८ वैशाख २०८१ शनिबार
अर्थ

उडान रोकिँदा पर्यटक अलपत्र

मन्जु उप्रेति
रामेछाप - मन्थली विमानस्थलमा सोमबार बिहान भएको जहाज दुर्घटनामा मानवीय क्षति नभए पनि सोही दुर्घटनाका कारण उडान प्रभावित हुँदा लुक्ला जान सडक मार्ग हुँदै यहाँ आइपुगेका पर्यटक अलपत्र परेका छन्। अलपत्र पर्ने पर्यटक सयौंको संख्यामा छन्।

दिउँसो अबेर धावनमार्गबाट दुर्घटनामा परेको जहाज हटाइए पनि लुक्लाको मौसम बिग्रेका कारण सोमबार कुनै पनि उडान हुन नसक्ने विमानस्थलका कर्मचारीबाट जानकारी पाएपछि उनीहरुलाई बास पाउन निकै समस्या परेको छ।
समयतालिका बनाएर हिँडेका अधिकांश पर्यटकको योजना परिवर्तन भएको छ। खानपानदेखि बसाइ र यात्रा योजना परिवर्तन गर्नु पर्दा अप्ठेरो भएको एक विदेशीले बताए। विमान कम्पनीले सोमबार स्थगित भएको उडान मंगलबार विहानैदेखि सुरु गर्ने जनाएका छन्। मंगलबारको उडानलाई मध्यनजर गर्दै बसोबासको व्यवस्था मिलाउन पर्यटकलाई गाह्रो परेको छ।

उडान रोकिँदा सदरमुकाम मन्थलीमा पर्यटकको चाप बढेको छ। तर यहाँ थोरैको संख्यामा रहेका सुविधासम्पन्न होटलमा ती पर्यटक राख्न सक्दैनन्। सुविधासम्पन्न होटल नपाएपछि विदेशीहरु सोमबार साँझ सामान्य होटलमै रात काट्ने सुरसारमा थिए।

प्रायःजसो विदेशी पर्यटक सुविधासम्पन्न कोठा खोज्छन्। उनीहरुको रोजाइ अनुसार नै कोठा उपलब्ध गराउने हो भने यहाँ धान्न सक्ने अवस्था छैन। जिल्लामा उपलब्ध सबैखाले होटलमा मिलेर बस्ने हो भने समस्या नरहेको होटल व्यवसायी संघ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताए।   

अध्यक्ष श्रेष्ठका अनुसार सदरमुकाम मन्थलीमा एक सय ५० भन्दा बढी होटल सञ्चालनमा रहे पनि २५ वटा जतिमात्र सुविधासम्पन्न छन्। मंगलबारको उडानका लागि आउने र सोमबारको उडान अबरुद्ध भएर रोकिएका पर्यटकले मन्थलीका होटल खचाखच छन्। अग्रिम  बुकिङ गरेकाले सुविधायुक्त होटल पाए पनि अधिकांशले पाउने सम्भावना छैन।

उडान रोकिएका कारण जिल्लाबाट बाहिरिन नपाएका पर्यटकले गर्दा होटल पाउन समस्या भएको हो। कतिपय पर्यटक भोलिपल्ट सबैरै फर्कने गरी गाडीमा सिन्धुलीको खुर्कोट र मुलकोट गएका छन्। त्यहाँ मन्थलीको तुलनामा सुविधासम्पन्न होटल पाइन्छ।

कतिपय पर्यटक जिल्लाका सामान्य होटलमै बसेका छन्। सुविधासम्पन्न होटल नभए पनि बासै नपाएर बिचल्ली नै पर्नुपर्ने अवस्था नभएको होटल व्यवसायी बताउँछन्। पछिल्लो समय संघीयता कार्यान्वयन भएसँगै सदरमुकाममा सर्वसाधारणको चाप घटेपछि होटलमा लगानी घटेको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कालोपत्रे गर्ने सिलसिलामा दैनिक १० घन्टा बन्द हुन थालेपछि पछिल्लो समय विहानै लुक्ला उड्नुपर्ने विमानहरु रामेछापबाट उड्न थालेपछि यहाँ पर्यटकको चाप बढेको हो। लुक्ला जाने पर्यटक काठमाडौंबाट मन्थलीसम्म गाडीमा आउँछन्। फर्कंदा पनि यहाँबाट गाडीमै फर्कन्छन्। 

मन्थलीमा पर्यटकको चहलपहल बढेसँगै महँगी समेत बढेको जनगुनासो आउन थालेको छ। कालोबजारी रोक्न स्थानीय प्रशासनले निगरानी बढाए पनि प्रभावकारी बन्न भने नसकेको स्थानीय बताउँछन्। स्थानीय प्रशासनले बढी मूल्य लिएको जानकारी पाएपछि होटल व्यवसायीसँग दररेट समेत मागेको थियो। प्रशासनलाई बुझाउने दररेट एउटा र व्यवहारमा अर्को हुने गरेको सेवाग्राहीले बताउँदै आएका छन्। कतिपय व्यवसायीले विदेशी पर्यटक र नेपालीलाई एउटै सामान दुईथरी मूल्यमा बेच्ने गरेको गुनासो छ।

मन्थली बसपार्कमा होटल सञ्चालन गर्दै आएका नोककृष्ण प्रधानले आरोप लगाइए जस्तो बढी मूल्य नलिएको दाबी गरे। ‘मौकाको फाइदा उठाउने समय हो भन्ने मैले ठानेको छैन,’ उनले नागरिकसँग भने। आफूले न्यायोचित नाफा र सेवाभावले मूल्य लगाएको उनको भनाइ छ। मन्थलीमा पर्यटक लक्षित होटलले नै बढी लिएकोले आफूहरुमाथि आरोप लागेको अर्का होटल व्यवसायीले बताए।

यता जिल्ला प्रशासन कार्यलयले केही होटलमा छड्के निरीक्षण गरेको जनाएको छ। प्रशासनले अनुगमन गरी मूल्यसूची राख्न निर्देशन दिएको र सोही अनुसार भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। पछिल्लो समय व्यवसायीले सामूहिक निर्णय भन्दै कतिपय सामानको मूल्य बढाएको गुनासो आएपछि उद्योग वाणिज्य संघका पदाधिकारी सहितको बैठक बोलाएर छलफल गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी यज्ञप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App