coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

काठमाडौं - बारा र पर्सामा आइतबार आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा मंलगबारदेखि बिजुली आपूर्ति नियमित भएको छ। कलैयाको चन्द्रनिगाहपुर वितरण केन्द्रबाट बिजुली आपूर्ति हुने ग्रामीण क्षेत्रका केही ठाउँबाहेक अन्य क्षेत्रमा मंगलबार बेलुकादेखि नियमित आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आपतकालीन व्यवस्थाका सबै उपाय प्रयोग गरेर केही ग्रामीण क्षेत्रमा बाहेक अन्यत्रको बिजुली मंगलबार ४ बजेदेखि नियमित रुपमा सञ्चालन गरेको प्रवक्ता प्रबल अधिकारीले बताए। ‘कलैयाको चन्द्रनिगाहपुर वितरण केन्दबाट वितरण हुने केही स्थानबाहेक अन्यत्र बिजुली नियमित भएको छ,’ उनले मंगलबार नागरिकसँग भने, ‘ती क्षेत्रमा पनि बिजुली नियमित गर्ने प्रयासमा छौं।’

आइतबारको हावाहुरीले परावनीपुर–वीरगन्ज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुग्दा बिजुली आपूर्ति बन्द थियो। उक्त प्रसारण लाइन पनि मंगलबारदेखि सञ्चालनमा आएको प्रवक्ता अधिकारीले जानकारी दिए। यसैगरी, वीरगन्ज–कलैया ३३ केभी लाइनमा पनि आइतबारको हावाहुरीले क्षति पुर्‍याएको थियो। उक्त प्रसारण लाइन पनि मर्मतपछि सञ्चालनमा आएको उनले जानकारी दिए।

भारतबाट विद्युत् आयात हुने ३३ केभी रक्सौल–वीरगन्ज प्रसारण लाइन क्षतिग्रस्त भएकोमा उक्त लाइनबाट पनि मंगलबारदेखि नै विद्युत् आयात सुरु भइसकेको प्रवक्ता अधिकारीले बताए। भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइन भने अझै अवरुद्ध छ। ‘उक्त प्रसारण लाइनको ६० नम्बरको टावरमा क्षति पुगेकोले भारतबाट आयात हुने करिब ७० मेगावाट बिजुली ल्याउन सकिएको छैन,’ प्रवक्ता अधिकारीले भने, ‘हावाहुरीले पोल तलैबाट उखेलेर फालेकाले रक्सौल–परवानीपुर प्रसारण लाइनबाट बिजुली ल्याउन नसकिएको हो।’

उक्त प्रसारण लाइनबाट भारतबाट बिजुली ल्याउन नसके पनि विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी उनले दिए। ‘रक्सौल–परवानीपुर प्रसारण लाइन अवरुद्ध हुँदा पनि बिजुली कटौती गर्नुपर्ने अवस्था छैन,’ प्रवक्ता अधिकारीले भने, ‘अन्य क्षेत्रबाट बिजुली आयात भइरहेकोले र स्वदेशी आयोजनाबाट बिजुली उत्पादन बढेकोले कटौैती गर्नुपर्ने अवस्था छैन।’ तापक्रमसँगै हिउँ पग्लने क्रम बढेको र पानी पनि नियमित रुपमा परेकाले बिजुली उत्पादन बढेको उनको भनाइ छ। अचेल भारतबाट करिब चार सय मेगावाट बिजुली आयात हुन्छ।

प्राधिकरणका अनुसार, आइतबारको हावाहुरीका कारण कलैयामा मात्र दुई हजार हाराहारी बिजुलीका पोल ढलेका थिए। हावाहुरीले विद्युत् प्रणालीमा पुगेको हानि–नोक्सानीको पूर्ण विवरण आइनसके पनि प्रारम्भिक अनुमान अनुसार करिब दुई हजार पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भई करिब १०–१५ करोड रुपैयाँ बराबरको हानि–नोक्सनी भएको प्राधिकरणले पूर्वानुमान गरेको छ। उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगे पनि करेन्ट लागेर मानवीय क्षति नभएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विद्युत् प्रणाली मर्मतसम्भार गरी आपूर्ति सुचारु गर्न सम्पूर्ण साधन स्रोत परिचालन गरेको प्रवक्ता अधिकारीले बताए।  प्राधिकरणले उक्त क्षेत्रमा भएको क्षति र बिजुली सुचारु गर्न प्राधिकरणका उपकार्यकारी निर्देशकको नेतृत्वमा इन्जिनियरिड सहितको उच्च स्तरिय टोली स्थलगत भ्रमणमा गएको उनले जानकारी दिए।  

हजार थान चुलो र सोलार वितरण गर्ने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जासचिव दिनेश घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वैकल्पिक ऊर्जा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीबीच बारा र पर्सामा हावाहुरीबाट भएको क्षतिबारे मंगलबार छलफल भएको छ।

मन्त्री पुनको अध्यक्षतामा बसेको बैठकले पीडितलाई वैकल्पिक ऊर्जाबाट आधुनिक चुलो र सोलार हजार–हजार थान तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। अवरूद्ध सेवा सुरु गर्न योजना र बजेटको व्यवस्था गर्ने निर्णय पनि भएको छ। मन्त्री पुनले सिँचाइ सचिव, सिँचाइ विभागका महानिर्देशक र राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसँग पनि छलफल गरेका छन्। आयोजनाको प्रगतिको समीक्षा हुनुको साथै बजेट खर्चको अवस्थाबारे छलफल भएको हो। मन्त्री पुनकै नेतृत्वमा राष्ट्रिय गौरवका आयोजनाको प्रगतिको समीक्षा गर्न प्रत्येक हप्ता मन्त्रालयमा बैठक बस्ने निर्णय भएको छ। उनले आयोजना प्रमुखलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएका छन्। त्यसका साथै सुनकोसी मरिन डाइभर्सनमा टिबिएम प्रविधि प्रयोग गर्ने गरी प्रक्रिया अघि बढाउन समेत मन्त्री पुनले निर्देशन दिए।

 

प्रकाशित: २० चैत्र २०७५ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App