coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भुक्तानी नपाउँदा मर्नु न बाँच्नु भइयो

सर्लाही - जिल्लाको दक्षिणी भारतीय सीमावर्ती बाराउद्योरण गाउँका सुशिल सिंह तीन वर्षअघिको उखुको भुक्तानी नपाउँदा आजित भएका छन्। पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिजबाट उनले दुई वर्षअघिदेखिको ११ लाखभन्दा बढी भुक्तानी पाएका छैनन्।

त्यस्तै उनले यसै वर्षदेखि बगदहमा सञ्चालनमा आएको महालक्ष्मी सुगर मिललाई दुई हजार क्विन्टलभन्दा बढी उखु बेचे। अन्नपूर्णमा तीन वर्षअघिदेखिको ११ लाख नपाएर छट्पटिएका सिंह यसै वर्ष महालक्ष्मीलाई बेचेको उखुको करिब ११ लाख नपाउँदा मर्नु न बाँच्नुको अवस्थामा छन्। सिंहको दुई वर्ष छुट्टाछुट्टै उद्योगमा बेचेको उखुको २१ लाखभन्दा बढी रकम डुबेको छ।

‘ब्याजमा ऋण लिएर उखुखेती गरियो, फेरि ऋण खोजेरै कटानी र ढुवानीबापत मजदुरलाई तिरियो,’ सिंहले भने, ‘तर तीन वर्ष अघिदेखिको भुक्तानी अहिलेसम्म नपाउँदा ऋणले टाट पल्टिने अवस्थामा पुगेको छु।’ ऋण तिर्न जमिन बेच्न खोज्दा पनि बिक्री नभएको सिंहले गुनासो गरे। 

ऋणमा चुलुम्म डुबेपछि साहुले पटक–पटक घर घेर्ने गरेको सिंहले दुखेशो पोखे। ‘गत वर्ष एसइई पास गरेको छोरालाई भारतको बैंग्लोरस्थित कलेजमा ऋण काडेर भर्ना गराएँ,’ उनल भने, ‘साहुलाई उखुको पैसा आउँछ र दिन्छु भनेको थिएँ, तर तीन वर्षदेखि उखुको पैसा नआउँदा घर व्यबहार चौपट भइसक्यो।’ नगदे बाली उधारोमा दिँदा चुर्लुम्म ऋणमा डुबेको र ब्याज तिर्ने हैसियतसमेत नभएको सिंहले गुनासो गरे।

‘साहुसँग लिएको ऋण र निरन्तर बढिरहेको ब्याज तिर्न जमिन बेच्नुको विकल्प छैन, जमिन पनि भन्ने बित्तिकै बिक्री भइरहेको छैन,’ निरास हुँदै सिंहले भने, ‘अब उखु खेती नगर्ने सोच बनाएको छु, यसै वर्ष दुई बिघामा उखु मासेर धानखेती गर्ने हो, पैसै नपाउनुभन्दा धानबाट आउने थोरै आम्दानीमै चित्त बुझाउनु राम्रो हुन्छ।’ सरकारले प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोके पनि यस वर्ष महालक्ष्मीले ३० देखि ४५ दिनभित्र प्रतिक्विन्टल पाँच सय रुपैयाँ मात्र दिने बताएपछि सोही अनुसार उखु दिएको तर उद्योगले प्रतिबद्धता गरेको समयभित्र भुक्तानी नगर्दा आफूजस्ता किसान पीडामा परेको उनले बताए।

सिंह त प्रतिनिधि पात्र हुन्। चिनी उद्योगमा उखु दिएका हजारौं किसान समयमै भुक्तानी नपाएर छट्पटिइरहेका छन्। हरकठवाका दिनेश महतो पनि उखुको पैसा नपाउँदा घर व्यवहार नै चौपट हुने अवस्थामा पुगेको गुनासो गर्छन्। ‘पोहोरकै २० हजार बाँकी छ, यस वर्षको चार लाखभन्दा बढीको उखु उद्योगलाई दिएको थिएँ,’ अन्नपूर्ण छेउ घर भएका महतोले भने, ‘३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने भनेर उद्योगलाई उखु दिएँ, तर वर्षौंसम्म पनि भुक्तानी नपाउँदा हामी किसानको हरिविजोग भएको छ।’

पैसा माग्न चिनी उद्योगमा धाउँदाधाउँदा आजित भएको सिंह र महतोको गुनासो छ। ‘उद्योग महिना दिनअघि बन्द भइसक्यो, पैसा माग्न जाँदा एक–दुई जना भेटिन्छन्,’ महतोले भने, ‘तर उनीहरुले पैसा दिन त परै जाओस् केही कुरै गर्न चाहँदैनन्।’

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली उद्योगीले किसानलाई समयमै भुक्तानी नदिँदा ऋणमा चुर्लुम्मै डुबेको बताए। ‘उद्योगपतिको छलछाम र ठग प्रवृत्तिले किसान ऋणमा चुर्लुम्मै डुबेका छन्,’ अध्यक्ष मैनालीले भने, ‘समयमै भुक्तानी नपाउँदा साहुसँग लिएको ऋणको ब्याज तिर्दा तिर्दा किसान आजित भइसकेका छन्।’

अन्नपूर्णले विगतका वर्षकै १२ करोडभन्दा बढी भुक्तानी बाँकी रहेको महासंघ अध्यक्ष मैनालीले जानकारी दिए। सो उद्योगले यस वर्ष नौ लाख सात हजार ६ सय ९२ क्विन्टल उखु क्रसिङ गरेको छ। जसअनुसार अन्नपूर्णले किसानलाई जम्मा ५४ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ।

त्यस्तै यसै वर्षदेखि क्रसिङ सुरु गरेको महालक्ष्मीले ११ लाख २७ हजार तीन सय ९५ क्विन्टल उखु पेलेको छ। महालक्ष्मीमा पनि किसानको ५३ करोडभन्दा बढी रकम थन्किएको छ।मुलुकमै सबैभन्दा बढी उखु क्रसिङ गरेको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले एक महिनाको मात्र भुक्तानी गरेको छ। वैशाख दोस्रो साता बन्द भएको उद्योगले ३५ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। किसानसँग एक अर्ब ६५ करोड ५६ लाखभन्दा बढीको उखु खरिद गरेको ईन्दुशंकरले माघ मसान्तसम्म लिएको उखुको ४३ करोड मात्र भुक्तानी गरेको छ। उसले पनि किसानको एक अर्ब २२ करोडभन्दा बढी ‘होल्ड’ गरेर राखेको छ। जिल्लास्थित तीनवटा चिनी उद्योगले दुई अर्ब २९ करोडभन्दा बढी किसानलाई भुक्तानी गर्न बाँकी छ। जुन रकम सरकारी अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा बाहेकको हो।

वर्षौदेखि चिनी उद्योगबाट भुक्तानी नपाएपछि चुर्लुम्म ऋणमा डुबेका किसान सडकमा आउने अवस्थामा पुगेको अध्यक्ष मैनालीको कथन छ। ‘किसानले दुई–तीन वर्षदेखि ऋण लिएर उधारोमा व्यवहार चलाउँदै आएका छन्,’ मैनालीको प्रश्न थियो, ‘अब साहुले ऋण पनि थप्दैनन् र उधारो पनि नपाएपछि उखुको भुक्तानी नपाउने

किसानले के गरी घर व्यवहार धान्नु ?’
मुलुक क्रमशः चिनीमा आत्मनिर्भर बन्ने बाटोमा गए पनि किसानको रगत र पसिनाको मूल्य समयमै दिन उद्योगीले आलटाल गर्ने र सरकारी बेवास्ता एवं उदासिनताका कारण किसानमा वितृष्ण पैदा भएकाले क्रमशः उखु खेती घट्दै ठूलो मात्रामा चिनी आयात गर्नुपर्ने अवस्था आउन सक्ने मैनालीको चेतावनी छ।

ईन्दुशंकरका प्रशासकीय अधिकृत ठाकुर नेपालले गत वर्षदेखिकै चिनी बिक्री नभएकाले यस वर्ष उखुको भुक्तानीमा समस्या आएको बताए। ‘चिनी बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न निकै समस्या भइरहेको छ,’ उनले भने, ‘किसानलाई समयमै भुक्तानी गर्न नपाउँदा हामीलाई पनि दुःख लागेको छ, तर के गर्नु चिनी बिक्री नभएसम्म भुक्तानी गर्ने अवस्था नै छैन।’

प्रकाशित: ८ जेष्ठ २०७६ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App