२३ असार २०७७ मंगलबार
अर्थ

अहिले नीतिगत स्थिरता छ, लगानी गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएकोले लगानीको राम्रो अवसर रहेको बताएका छन्।

नेपाल लगानी सम्मेलन २०७५ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई लगानीको अवसरको साथै फाइदको विषयमा जानकारी गराएका थिए।“नेपालमा अहिले स्थिर सरकार,नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ। ”

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने “म तपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रस्तुत गर्दैछु ।”

प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुदैछ भन्ने आफूलाई विस्वास लागेको बताए। “विभिन्न देशबाट आउनुभएका लगानीकर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्नुस भन्ने आह्वान समेत गर्दछु” प्रधानमन्त्री ओलीले भने  प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमा लिएको बताउनुभयो । “यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानुनको निर्माण गरेका छौं ”

उनले नयाँ कानुनी तथा नीतिगत संरचनाले विदेशी लगानीकर्तालाई नेपालमा लगानी उत्प्रेरित गरेको बताए।  प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताए। 

प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताए “नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देश हो ” प्रधानमन्त्री ओलीले भने “सुरक्षित महसुस गर्नुहोस र अवसरको फाइदा लिनुहोस । तपाईंको लगानी संरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन ।”

प्रकाशित: १५ चैत्र २०७५ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App