१६ चैत्र २०८० शुक्रबार
अर्थ

नौ महिनामा १२ हजार पर्यटक भित्रिए

रसुवाको चेर्काे री पुगेपछि रमाउँदै पर्यटक। तस्बिरः नागरिक

रसुवा - चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार स्वदेशी तथा विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका ती पर्यटक आएका हुन्। निकुञ्जको तथ्यांक अनुसार त्यस अवधिमा भ्रमण गरेका १२ हजार दुई सय ६४ पर्यटकमध्ये तीन हजार ३७ नेपाली, नौ हजार ४५ विदेशी र तीन हजार नौ सय ६ सार्क राष्ट्रका पर्यटक छन्।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। पर्यटकीय मौसम सुरु भएसँगै दैनिक करिब ८० देखि सय जना पर्यटक जिल्ला आइरहेका छन्।

सिजन सुरु भएसँगै पर्यटकीय क्षेत्र लाङटाङमा पर्यटकको आगमन बढेको छ। स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएपछि लाङटाङमा सञ्चालित होटल भरिन थालेका छन्। भूकम्प गएको वर्ष पर्यटकको आगमन घटेको थियो। त्यसपछिका वर्षहरूमा पर्यटक आउने क्रम निरन्तर बढ्दै गएको छ। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेपनि असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्।

गाइड र पोर्टर (भरिया)बिना पनि जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको होटल तथा पर्यटन व्यावसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए । ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्,’ उनले भने, पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन्।’

लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिव ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले २०१९ लाई पालिका भ्रमण वर्षको रूपमा मनाउँदैछ। केन्द्र सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेकाले यसलाई सहयोग पु-याउन पालिकाले भ्रमण वर्ष घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए।

जिल्लामा पर्ने अधिकांश पर्यटकीय क्षेत्र यही गाउँपालिकामा पर्छ। लाङटाङ लगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्ड लगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी यही क्षेत्रमा पर्छ। यस क्षेत्रमा विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायत जनावर पनि देख्न सकिन्छ।

जिल्ला आउने पर्यटकलाई वन्यजन्तुसम्बन्धी जानकारी दिन वन्यजन्तु सूचना केन्द्र स्थापना गर्न लागिएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पर्यटन सूचना केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढेको उनले बताए। यसका लागि प्रदेश ३ सरकारले ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ। यो नाका हुँदै चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक आउने गरेकाले सूचना केन्द्र स्थापना गर्न लागिएको हो।

प्रकाशित: १० वैशाख २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App