८ वैशाख २०८१ शनिबार
अर्थ

केरामा देखिएको रोगले किसान चिन्तित

केरामा देखिएको समस्या पहिचान गर्न परीक्षणका लागि नमूना संकलन गरिँदै। तस्बिर : नागरिक

चितवन - किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।

कुनै ठाउँमा पानामा, गुभो कुहिने भनेर चिनिने रोगको जस्तै लक्षण देखिएकाले परीक्षण गर्ने काम सुरु गरिएको उनले बताए। केरामा लागेको रोग पहिचान गर्न पूर्वी चितवन क्षेत्रबाट नमूना संकलन गरिएको उनले जानकारी दिए। केरामा लागेका रोग, किरा र माटोमा देखिएको समस्या के हो भनेर पहिचान गर्न परीक्षणका लागि आवश्यक नमूना संकलन गरिएको उनले बताए। ‘केराको बोट र माटोको नमूना संकलन गरिएको छ,’ उनले भने, ‘अनुसन्धानका लागि संकलित नमूना ललितपुर पठाएका छौं।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय फलफूल विकास केन्द्र, बाली संरक्षण प्रयोगशाला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन चितवन र कृषि ज्ञान केन्द्र चितवनको टोलीले स्थलगत निरीक्षण गरेर शुक्रबार नमूना संकलन गरेको थियो। टोलीले कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट रोग, किरा र माटोको नमूना संकलन गरेको हो। संकलन गरिएको नमूना परीक्षणका लागि नार्कअन्तर्गतको बाली रोग विज्ञान महाशाखाको बाली संरक्षण प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला ललितपुर पठाईएको ढुंगानाले जानकारी दिए।  

केराखेतीमा देखिएको समस्या मालभोग जातको केरामा मात्र देखिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठ बताउँछन्। निरीक्षणका क्रममा मालभोग जातका केरामा गुभो कुहिने, ओइलाउने, माटोमा निमाटोडले क्षति पुयाएको पाइएको उनले बताए। मालभोग बाहेकका अरु जातमा यस्तो समस्या नदेखिएकाले विकल्पमा नयाँ जातको केरा प्रयोग गरी रोग अवरोधक बनाउनुपर्ने उनको भनाइ छ। यसबारे अनुसन्धान गर्नु आवश्यक रहेको उनी बताउँछन्।  

मालभोगमा पनि पहिलेदेखि केराखेती गरिएका पुराना बगैंचामा यो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत ढुंगाना बताउँछन्। रोगका कारण किसानको बगैंचामा २० देखि ५० प्रतिशतसम्म क्षति पुगेको छ। ढुसीका कारण वा के कारणले केराखेतीमा समस्या देखिएको हो भनेर परीक्षण पनि मात्र थाहा हुने उनले बताए। परीक्षणको नतिजा सातदेखि १० दिनभित्र प्राप्त हुने उनले बताए। केरा जोन चितवनमा जिल्लामा गरिएको एक हजार ३५ हेक्टर केराखेती सूचिकृत भएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिकाको ठिमुरा, कालिका, खैरहनी र रत्ननगर नगरपालिका केराखेती गरिएका स्थान जोनमा सुचिकृत भएका छन्। समेटिएका नगरपालिकाका पनि सबै स्थानका केराखेती जोनमा सुचिकृत हुन नआएको उनले बताए। केराखेतीमा देखिएको समस्याले किसानहरुलाई चिन्तित बनाएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो बताउँछन्। तीन वर्ष अघिदेखि पुराना बगानमा देखिन थालेको रोगमा थाम फुट्ने, ओइलाउने, थाम काटेर हेर्दा रातो÷कालो देखिने रोग देखिएको उनले बताए। किरा वा ढुसीले के ले रोग लागेको हो भनेर अध्ययन गरेर किसानको समस्या समाधान गरिनुपर्ने उनको भनाइ छ।

‘यसका लागि एक–दुई ठाउँको मात्र नमूना संकलन गरेर हुँदैन,’ उनी भन्छन्, ‘पश्चिम चितवनमा पनि यस्तो रोग देखिएको छ, धेरै संख्यामा किसान प्रभावित भएका छन्।’ पूर्वी चितवनसँगै पश्चिम चितवनमा पर्ने भरतपुर महानगरपालिकाको जगतपुर, मेघौली, पार्वतीपुर, गुञ्जननगर, पहिटानीलागयत स्थानमा केराखेती गरिन्छ। चितवनमा करिब २७ सय हेक्टरमा केराखेती हुँदै आएको उनी बताउँछन्। ६ सय ३० किसान संघमा आबद्ध छन्। केराखेती गर्ने अधिकांश किसानले मालभोग जातका केराखेती गर्ने गरेका छन्। हरियो जातको केरा करिब पाँच सय हेक्टरमा लगाइएको छ। बाँकी सबै क्षेत्रफलमा मालभोग केरा नै किसानले लगाएको उनले बताए।

प्रकाशित: ११ चैत्र २०७५ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App