८ वैशाख २०८१ शनिबार
अर्थ

१३ औं बिरुवा बजार महोत्सव सुरु

स्याङ्जा - १३ औं बिरुवा बजार महोत्सव बिहीबार सुरु भएको छ। बालकन्या युवा क्लब र समाज कल्याण आमा समुहद्वारा आयोजित महोत्सव अगामी १० गतेसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दीलिपकुमार बगालेले भने, ‘ग्रामीण भेगमा आयोजित मेला–महोत्सवले गाउँ–ठाउँको पहिचान गराउन सफल हुनेछ।’

गाउँमा लुकेर रहेका सम्भावना र प्रतिभालाई मेला–महोत्सवको अवसरमा प्रस्फुटन गरी प्रचार–प्रसार, संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको उनले बताए। ‘ग्रामीण भेकका मौलिक संस्कृति हाम्रो सम्पदा, सम्पत्ति हुन्,’ उनले भने, ‘यसको प्रचार–प्रसार, संरक्षण र सम्बद्र्धन स्थानीय तहदेखि नै हुनुपर्छ।’
ग्रामीण समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्नु तीन तहकै सरकारको दायित्व रहेको उनले बताए। मेला–महोत्सवको बेलामा मात्र संस्कार र संस्कृति संरक्षणको कुरा आउने बताउँदै उनले थपे, ‘हाम्रो संस्कार, संस्कृति र भाषा हराए हामी पनि हराउछौं।’

युवाहरुको देश विकासको कर्णधार भएको उनको भनाइ थियो। ‘समृद्ध नेपाल, सुखी नेपाली युवाशक्तिबाट मात्र सम्भव छ। उनीहरुको क्षमतालाई पहिचान गरी राष्ट्रले सहीसदुपयोग गर्न सक्नुपर्छ,’ उनले भने। देशको अर्थतन्त्र मजबुद बनाउन सरकारले स्पष्ट रुपमा युवा जनशक्तिलाई परिचालन गर्ने ऐन, कानुन बनाउनुपर्ने उनको भनाइ थियो।

बिरुवा गाउँपालिका प्रमुख चुनप्रसाद शर्माले बिरुवा बजार महोत्सव समग्र बिरुवावासीको गर्वको विषय भएको बताए। उनले भने, ‘बिरुवा पहिचान बिरुवा महोत्सवले गरेको हो। महोत्सव बिरुवा ब्रान्ड एम्बेसडर हो।’ स्थानीय स्तरमा उपलब्ध स्रोत र साधन उपयोग गरी महोत्सव आयोजना गर्नु चनचुने कुरा नभएको उनले बताए। गाउँपालिकाद्वारा भाषा, संस्कृति, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, रामजी खाँण, शिव हमाल, शंकर विरही गुरुङ, कुमार पुन, राजन कार्की लगायतको सांस्कृतिक प्रस्तुति रहने महोत्सव संयोजक अब्बु मियाँले जानकारी दिए। यसैगरी, अन्य कलाकार कुशल बेलवासे, गणेश राना, बालकृष्ण वाग्ले, माया गुरुङ, काजल गुरुङ, सुरेश राना, निकिता गुरुङको पनि प्रस्तुति रहने उनले बताए।

हास्यँव्यग्य दीपक थापा, लाइभ कन्सर्ट मझेरी ब्यान्ड, भिक्टोरिया डान्स एन्ड एक्टिङ स्कुल दमौली, नवसाधना कला केन्द्र पोखरा, स्थानीय बिरुवा साँस्कृतिक मञ्च, बालकन्या युवा क्लबका कलाकारहरुको प्रस्तुति समेत हुने आयोजकले जनाए। महोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। महोत्सवको मुख्य आकर्षकमध्ये भलिबल पनि एक हो। भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५५ हजार, ३३ हजार र २० हजार सिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। महोत्सवमा करिब ५० वटा स्टल छन्। महोत्सव अवधिभर करिब ५० लाख कारोबार गर्ने र १० लाख बचत गर्ने आयोजकको लक्ष्य छ।

 

 

प्रकाशित: ८ चैत्र २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App