७ वैशाख २०८१ शुक्रबार
अर्थ

हवाई इन्धनको भाउ घट्यो

फाइल तस्बिर

काठमाडौं – दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी प्रतिकिलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ११ सय २५ बाट घटाएर एक हजार ५० डलरमा  झारिएको निगमले जनाएको छ। हवाई इन्धनमा नाफा रहेकाले मूल्य समायोजन गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

निमगले अहिले पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टीतेल ९७, एलपी ग्यास प्रतिसिलिन्डर १४ सय रुपैयाँमा बिक्री गरिरहेको छ।  अप्रिल १६ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा, डिजेलमा ७२ पैसा बढेर आएकाले मूल्य समायोजन नगरेको जनाएको छ। मूल्य वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखेको निगमको दाबी छ।

निगमले मूल्य समायोजन नगरेको भन्दै आलोचना भएको छ। ‘निरन्तर मूल्य बढेर आएकाले डिजल, पेट्रोलको मूल्य घटबढ गरेका छैनौं,’ पौडेलले भने, ‘घटेर आउँदासाथ मूल्य घटाउछौं।’ निगमले काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ र डिजल मट्टीतेल ९७ रुपैयाँमा बिक्री गरिरहेको छ।

वार्षिक पाँच अर्ब रुपैयाँ नाफा कमाउने लक्ष्य राखेको निगमले उपभोक्ताको हितभन्दा नाफालाई प्राथमिकतामा राखेको भन्दै आलोचना भएको छ। २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो। निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य घटबढसँगै यहाँको मूल्य समायोजन गर्ने जनाएको छ। निगमले अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टीतेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा नाफा कमाइरहेको छ।

प्रकाशित: ११ वैशाख २०७६ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App