१६ चैत्र २०८० शुक्रबार
अर्थ

लगानी सम्मेलनमा अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

काठमाडौं - सरकारले आगामी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ।

सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो। अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने बताए। सम्मेलनमा नेपाल सरकारको तर्फबाट लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा एवं स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिने उनले जानकारी दिए। त्यस्तै, करिब एक दर्जन विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको उनले बताए।

लगानी सम्मेलन मुलुकलाई समृद्ध बनाउने सबैको साझा अभियान भएको बताउँदै उनले सम्मेलन सफल बनाउन सहयोगका लागि सबैसँग आह्वान गरे। ‘नेपालमा लगानीको वातावरण बनाउन सकिएन भने हाम्रा छोराछोरी, दाजुभाइ दिदीबहिनीहरु वैदेशिक रोजगारी खोज्दै हिँड्नुपर्ने हुनसक्छ,’ पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने, ‘हामी जुन उद्देश्यका लागि लडिराखेका छौं, त्यो उद्देश्य पहिल्यै पराजित हुने डर हुन्छ। त्यसैले हामी पराजित हुने काममा नलागौं, मुलुकलाई समृद्धिको बाटोमा लैजान सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं।’

विगतका लगानी सम्मेलनमा भएका उपलब्धिहरुलाई अझ सुदृढ गर्दै त्यसको पतिफललाई अझ बढी व्यावहारिक कार्यान्वयनमा लैजान सकिने परियोजनाहरुबारे छलफल गरेर एउटा टुंगोमा पुर्‍याउन यो सम्मेलन आयोजना गरिएको उनले प्रस्ट पारे। ‘पछिल्ला वर्षहरुमा देखिएका विकासका सम्भावनाहरु, त्यसमा निजी क्षेत्रका लगानीका थप सम्भावना र अवसरहरुलाई ‘शो केसिङ’ गर्ने र त्यससँग सम्बन्धित ७७ वटा परियोजनाबारे विस्तृतमा जानकारी दिनेछौं,’ मन्त्री खतिवडाले भने ‘लगानीका लागि तयारी अवस्थामा रहेका हाम्रा समझदारीहरुलाई एमओयू गरेर कार्यान्वयनमा लैजाने काम यो सम्मेलनले गर्नेछ।’ यो सम्मेलन सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रको बीचमा नेटवर्किङ बढाउने एउटा सुनौलो अवसर भएको उनले बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि सम्भावित क्षेत्र भनिएका आयोजनाको ‘प्रि–फिजिबिलिटी डेस्क स्टडी’ तयार रहेको र त्यसैका आधारमा लागत अनुमान गरिएको जानकारी दिए। ‘हामीले प्रारम्भिक चरणको अध्ययन गरेर आयोजनाको सूची बनाएका छौं,’ उनले भने, ‘लगानीकर्ताले भविष्यमा आफूले अघि बढाउने आयोजनाको विस्तृत अध्ययन गर्छ र काम अघि बढाउँछ।’ लगानी सम्मेलनमा आउने लगानीकर्ताले शो–केस गरिएका आयोजना अघि बढाउन प्रस्ताव राख्न सक्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए। सम्मेलनमा परेका प्रस्तावमाथि दुई महिनाभित्रमा निर्णय दिइसक्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लगानी सम्मेलनका लागि सरकारले राम्रो तयारी गरेको बताइन्। सरकारले आफूहरुले उठाउँदै आएको धेरै कुरा कानुनी रुपमा सम्बोधन गरिसकेकाले लगानीकर्तालाई आकर्षित गर्न सकिने उनको भनाइ छ। ‘सरकारले गरेको एकद्वार सेवाको विषयले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नेछ,’ उनले भनिन्, ‘समग्रमा लगानी सम्मेलन फलदायी र उपलब्धिमूलक हुनेमा निजी क्षेत्र पूर्ण आशावादी छ।’

विगतमा विदेशी लगानीकर्ताले नेपालमा राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण नभएको बताउँदै आएको उनले बताइन्। ‘अहिले स्थिर र शक्तिशाली सरकार बनेको छ। ऊर्जाको समस्या छैन,’ अध्यक्ष राणाले भनिन्, ‘सरकारको नारा नै आर्थिक समृद्धि रहेकाले लगानीमैत्री वातावरण बनेको छ। यसबाट लगानीकर्तालाई आकर्षित गर्न सक्छौं।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार र निजी क्षेत्र मिलेर लगानी सम्मेलनलाई सफल बनाउनुपर्नेमा जोड दिए। सम्मेलनमा ६ सय विदेशी लगानीकर्ता आउनु एकदमै सकारात्मक भएको उनले बताए। ‘राजदूतहरुले लगानीको वातावरणका विषयमा सकारात्मक कुराकानी गरिरहेका छन्,’ उनले भने, ‘ऐन कानुन सुधारका विषयमा पनि कूटनीतिक नियोगले नजिकबाट हेरिरहेका छन्। अहिले सकारात्मक प्रचार भएकोले पनि विदेशी लगानीकर्ताहरु आकर्षित हुने अपेक्षा छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानी सम्मेलनले समृद्धिको ढोका खोल्ने आशा व्यक्त गरे। निजी क्षेत्रको समेत सहभागितामा सरकारले लगानी सम्मेलन आयोजना गरिएको हुँदा सफल हुने उनको विश्वास छ। ‘धेरै समयपछि ठूलो संख्यामा लगानीकर्ताहरु भेला हुन लागेका छन्,’ उनले भने, ‘नेपालमा लगानीको अवसरबारे सकारात्मक सन्देश विश्वभर पुर्‍याउने यो उपयुक्त अवसर हो।’ नेपालमा घाटा बेहोर्नु नपर्ने पक्ष विदेशी लगानीकर्ताका लागि राम्रो भएको उनको भनाइ छ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष डोङ लीको उपस्थिति रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर, युनिलिभर लगायत विश्व प्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रनिनिधिसमेत सम्मेलनमा सहभागिता रहनेछ।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन्। त्यसैगरी, सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र सञ्चालन हुने जानकारी दिइएको छ।

‘सरकारले यो लगानी सम्मेलनमार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो सम्मेलनबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’
 

प्रकाशित: १४ चैत्र २०७५ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App