७ वैशाख २०८१ शुक्रबार
अर्थ

११ लाखभन्दा बढी राजस्व संकलन

खोटाङ– ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट खोटाङमा आठ महिनामा ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनबाट ११ लाख ६९ हजार पाँच सय राजस्व संकलन भएको अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ।

गत साउनदेखि फागुनसम्ममा सवारी नियम उल्लंघन गर्ने एक हजार आठ सय ९३ सवारी साधनलाई कारबाही गरेर राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका इन्चार्ज रहेका प्रहरी नायव निरीक्षक नरेन्द्र पौडेलले बताए। लाइसेन्स नै नभएको, लाइसेन्स भए पनि साथमा नबोकेको, बिल बुक नबोकेको, हेल्मेट नलगाई मोटरसाइकल चलाएको, मोटरसाइकलमा तीन जना चढाएको लगायतका ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।

सबैभन्दा बढी सवारी नियम उल्लंघनका घट्ना पुसमा भएको र सो महिना सवारी साधन उल्लंघन गर्ने सवारी साधनबाट २ लाख २० हजार ५ सय राजस्व संकलन भएको ट्राफिक इन्चार्ज पौडेलले बताए। ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा बढि मोटरसाईकल चालक देखिएका छन्। गत वर्ष जिल्लामा १ हजार ८८० सवारी साधन कारबाहीमा पर्दा १० लाख ८४ हजार राजस्व संकलन भएकामा यस वर्ष ८ महिनामै त्योभन्दा बढि राजस्व संकलन भएको हो।

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा चलिरहेका सवारी साधनमा सरकारी कर्मचारीदेखि जनप्रतिनिधिले बिना अनुमतिपत्र सरकारी मोटरसाइकल चलाउने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। बर्षेनी सवारी चाप बढ्नु र जानाजान ट्राफिक नियम उल्लंघन गर्नुले सवारी चालक बढी कारबाहीमा पर्ने गरेको पौडेलले बताए। 
चालु आवमा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु
चालु आर्थिक वर्ष खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। गत साउनदेखि फागुनसम्ममा ट्याक्टर दुर्घटनामा ७ जना र जीप दुर्घटनामा १ जनाको मृत्यु भएको हो। १५ दिने सवारी दुर्घट्ना न्यूनीकरण अभियान समापनको अघिल्लो दिन बुधबार दिक्तेलमा पत्रकारसँगको समिक्षा कार्यक्रममा १४ वटा ट्याक्टर र एक वटा जीप दुर्घट्ना भएको जानकारी गराइएको छ। सवारी दुर्घट्नामा आठ जना गम्भीर र १६ जना सामान्य घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज पौडेलले बताए।

सवारी दुर्घट्ना न्यूनीकरणका लागि प्रदेशस्तरीय कार्यक्रम अन्तरगत ट्राफिक प्रहरीले जिल्लामा जनचेतनामूलक प्रशिक्षण तथा पर्चा पम्प्लेट वितरण, राजमार्गमा रहेको अव्यवस्थित पार्किङ, क्षेत्राधिकारभित्र रहेका अस्थायी टहरा, वर्कशप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, सडकमा थुपारेका निर्माण सामग्री हटाउने, कलेज, विद्यालयका विद्यार्थी ओसारपसार गर्ने सवारीको चेकजाँच, अनुगमन, कारवाही, चालकको स्वास्थ्य परिक्षण, कागजात, जुत्ता प्रयोग, बसको रंग, सवारीको अवस्था, गति पोशाक चेकजाँच, शिक्षक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रम गरिरहेको छ। 

प्रकाशित: १४ चैत्र २०७५ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App