coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किसान केरा खेतीतर्फ आकर्षित

इटहरी - ६ वर्षअघिसम्म सुनसरी रामधुनी–८ (साविक डुम्राहा वडा नं. ३)का रामकुमार मेहता धान खेती गर्दै आएका थिए। अन्नबाली उत्पादनको उर्वर भूमि रामधुनीमा बर्खाको सिजनमा लगाएको धान ७० मन (प्रतिमनमा ४० केजी) उत्पादन हुने गथ्र्यो। तर, उनलाई धानबाट भन्दा पनि केरा खेतीबाट आम्दानी राम्रो हुने कृषिविज्ञले सल्लाह दिएपछि सोच बदले। अहिले उनले त्यही एक बिघामा केरा खेती गर्न थाले।

यतिबेला धान खेतीभन्दा केरा खेतीबाट रामकुमार सन्तुष्ट छन्। ‘केरा खेतीबाट सबै खर्च कटाएर मेरो वार्षिक दुई लाख बच्छ,’ उनले भने, ‘पहिला धान खेती गर्दा मलाई घर खर्च धान्न निकै धौंधौं थियो। अहिले त्यस्तो समस्या छैन।’

सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसान अहिले धानसँगै अन्य खेती छाडेर केरा खेती गर्न थालेका छन्। इनरुवा–९ बबियाका किसान सदानन्द यादव उखु खेतीबाट सन्तुष्ट नभएर केरा खेती गर्न थालेका छन्। उनका अनुसार रोग नलाग्दा र हावाहुरीले समस्या सिर्जना नगर्दा केरा खेतीबाट राम्रो आम्दानी हुने गर्छ। यहाँ धान, गहुँ र उखु खेतीबाट दिक्क भएर पछिल्लो समय किसान केरा खेतीतर्फ आकर्षित भएका हुन्।
धान र गहुँमा बढी मिहेनत गर्नुपर्छ। उखु खेती गरेर समयमा रकम र उचित मूल्य नपाउँदा किसान केरा खेतीतर्फ आकर्षित हुँदै छन्। एक पटक रोपेपछि बेला बेलामा रेखदेख र स्याहार गर्दा हुने भएकाले गर्दा पनि केरा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख बौवालाल चौधरीले जनाए।

उखुको तुलनामा केरा खेती गर्न दोब्बर फाइदा हुने भएकाले इनरुवा–९ कै किसान गणेशी यादवले १० वर्षदेखि केरा खेती लगाउन थालेकामा अहिले पनि त्यसैलाई निरन्तता दिएका छन्। उनको अनुभवमा २०७२ मा आएको भूकम्पपछि भने केराको बजार केही हदसम्म खस्केको छ।

सामान्यतः केरामा नौदेखि १२ महिनासम्म फल लाग्ने गर्छ। त्यसको दुई–तीन महिनापछि मात्रै फल काट्नलायक हुन्छ। त्यस अवधिभर सिँचाइ, गोडमेल र किरा नियन्त्रणमा ध्यान दिनुपर्छ। केराको सबैभन्दा बिनासकारी किरा गवारो नै हो। त्यसो त एकातिर केराबाट आम्दानी राम्रो भए पनि पाकेपछि तत्काल बजार लैजानुपर्ने र नबिके कुहिने वा सस्तोमा बेच्नुपर्ने बाध्यता छ। अर्कातिर कतिपयले केरा खेती गर्दा अनुदान नपाएको र मूल्य पनि अरु चिजको जस्तो आशा गरे बमोजिम नभएको राजगञ्ज सिनुवारीका किसान अर्जुनकुमार यादवको गुनासो छ।

केरा खरिद गर्न गाउँघरमै आउने बिचौलियाले गर्दा किसानले उचित मूल्य नपाउने गरेको अर्जुनको गुनासो छ। यहाँका व्यापारीले केरा काठमाडौंसम्म लैजाने गरेका छन्। स्थानीय बजारमा पनि जिल्लामा उत्पादित केरा बिक्री हुने गरेको छ। सुनसरीमा अहिले करिब तीन सय हेक्टरमा केरा खेती गरिएको छ। जिल्लामा वार्षिक ६ हजार चार सय मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ। स्थानीय बजारमा प्रतिदर्जन केरा ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ। तराई र भित्री मधेसमा राम्रोसँग खेती गर्न सकिने बालीमध्ये केरा खेती पर्छ।

‘केरा खेती गर्न कम लागत र छोटो समयमै सन्तोषजनक उत्पादनको रुपमा लिन सकिन्छ,’ कृषि ज्ञान केन्द्र सुुनसरीका प्रमुख चौधरीले भने, ‘स्वास्थ्यका दृष्टिकोणले पनि अरु फलफूलभन्दा केरा उत्तम हो।’ केरा शक्ति प्रदान गर्नेमा उत्कृष्ट मानिन्छ।
 

प्रकाशित: १० चैत्र २०७५ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App