१६ चैत्र २०८० शुक्रबार
अर्थ

आर्थिक चलखेलमा धनगढी विमानस्थल एक महिना बन्द हुने

धनगढी - देशका अन्य भागमा उडान हुने सुदूरपश्चिमको एकमात्र धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। हवाई मैदान स्तरोन्नति र कालोपत्रे गर्ने भन्दै यही वैशाख २२ देखि जेठ २१ गतेसम्म बन्द गरिन लागेको हो।

देशका अन्य ठाउँका विमानस्थलमा यस्तै प्रकारको स्तरोन्नति, मर्मत र विस्तार गर्दा हवाई सेवा नियमित राखेर गरिने गरेकामा यहाँको हवाई सेवा ठप्प पारेर मात्र निर्माण गरेकामा स्थानीयले आपत्ति जनाएका छन्। ‘सबैतिर विमानस्थलमा काम हुँदा हवाई सेवा नियमित हुने तर काठमाडौंबाट सुदूरपश्चिममा उडान हुने एकमात्र विमानस्थल बन्द गरेर हामीमाथि अन्याय गरिएको छ,’ स्थानीय युवा पदम सिंहले भने, ‘यो विमानस्थल बन्द भएपछि सुदूरपश्चिमबाट हवाई उडानको अर्को विकल्प छैन।’ भद्रपुर, वीरगन्ज, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंलगायत अन्य विमानस्थलमा राति काम गरेर दिउसो हवाई सेवा नियमित सञ्चालन गरिएको उनले बताए।

सुदूरपश्चिममा मुटु सम्बन्धी गम्भीर रोगको उपचार उपलब्ध छैन। केही घण्टामै उपचार गराएर बचाउन सकिने बिरामीले पनि यो हवाई सेवा बन्द भएपछि ज्यान गुमाउनु पर्ने स्थानीय बताउँछन्। ‘इमर्जेन्सी बिरामीलाई काठमाडौं लैजान परे पनि अब समस्या हुने भो,’ स्थानीय बिरबहादुर साँउदले भने।

पर्यटन र व्यवसायमा पनि समस्या
एकमात्र विमानस्थल स्तरोन्नतिका नाममा एक महिना बन्द हुने भएपछि सुदूरपश्चिमका उद्योग, व्यवसाय, पर्यटन, होटल व्यवसाय र सर्वसाधारण सबैलाई प्रभाव पर्ने भएको भन्दै सरोकारवालाले बन्द नगर्न आग्रह गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवरले लामो समय हवाई सेवा बन्द हुँदा सुदूरपश्चिम आउने पर्यटकलाई समस्या हुने बताए। ‘यसले बिरामी, पर्यटन, व्यवसाय सबैलाई असर गर्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थलमा राति काम गरेर दिउसो हवाई सेवा सुचारु भएको उदाहरण दिँदै यस्तै विकल्पमा जानुपर्ने उनको भनाइ छ। ‘रातभर ५० मिटर उखेलेर त्यतिमा कालोपत्रे गरेर दिउसो हवाई उडान गर्ने गरिएको छ,’ उनले भने, ‘यो प्रविधि हुँदाहुँदै सबैलाई दुःख दिने काम राम्रो होइन।’

आर्थिक चलखेलमा हवाई सेवा बन्द
यस क्षेत्रका सामाजिक अभियन्ता गोपाल हमालले सुदूरपश्चिमका जनताले केही बोल्दैनन् भनेर आर्थिक फाइदा लिने उद्देश्यले एक महिना हवाई सेवा बन्द गर्न लागिएको बताए। ‘विमानस्थल निर्माणका नाममा बढी रकम कुम्ल्याउन एक महिना बन्द गरेर स्तारोन्नति गर्ने भनिएको हो,’ उनले भने, ‘आधुनिक प्रविधि प्रयोग नगरी गुणस्तरहीन काम गर्न मात्र यो विमानस्थल बन्द गरिएको हो।’

रातभरी सकिने गरी पुरानो ठाउँको निकालेर नयाँ कालोपत्रे गर्ने प्रविधि भएको उनको भनाइ छ। ‘२४ घण्टामा २२ घण्टा काम गरेर दुई घण्टामात्र विमानस्थल सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘विमानस्थल ठप्प गरेर निर्माण गर्नुका पछाडि आर्थिक चलखेल मुख्य कारण हो।’ देशका सबै विमानस्थलमा यस्तै प्रकारका काम बन्द गर्दा हवाई सेवा सुचारु भएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा मात्र विमानस्थल बन्द गर्नु विभेदकारी व्यवहार भएको उनले बताए।
‘केही व्यक्तिले आर्थिक फाइदा लिन लाखौं जनतालाई मर्कामा पार्न पाइँदैन।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले आर्थिक चलखेलका कारण हवाई सेवा उडान बन्द गरेर काम गर्ने प्रविधि प्रयोग गरेर गुणस्तरहीन काम गर्न लागिएको भन्ने कुरा सत्य नभएको बताए। बजेट सीमित भएकाले उच्च प्रविधि प्रयोग गर्न नसकिएको उनले बताए। ‘तर, काम गुणस्तरीय हुने छ,’ पौडेलले भने।

धावन मार्ग अति जीर्ण भइसकेकाले स्तर वृद्धिका लागि वैशाख २२ देखि जेठ २१ गतेसम्म एक महिनाका लागि हवाई उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए। सुदूरपश्चिमका नागरिकलाई दुःख दिने उद्देश्य प्राधिकरणको नभएको उनको भनाइ छ। उच्च प्रविधि प्रयोग गर्न बजेट अपुग भएकाले यस्तो गर्न लागिएको उनको दाबी छ। ‘उच्च प्रविधि प्रयोग गर्न बजेट अपुग भएकाले एक महिनाका लागि बन्द गरेर काम गर्ने निर्णय गरिएको हो,’ उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि धनगढी विमानस्थलमा हुने भनिएजस्तै मर्मत भइरहेको छ। राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरी मर्मतको काम भइरहेको छ। अन्य समयमा भने उडान सुचारु राखिएको छ।

भैरहवा विमानस्थल र पोखरा विमानस्थलमा पनि धनगढीमै जस्तै मर्मत गरिने तयारी भए पनि हवाई उडान बन्द हुने छैनन्। धनगढी विमानस्थल र जुम्ला विमानस्थलमा मात्र हवाई सेवा उडान गरेर कम गुणस्तर र कम प्रविधि प्रयोग गरेर काम हुने भएको हो। जुम्ला विमानस्थल २० दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाका अनुसार धनगढी विमानस्थलबाट प्रत्येक दिन बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सका दुई–दुई उडान हुने गरेका छन भने नेपाल एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार गरी साताको तीन उडान गर्ने गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ। त्यसको ठेक्का लुम्बिनी, कोशी एन्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले पाएको छ। विमानस्थल स्तरोन्नति र कालोपत्रेका लागि १७ करोड, ८८ लाख ८८ हजार बजेट रहेको सूचना अधिकारीले पौडेलले जानकारी दिए।

अहिले विमानस्थलको ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइमध्ये करिब सात सय मिटर जति भासिएको छ। भासिएकोमा उप्काएर नयाँ कालोपत्रे गरिने र अन्यमा माथि कालोपत्रे गरिने पौडेलले बताए। यससँगै हवाई जहाजको पार्किङ क्षमता बढाउन सय मिटर लम्बाइ र ७० मिटर चौडाइ विस्तार पनि गरिने पौडेलले जानकारी दिए। यो विस्तारसँगै दुई जहाजको ठाउँमा थप एक जहाज पार्किङ गर्न मिल्ने छ।

प्रकाशित: २० वैशाख २०७६ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App