८ वैशाख २०८१ शनिबार
अर्थ

कच्चा पदार्थ र निर्माण उपकरणको आयात घट्यो

वीरगन्ज भन्सारको ‘आइसिपी’ नाका । तस्बिर : नागरिक

वीरगन्ज - बैंकको ब्याजदरमा अनपेक्षित वृद्धि र बजारमा पुँजी अभावको असर नेपालले आयात गर्ने मुख्य मालवस्तुको पैठारीमा परेको छ। निर्माण सामग्री उत्पादनको लागि चाहिने कच्चा पदार्थ, निर्माण कार्यमा प्रयोग हुने उपकरण, विद्युत् आयोजनाका सामग्री, फलामका फर्निचर, गाडीका चेचिस, मोटरसाइकल लगायतको आयात पोहोरको भन्दा खस्केकोे छ। यस आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो।

चालु आर्थिक वर्षमा तीन तहका सरकारले पुँजीगत बजेट खर्च गर्न नसकेपछि अपेक्षित रुपमा नयाँ योजना आउन नसकेको सरोकारवालाले बताएका छन्। वीरगन्ज औद्योगिक करिडोरमा रहेका १३ वटा सिमेन्ट उद्योगको लागि ८५ प्रतिशत कच्चा पदार्थ आयात भएर भारतबाट आउँछ। क्लिंकर आयात करिब ४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। गत वर्ष ११ लाख ३५ हजार एक सय ३५.६८ टन क्लिंकर आयात भएकोमा यो वर्ष ६ लाख ७१ हजार तीन सय ६७ टन मात्र आयात भएको छ।
सिमेन्ट बनाउन प्रयोग हुने जिप्समको आयात पनि ६७ प्रतिशतले घटेको छ। पोहोर एक लाख १३ हजार सात सय ७४ टन जिप्सम आयात भएकोमा यो वर्ष ३७ हजार नौ सय ६३ टन मात्र आएको छ। स्लेग सिमेन्ट बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ स्लेग आयातमा १२.३१ प्रतिशतले कमी आएको छ। गत वर्ष यसै अवधिमा ६ लाख ७७ हजार टनभन्दा बढी स्लेग आयात भएकोमा यो वर्ष फागुन मसान्तसम्ममा पाँच लाख ९३ हजार टनभन्दा थोरै बढी भित्रिएको छ।

निर्माण उपकरणको रुपमा आयात हुने एस्काभेटर वीरगन्ज नाकाबाट यो वर्ष एक हजार चार सय ३९ वटा आयात भएको छ। पोहोर साउनदेखि फागुनसम्ममा दुई हजार चार सय ४३ थान आयात भएको थियो। क्रेन लरी गत वर्ष आठवटा आयात भएकोमा यो वर्ष चारवटा मात्र आएको छ। नेपालमा सबभन्दा बढी खपत हुने सवारी साधन मोटरसाइकल हो। पछिल्ला वर्षमा यसको आयात बर्सेनि बढिरहे पनि यसपालि उक्र क्रम भंग भएको छ। गत वर्ष फागुनसम्ममा ९६ हजार चार सय १० वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष ७९ हजार तीन सय एकवटा मात्र आएको छ।

विभिन्न जलविद्युत् आयोजनाका मालवस्तु अघिल्लो वर्ष उल्लेखनीय परिमाणमा भित्रिए पनि यो वर्ष त्यसरी नआएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रसाशक श्यामप्रसाद भण्डारीले बताए। उनका अनुसार प्रमुख मालवस्तुको आयातमा कमी आएपछि त्यसको असर राजस्व संकलनमा परेको छ।
चालु आर्थिक वर्ष २०७५÷०७६ फागुन मसान्तसम्म वीरगन्जस्थित मुलुकको प्रमुख भन्सार कार्यालयले लक्ष्यको ९३.४५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। फागुन मसान्तसम्म यस कार्यालयले एक खर्ब एक अर्ब २८ करोड ५८ लाख राजस्व संकलन गरेको छ। उक्त कार्यालयलाई सो अवधिसम्म एक खर्ब ८१ अर्ब ११ करोड ६८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो।
यो भन्सार कार्यालयबाट मुख्य रुपमा सवारी साधन तथा त्यसको पाटपुर्जा, पेट्रोलियम पदार्थ, पत्थर–कोइला, औद्योगिक कच्चा पदार्थको रुपमा आयात हुने फलाम, फलामे छड, डन्डी, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चापदार्थ, आयात हुने गरेको छ। त्यस्तै फिड सप्लिमेन्ट, स्पोर्ट सुज (सेन्थेटिक सुज), जुस जाम, खुदो, आल्मुनियम छड, डन्डी, जमोठ कपडा, सिआरसिट, हाते झोला, फलामे पत्रु, टोपी तथा तामाका सामान लगायत मालवस्तु निकासी हुने गरेका छन्।

प्रकाशित: १० चैत्र २०७५ ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App