८ वैशाख २०८१ शनिबार
अर्थ

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

काठमाडौं– पाकिस्तान र भारतबीचको सीमा विवादको यतिवेला नेपालमा भइरहेको व्यापार मेलामा प्रत्यक्ष रुपमा देखापरेको छ। ८ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा पाकिस्तानले २५ वटा स्टल बुक गरेको थियो। तर उसले दुई वटामा मात्र भाग लियो। दुई देशबीचको विवादले बुकिङ भएका स्टलसमेत त्यत्तिकै रहे। 

यस वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलामा भारतले पनि ८० वटा स्टल बुक गरेको थियो। तर भारतको हकमा भने चुनाव कारण देखाइयो। उसले बुक गरेका स्टलमा पनि वस्तु आइपुगेनन्। स्टल खालि नै रहे। 

नेपाल उद्योग वाणिज्य महासंघले यस पटकको व्यापार मेलामा तीन सय २५ स्टल राख्ने तयारी गरेको थियो। ‘दुई सय २५ स्टल मात्रै भरियो,’ व्यापार प्रदर्शन समिति सभापति दिलसुन्दर श्रेष्ठले भने।’  

व्यापारको हिसाबले राम्रो भए पनि नेपाली उत्पादन कम भयो भनेर गुनासो आएको उनले बताए। भएकामध्ये नेपालीका ८३ वटा स्टल छन्। ‘रेसाबाट बनेका कपडा, हस्तकला तथा प्राकृतिक वस्तुको उत्पादनमा ग्राहक तानिए पनि इच्छाअनुसारका वस्तु पाउन सकेनन्’, उनले भने।   

एक लाख ५० हजार जनाले मेला अवलोकन गरे। १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको थियो। कारोबारले लक्ष्य भेट्टाएन। प्रदर्शनीमा राख्ने भनिएका स्टल घटे पनि कारोबार कम भएको सभापति श्रेष्ठले बताए। करिब १४ करोड जतिको कारोबार भयो,’ उनले भने। 

लगानी सम्मेलनले पनि व्यापार मेलालाई असर पारेको हो। सरकारले गत १५ र १६ गते लगानी सम्मेलन गरेको थियो। त्यसैको मुखमा चैत १४ देखि व्यापार मेला सुरु भयो। सबै लगानीकर्ता तथा सरकारी निकायको ध्यान त्यता तानियो। फेरि समय समय हुने मेलाले पनि त्यति उत्साह नथपिएको हुन सक्ने अनुमान सभापति श्रेष्ठको छ। 

‘लगानी सम्मेलनमा आएका बंगलादेश र चिनियाँ राजदूतले व्यापार मेलामा पनि आएका थिए, अवलोकन गरे,’ सभापति श्रेष्ठले भने, ‘चिनियाँ राजदूतले नेपाली कार्पेट अडर गरेका छन् भने बंगलादेशकाले पश्मिनाको सल खरिद गरे। बंगलादेशको स्टलमा घुमेका राजदूतले फर्निचर पनि प्रदर्शनीमा ल्याउन आफ्ना देशका व्यापारीलाई आग्रह गरे। 

सोचे जस्तो भएन व्यापार

‘सोचेजस्तो छैन व्यापार। नभएको पनि होइन। अपेक्षा गरेअनुसार भएन। ग्राहक पनि आएका छन्। तर, कम सेल भएको भयो। अघिल्ला वर्षहरूमा यो भन्दा धेरै व्यापार हुन्थ्यो,’ क्राफ्ट ललिपुरकी प्रबन्ध निर्देशक लजना श्रेष्ठले भनिन्। 

नेपाली वस्तुको प्रवद्र्धन गर्न आयोजना गरिएको व्यापार मेलामा चिनियाँ वस्तुका स्टलहरू धेरै भएकोले नेपाली वस्तु ओझेलमा परको छ। ‘नेपाली उत्पादनलाई व्यापार प्रवद्र्धनका लागि बढी जोड दिनुपर्नेमा थियो,’ ओशो फेसनका संचालक रविन थापाले भने, ‘गत वर्षको जस्तो व्यापार भएन।’ सरकारले नेपाली वस्तुलाई प्रवर्द्धन गर्न नसक्दा व्यापार कम भएको उनीहरूको गुनासो छ। 

महिनैपिच्छे हुने प्रदर्शनी र उस्तै खाले वस्तुका कारण पनि व्यापार घटेको अनुमान व्यापारीहरूको छ। ‘प्रदर्शनी धेरै हुन्छ,’ रग एण्ड ह्यान्डी क्राफ्टका संचालक प्रनित शाहीले भने, ‘नयाँ सामान होइन, नयाँ भनेको आर्ट मात्र हो।’ त्यसैले पनि ग्राहकमा उत्साह नथपिएको हुन सक्ने उनले बताए। ‘फेरि कार्पेट भनेको उच्च मूल्यको सामान हो। यसमा सबै उपभोक्ताको क्रय शक्तिले भ्याउँदैन। यसो विचार गर्दा नेपालीको क्रयशक्तिमा ह्रास आएको हो कि भनेर अनुमान पनि गर्न सकिन्छ’, उनले बताए।  कारोबारका हिसाबले व्यापार मेला राम्रो भए पनि उद्यमीहरू भने सन्तोष हुन सकेका देखिएनन्। ‘अब मेलामा भाग नलिए भयो,’ उनीहरू भन्दै थिए।

नेपाल उद्योग वाणिज्य महासंघले यस्तो प्रदर्शनी आयोजन गरेको यो आठौं हो। अहिले जस्तो उद्यमी तथा व्यापारी खिन्न पहिला भएका थिएनन्। उनीहरू धेरैको आवाज थियो– ‘आयोजकले चीनलाई बढी च्यापेको र नेपाली वस्तुको बेवास्ता ग-यो।
नेपाली वस्तुको प्रदर्शन, समृद्ध नेपाल निर्माण भन्ने नाराका साथ आठौं अन्तर्राष्ट्रिय व्यापार मेला भएको हो। 

प्रकाशित: १८ चैत्र २०७५ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App