coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तरकारी खेतीमा रमाउँदै किसान

धितुङका कृषक समूहले लगाएको तरकारी खेती निरीक्षण गर्दै मेयर इवन राईलगायत। तस्बिर: नागरिक

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका छन्। तराईबाट त्रि–धार्मिकस्थल हलेसीलगायत स्थानीय बजारमा आउने तरकारी विस्थापित गर्ने लक्ष्यसाथ स्थानीय बरबोटे विजवृद्धि कृषक समूहमा आवद्ध किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका हुन्।

तराईबाट जिल्ला भित्रिने तरकारी विस्थापित गर्दै आफ्नै ठाउँमा आय–आर्जनका लागि सामूहिकरुपमा तरकारी खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताए। कृषक समूहको पहलमा ९÷१० रोपनी जग्गा भाडामा लिएर खुर्सानी, कोपी, काउली, गोलभेँडा, भेडे खुर्सानी, गाजर, रायो साग, मुला लगायतका तरकारी खेती लगाइएको छ। गत वर्षदेखि सुरु गरिएको तरकारी खेतीले किसानमा उत्साह जगाएको अध्यक्ष राईले बताए। ‘सामूहिकरुपमा तरकारी खेती लगाउन सुरु गरेको वर्ष दिन पनि पुगेको छैन,’ अध्यक्ष राईले भने, ‘यस अवधिमा मौसमी भन्दा बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने हाम्रो सिकाई भएको छ। श्रम खेर जाँदैन भन्नेमा किसान उत्साहित छन्।’

सुक्खाग्रस्त क्षेत्रमा पर्ने धितुङका किसानले सामूहिक खेतीका लागि २०६९ मा कृषक समूह दर्ता गरेका हुन्। व्यावसायिकरुपमा कृषि पेसा अपनाएर आर्थिक उपार्जन गर्ने लक्ष्य लिएको समूहमा २५ घर परिवार किसान आवद्ध छन्। तिनै कृषकमध्ये शिवगन राई, अञ्चल राई, भूपेन्द्र राईसहित ६ किसानले सामूहिकरुपमा तरकारी खेती लगाएका हुन्। उनीहरुको सामूहिक तरकारी खेतीका लागि हलेसी तुवाचुङ नगरपालिकाले ६० प्रतिशत अनुदानमा दुई लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष राईले बताए।

मकैको बीउबाट मनग्य आम्दानी
धितुङस्थित बरबोटे विजवृद्धि कृषक समूहमा आवद्ध किसानले उन्नत जातको मकैको बीउ उत्पादनबाट मनग्य आम्दानी गर्दै आएका छन्। समूहको पहलमा मनोकामना ३ जातको मकैको बीउ उत्पादनबाट किसानले आकर्षक आम्दानी लिन सफल भएका हुन्।

मकैको पकेट क्षेत्रकारुपमा रहेका धितुङका स्थानीयले चितवनको रामपुरबाट उन्नत जातको मूल बीउ ल्याएर बीउ उत्पादन गर्दै आएका छन्। यसपल्ट उत्पादन भएको १९ क्विन्टल मकैको बीउ हलेसी तुवाचुङ नगरपालिकाले खरिद गरेर नगरका ११ वडाका किसानलाई वितरण गरेको बरबोटे कृषक समूहका अध्यक्ष राजेश राईले बताए।

२०७१ देखि मकैको बीउ उत्पादन सुरु गरेको कृषकले गत वर्ष प्रतिकेजी ६० रुपैयाँका दरले खोटेहाङ गाउँपालिकालाई १३ क्विन्टल र सोभन्दा अघिल्लो वर्ष सवल परियोजनालाई सात सय केजी मकैको बीउ बिक्री गरेका थिए। सुरुका वर्ष तत्कालीन कृषि सेवा केन्द्र हलेसीलाई मकैको बीउ बिक्री गरिएको राईले बताए।

प्रकाशित: २२ वैशाख २०७६ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App