेको लोत्से हिमालप्रति पनि आरोहीको निकै आकर्षण देखिन्छ । यो वर्ष लोत्से हिमाल आरोहणको लागि १२ समूहका ९८ जनाले आरोहण अनुमति लिएका छन् । यसबाट एक करोड ९३ लाख ५९ हजार आठ सय ५५ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, तेस्रो अग्लो मकालु हिमालबाट एक करोड ५३ लाख आठ हजार सात सय ३० रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । मकालु हिमाल आरोहणको लागि चार समूहका ५३ जनाले अनुमति लिएका छन् । ६ हजार मिटरमाथिका कञ्चनजंगा, अन्नपूर्ण, लाङटाङ, मनास्लु, मकालु, पासाङ ल्हामु लगायत ३० भन्दा बढी हिमालको समेत आरोहण भइरहेको छ । यी हिमालले समेत राजस्वमा महŒवपूर्ण योगदान रहेको विभागले जनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App