coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जहाज रोकेकोमा निगम असन्तुष्ट

काठमाडौं - नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न तयार जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्न रोकेको थियो। विमानस्थल मर्मतको काम सुरु भएको निहुँमा जहाज रोकिएको हो। अचेल मर्मतको लागि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुन्छ।

१० बजे नै उड्न तयार जहाजलाई विमानस्थल बन्द भइसकेको भन्दै रोकिएको थियो। चार मिनेट थप समय दिन अनुरोध गरेकोमा नदिएको जहाजका पाइलट बताउँछन्। ती पाइलटका अनुसार चार मिनेट बढी समय दिएको भए जहाज उड्ने थियो। तर, विमानस्थल कार्यालयले १० बजेपछि त्यति समय नदिँदा दुई सय ७१ यात्रुको बिचल्ली भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए।

यस्तो थियो घटना
निगमको आरए २३१ नम्बरको उडान भर्ने जहाजलाई ८ः३० बजे ह्यांगरबाट पार्किङ वेमा ल्याइएको थियो। क्याटरिङ आइटमसँगै यात्रुलाई पनि जहाज चढाइयो। यात्रु चढाइसकेर ९ः३७ मा जहाजमा इन्धन भर्न सुरु गरियो। इन्जिनियरिङ क्लियरेन्स पाएपछि ९ः४५ मा जहाजका ढोका समेत बन्द गरियो।
ढोका बन्द गरी उडान सुरु गर्ने तयारी हुँदै गर्दा ड्र्यागन एयरको जहाज उड्न ठिक परेको थियो। १० बज्न तीन मिनेट बाँकी हुँदा ड्र्याग उड्यो तर नेपाल एयरलाइन्सको जहाज उड्न पाएन।

किन दिइएन् उडान अनुमति
विमानस्थल बन्दको सूचना कार्यालयले यसअघि नै जारी गरिसकेको थियो। सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका तय गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम (नोटिस फर एयरम्यान) जारी गरेको समयमा उडान गराउँदा अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुन्छ। प्राधिकरणका एक अधिकारीका अनुसार विमानस्थल बन्दको समयपछि एक मिनेट पनि थप गर्न सकिँदैन। नोटामको समयमा जहाज उड्न अनुमति दिएमा कुनै दुर्घटना भए पनि त्यसमा विमानको नियम लागू हुँदैन। इयूले नेपाललाई कालोसूचीमै राखेको बेला जहाजलाई अनुमति दिँदा विश्व समुदायमा गलत सूचना जान सक्ने भन्दै जहाजको उडान रोकेको कार्यालयको भनाइ छ। प्राधिकरणका अनुसार निगमको उडान रोकिनुमा विमानस्थल कार्यालय नभएर निगम आफैं जिम्मेवार छ। निगमले तोकिएको समय भन्दा ढिला गरेको कारणले उडान रोकिन पुगेको विमानस्थल कार्यालयको दाबी छ।

मर्मतको लागि भन्दै अप्रिल १ देखि विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिने सूचना जारी भइसकेको र मंगलबार पनि आधा घन्टाअगाडि नै उडान गर्न भनिएकोमा निगमले ढिला गरेकाले जहाज उड्न रोकिएको विमानस्थल कार्यालयले जनाएको छ। निगमले भने विमानस्थल कार्यालयले निगममाथि अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। विदेशी एयरलाइन्सको कारणले ढिला भएको अवस्थामा राष्ट्रिय ध्वजाबाहकलाई चार मिनेट नदिँदा अन्याय भएको दाबी निगमको छ। जहाज उड्न नदिँदा नेपाल एअरलाइन्सका यात्रुको विश्वास गुमेको निगमको भनाइ छ। एकातिर विश्वास गुमेको र अर्कोतिर उडान रोकिँदा निगमलाई आर्थिक भार बढेको सहप्रवक्ता कोइरालाले बताए। उडान रोकिएपछि यात्रुलाई होटलमा राखेर बुधबार बिहान ८ः३० मा जहाज उडेको थियो। केही यात्रु भने होटल नगएर जहाजमै बसेका थिए।

जहाज उडान रोकिएर एकअर्कोबीच आरोप प्रत्यारोप चलिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटना छानबिन गर्न समिति बनाएको छ। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएर पाँच दिनभित्र छानबिन गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार समितिलाई निगमको विमान ढिला उड्नुको कारण र त्यसको दोषी लगायत पत्ता लगाउन निर्देशन दिइएको छ। समितिमा गृह मन्त्रालयका तर्फबाट एक प्रहरी वरिष्ठ उपरीक्षकसहित निगमका निर्देशक राजेश मिश्र र प्राधिकरणका प्रबन्धक विक्रम गौतम छन्।

प्रकाशित: २१ चैत्र २०७५ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App