२३ असार २०७७ मंगलबार
अर्थ

नौ अर्बको पस्मिना निर्यात गर्ने लक्ष्य

काठमाडौं - सरकारले पस्मिनाको प्रवद्र्धनमा सघाए निर्यात पुरानै लयमा फर्काउन सकिने व्यवसायीले बताएका छन्। नेपाल पस्मिना महासंघका अनुसार सन् २००० मा वार्षिक १० अर्ब रुपैयाँको निर्यात हुने गरेको पस्मिना अहिले घटेर करिब तीन अर्ब रुपैयाँमा सीमित छ।

निर्यात मूल्यको एक प्रतिशत रकम प्रवद्र्धनमा खर्च गरे आगामी पाँच वर्षमा तीन गुणा बढाएर करिब नौ अर्ब रुपैयाँ पु-याउन सकिने नेपाल पस्मिना उद्योग संघका अध्यक्ष दुर्गाबिक्रम थापाले बताए। ‘निर्यात भएको पस्मिनाको न्यूनतम एक प्रतिशत रकम सम्बन्धित वस्तुको प्रमोसनमा खर्च गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सरकारले सघाए तीन वर्षमा अहिलेको निर्यात दुई गुणा र पाँच वर्षमा तीन गुणाले वृद्धि हुने ग्यारेन्टी गर्छौं।’

व्यवसायीले पस्मिना व्यवसायको प्रवद्र्धन तथा दिगो विकासका लागि नगद प्रोत्साहन, पुनर्कर्जा, प्रचार–प्रसार, लेबल लगाइएका वस्तुलाई विशेष सुविधा, भारत र चीनतर्फको निकासीमा शून्य भन्सार, वैकल्पिक ऊर्जा व्यवस्थालगायत सुविधा दिनुपर्ने माग राखेका छन्। नेपालको प्रतिस्पर्धी क्षमता गुम्दै जानु र ब्रान्डिङ गर्न नसकेको कारण बजार खस्किएको व्यवसायी बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली पस्मिनाको बजार खस्किएको छ। भारतमा उत्पादन भएको पस्मिनालाई नेपाली भनेर बिक्री गरेकाले पनि प्रतिस्पर्धा गर्न कठिन भएको संघले जनाएको छ। विश्व बजारमा छिटोछिटो हुने फेसन परिवर्तनलाई नेपाली परम्परागत प्रविधिबाट निर्मित पस्मिनाजन्य वस्तुले पछ्याउन नसक्दा पनि प्रतिस्पर्धामा कमजोर छ।

१० अर्ब रुपैयाँबाट घटेर दुई अर्ब रुपैयाँभन्दा तल गएको पस्मिनाका निर्यात पछिल्ला वर्ष केही सुधार भएर तीन अर्ब रुपैयाँ पुगेको हो। कुनै पनि उत्पादनलाई विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नका लागि सरकारको महŒवपूर्ण भूमिका हुने अध्यक्ष थापा बताउँछन्।

नेपाल घुम्न आउने विदेशीले आफ्नो देश फर्किंदा नेपाली वस्तु उपहारको रुपमा लान करिब दुई–तीन अर्ब रुपैयाँको पस्मिना खरिद गर्ने गरेको व्यवसायी बताउँछन्। नेपाली पस्मिनाको वार्षिक कारोबार करिब ५–६ अर्ब रुपैयाँ रहेको संघले जनाएको छ।

महासंघले अहिले विभिन्न ४७ देशमा पस्मिनाको ट्रेडमार्क दर्ता गरी नवीकरण गरिसकेको छ। पस्मिनाको ट्रेडमार्क र गुणस्तरबारे खरिदकर्ता उपभोक्तासमक्ष व्यापक प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने संघको माग छ। गत वर्षदेखि छिमेकी चीनसँग वार्षिक पाँच लाख थान नेपाली च्यांग्राको पस्मिना निकासी गर्ने सम्झौता भएको छ। पस्मिनालाई नेपालबाट निकासी हुने वस्तुमध्येकै प्रमुख वस्तुका रूपमा लिने गरिन्छ। पस्मिना वैदेशिक मुद्रा आर्जनको माध्यम हो। नेपााली उद्योगीले विश्व बजारमा ट्रेडमार्क दर्ता गरेर बिक्री गर्दै आएका छन्। नेपाली पस्मिनाको नाममा भारतबाट बिक्री भएपछि नेपाली व्यवसायी चिन्तित छन्।

नेपालका पस्मिना युरोप, अमेरिका, चीन लगायत मुलुकमा निर्यात हुँदै आएको छ। विगतमा ठूलो मात्रामा अमेरिका निर्यात हुन्थ्यो। पछिल्लो समय अमेरिका निर्यातमा कमी आएपछि व्यापार खस्किएको हो। नेपाली पस्मिना च्यांग्रा पस्मिनाको नामबाट निर्यात हुन्छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत ४० देशहरुमा ट्रेडमार्क दर्ता गर्न सरकारले सघाएको छ। विदेशबाट भ्रमणका लागि यहाँ आउने पर्यटकले पनि पस्मिना किनेर लैजाने गरेका छन्।

पस्मिनाका लागि भुवा उत्पादन गर्न सकिने संघले जनाएको छ। बजारमा वार्षिक एक सय ५० टन पस्मिनाको भुवा आवश्यक भए पनि १५ टन मात्र उत्पादन भएको अध्यक्ष थापाले बताए। ‘नेपालका १४ हिमाली जिल्लामा उत्पादन गर्न सकिन्छ,’ थापाले भने, ‘राम्रो अवसर छ।’ नेपालको १४ हिमाली जिल्लामा उत्पादन सम्भावना भएको भए पनि हाल तीनवटा जिल्लामा मात्र उत्पादन भएको छ। कच्चा भुवा प्रशोधन गर्न सरकारले सघाउनुपर्ने व्यवसायीको माग छ।

सरकारले निर्यातमा प्रोत्साहन गर्ने बजेटमार्फत घोषणा गरे पनि पुसअघि निर्यात भएको पस्मिनामा अनुदान नदिएको व्यवसायीको गुनासो छ। ‘यस वर्षको बजेटमा निर्यातको तीनदेखि पाँच प्रतिशत अुनदान दिने सरकारले घोषणा ग¥यो,’ अध्यक्ष थापाले भने, ‘राष्ट्र बैंकले पुसमा मात्र कार्यविधि बनाएकोले पुसपछिमात्र दिने निर्णयले हामीलाई मर्का परेको छ।’
अर्थमन्त्रीले बजेटमा घोषणा गरेकाले साउनदेखिनै पाउनुपर्ने व्यवसायीको माग छ। व्यापारघाटा धान्नै नसक्ने अवस्थामा रहेको बेला पस्मिना उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिने व्यवसायीले बताएका छन्।

प्रकाशित: १० वैशाख २०७६ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App