१६ चैत्र २०८० शुक्रबार
अर्थ

वैदेशिक रोजगारीमा जान सीप र भाषा अनिवार्य

काठमाडौं - वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस्। विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ। वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश पस्ने हरेक युवायुवतीका लागि सीप र भाषा अनिवार्य गर्न लागेको छ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सीप र भाषालाई अनिवार्य गर्न पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम संशोधन गर्ने अन्तिम तयारी भइरहेको बताए। हाल वैदेशिक रोजगारीमा जाने युवामा अदक्षको वर्चस्व रहँदै आएको छ।

श्रेष्ठले वैदेशिक रोजगारीमा जानुअघि कुन काममा जाने हो त्यसको सीप परीक्षण हुने र सम्बन्धित देशमा बोलिने आधारभूत भाषाको ज्ञान चाहिने बताए। विगतमा वैदेशिक रोजगारीमा जाने युवालाई १० घन्टा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइने गरे पनि अब त्यसलाई बढाएर १८ घन्टा बनाइएको उनले बताए।

त्यस्तै, सम्बन्धित देशको भाषाबाहेक अंगे्रजी भाषा पनि चाहिने भएको छ। पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या करिब पाँच लाखको हाराहारीमा हुँदा समेत अधिकांश सीप नसिकेका हुने गरेका छन्। सीप नसिकी विदेश जाँदा एकातिर श्रमिकले विदेशमा राम्रो पारिश्रमिक पाउन सकेका छैनन् भने अर्कोतर्फ ठूलो संख्याका कामदार पठाउँदासमेत नेपालले प्राप्त गर्ने रेमिट्यान्समा सुधार हुन सकेको छैन।

केही वर्षअघि केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष कामदार हुने गरेका छन्। ठूलो संख्याका कामदार अदक्ष हुँदा विदेशमा तिनै अदक्ष कामदार सर्वाधिक शोषणमा पर्ने गरेका उदाहरण छन्। कामदार शारीरिक, मानसिक, आर्थिकलगायत शोषणमा पर्नुको कारण सीपको अभाव ठानिएपछि पहिलोपटक वैदेशिक रोजगारीमा जान कामदारका लागि सीप अनिवार्य गरिएको हो।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले सीपलाई बढी व्यावहारिक र कार्यमूलक बनाउन पहल भइरहेको बताए। त्यस्तै उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सीप सिकाउने र अनुगमनको कामलाई बढी जोड दिइएको बताए। रोजगारीका लागि सीप अनिवार्य गरिएको निर्णय आगामी दिनमा समेत कार्यान्वयन हुने उनको भनाइ छ।

देशको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको करिब २६ प्रतिशत सहभागिता रहँदै आए पनि सरकारले भने अहिलेसम्म वैदेशिक रोजगारीमा जाने कामदारलाई कुनै तालिम र सीप सिकाउने गरेको छैन। सीमित व्यक्तिले आफ्नै प्रयासमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने गरे पनि अधिकांश कुनै पनि सीपबिना वैदेशिक रोजगारीमा जाने चलन छ। अधिकांश कामदार विदेशमा गर्नुपर्ने काम उतै गएर मात्र सिक्ने गर्छन्। जसले गर्दा कामदारले पाउने पारिश्रमिक राम्रो छैन। सीप नजानेकै कारण रोजगारदाताको शोषणामा पर्ने गरेका छन्। सीप नजान्दा कामदारले भोगेको अर्को समस्या जोखिम पनि हो।

वैदेशिक रोजगारीमा जाने कतिपय युवायुवतीलाई गन्तव्य मुलुकमा सडक पार गर्ने तथा कोठामा एसी चलाउनेसम्मका सामान्य ज्ञान नहुने गरेको पाइन्छ। जसले गर्दा गुजाराको जोहो गर्न रोजगारीमा पुगेका कामदार विदेशमै अनाहक ज्यान गुमाउन बाध्य छन्। बोर्डका अनुसार २०६५ यता वैदेशिक रोजगारीका क्रममा विभिन्न गन्तव्यमा पुगेका सात हजार दुई सय ५३ भन्दा बढी युवायुवतीले ज्यान गुमाइसकेका छन्।

वैदेशिक रोजगारीको क्रममा कामदार समस्यामा पर्नु तथा वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक प्राप्त गर्न नसक्नुमा सीप अभाव ठहर गर्दै बोर्डले प्रभावकारी तालिमको आवश्यकता महसुस गरेको श्रेष्ठले बताए। जुन कामका लागि विदेश जाने हो त्यसैमा पोख्त बनाउन तालिम र सीपलाई अनिवार्य गरिएपछि अब जोखिम घट्ने अपेक्षासमेत गरिएको छ। 

सीप र भाषा सिकाएर युवालाई वैदेशिक रोजगारीमा पठाउने हो भने एकातिर वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्यामा कमी आउनेछ भने अर्कोतर्फ राम्रो काम प्राप्त गर्दा रेमिट्यान्समा वृद्धि हुने अपेक्षा गरिएको छ।

अघिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका युवाले सात खर्ब ५५ अर्ब रुपैयाँ नेपाल पठाएका थिए। हाल जुन संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको छन्, त्यसको तुलनामा उनीहरूले पठाउने रेमिट्यान्स न्यून भएको अर्थशास्त्री बताउँछन्। अहिलेकै हाराहारीका युवालाई सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउने हो भने रेमिट्यान्स कम्तीमा दोब्बर हुने विज्ञहरूको अनुमान छ। जसका लागि युवा मात्र नभई सरकारले समेत मेहनत गर्नुपर्ने आवाज उठेको छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App