३० असार २०७७ मंगलबार
अर्थ

सहयोग उठाउनेका नजर परदेशका नेपालीमा

मलेसिया – करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वालालम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथम सचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्। ‘काठमाडौंमा हामी शिशु स्याहार केन्द्र चलाइरहेका छौं, उक्त केन्द्रलाई सहयोग जुटाउन मलेसियामा रहेका नेपालीबाट चन्दा उठाउन चिठी बनाइदिनुपर्याे,’ ती युवतीले मुखियालाई आग्रह गरिन्। मुखियाले उनको पासपोर्ट हेरे। ‘ट्राभल’ भिसामा मलेसिया पुगेकी रहिछन्। राजदूत बिदामा स्वदेश गएकाले मुखिया नै कार्यबाहक राजदूत थिए। उनले जथाभावी चन्दा उठाउन दूतावासले सिफारिस दिन नसक्ने भन्दै युवतीलाई फर्काइदिए।

क्वालालम्पुरमा प्रायः नेपाली भेटिरहने कोतारायाको एक नेपाली रेस्टुरेन्टमा तीन साताअघि बुटवल घर बताउने एक युवती चन्दा माग्दै पुगिन्। बुटवलमा आफूहरुले अनाथ आश्रम सञ्चालन गरिरहेको र आश्रममा रहेका मिर्गौलापीडित र ब्लड क्यान्सरपीडित बालबालिकाको उपचारका लागि खर्च अभाव भएकाले सहयोग जुटाउन हिँडेको उनको दाबी थियो।

उनले आश्रम र त्यस्ता बालबालिकाका केही तस्बिर पनि बोकेकी थिइन्। उनले झन्डै एक महिना क्वालालम्पुर बसेर नेपाली रेस्टुरेन्ट तथा जमघटस्थल घुमेर सहयोग उठाइन्। रेस्टुरेन्टमा खान आउने नेपालीले एक मलेसियन रिंगेटदेखि ५० सम्म दिन्थे। उनी दैनिक तीन पल्टसम्म कोतारायाका नेपाली रेस्टुरेन्ट पुग्थिन्।  कोतारायाका नेपाली रेस्टुरेन्ट सञ्चालकले ‘ट्राभल’ भिसामा आएकी ती युवती एक महिना क्वालालम्पुर बसेर करिब २० हजार रिंगेट (साढे पाँच लाख रुपैयाँ) संकलन गरेर लगेको अनुमान गरे। 

माथिका दुई दृष्टान्त प्रतिनिधि घटनामात्रै हुन्। स्वदेशमा समाज सेवा गर्ने बहानामा आर्थिक सहयोग उठाउन बेलाबेलामा ‘समाजसेवी’हरु मलेसिया आइरहन्छन्। स्वदेशमा केही सामाजिक काम गर्नुपर्दा आर्थिक सहयोग जुटाउन विदेसिएका श्रमिककै मुख ताक्ने गरिएको यहाँका नेपाली बताउँछन्। पछिल्लोपटक धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने भन्दै मलेसियाका विभिन्न सहरमा कार्यक्रम गरेर फर्कियो। फाउन्डेसनको उद्देश्य कार्यक्रमको टिकट बेच्ने भनिए पनि प्रायःलाई टिकटभन्दा बढी मूल्य बराबरको चन्दा हाल्न लगाउनु थियो। फाउन्डेसनले मलेसियाको क्वालालम्पुर, पेनाङ र जोहरबारु गरी नेपालीको बाक्लो उपस्थिति रहेका तीन सहरमा कार्यक्रमको टिकट बिक्रीबाहेक ३५ लाख रुपैयाँ संलकन ग¥यो। एउटा सहरमा तीन घन्टा कार्यक्रम गरेको फाउन्डेसनले टिकटमा प्रतिव्यक्ति २५ मलेसियन रिंगेट (झन्डै ६ सय ७५ रुपैयाँ) लिएका थिए।

आफ्नो देश छाडेर परदेशमा पसिना बगाउन पुगेका नेपाली स्वदेशमा सामाजिक काम भनेपछि धक फुकाएर सहयोग गर्छन्। ‘परदेशमा रहँदा देशको माया अझ बढी लाग्दोरहेछ,’ दोलखाली समाज मलेसियाका अध्यक्ष रमेश बस्नेतले भने, ‘त्यसैले यस्ता सामाजिक काममा खुसी भएर पैसा दिन्छन, तर त्यसको पारदर्शिता खोज्दैनन्।’

रंगशाला निर्माणको घोषणा गरेरै सहयोग अभियान चलाइरहेका धुर्मुस सुन्तलीलाई छुट्टै अपवादमा राख्दा अरु प्रायः चन्दा उठाउने दाउ राखेर सुटुक्क ट्राभल भिसामा छिर्छन् वा यहाँ रहेका विभिन्न संघ–संस्थालाई प्रयोग गर्छन्। चन्दा उठाउने उद्देश्यले आफैं आएकाहरु काठमाडौंबाट ‘ट्राभल’ भिसामा क्वालालम्पुर आएर बस्ने र नेपालीको बाक्लो बसोबास रहेका क्षेत्रमा पुग्ने गर्छन्। यहाँ रहेका श्रमिकका अनुसार नेपालीहरु खाना खान आउने रेस्टुरेन्ट, भीडभाड हुने पार्क र क्षेत्रहरुमा चन्दा संकलन गर्नेहरु भेटिन्छन्। ‘नेपालमा सामाजिक काम गर्न लागेको भनेर रेस्टुरेन्टमा भीड भएको बेला चन्दा उठाउन आउँछन्,’ कोतारायामा नेपाली रेस्टुरेन्ट सञ्चालन गरेर बसेका पाँचथरका कृष्णबहादुर आङदेम्बेले भने, ‘नेपालीहरु पनि खुसीले एकदेखि ५० रिंगेटसम्म सहयोग गर्छन्।’ 

फेब्रुअरी ६ का तीन युवाले क्वालालम्पुरमा नेपाली भेटघाट गर्ने थलो घन्टाघरमा नेपालको स्कुललाई सहयोग भन्दै रसिद काटेर पैसा उठाइरहेका थिए। घन्टाघरमै जनवरी अन्तिम साता तीनजना नेपालीबीच संकलन गरिएको रकमको हिसाबकिताबको विषयमा कुटाकुट भएको थियो। पछि नेपालीहरुले नै पुलिस केस नगर्ने गरी घटनालाई सामसुम पारेर मिलाएका थिए। 

स्वदेशमा रहेका स्कुल, संघ–संस्था वा सामाजिक कामका लागि रकम आवश्यक परे विदेशमा रहेका नेपाली संघ–संस्था परिचालन गर्ने चलन छ। त्यसका लागि संघ–संस्थाले कन्सर्ट, सांस्कृतिक कार्यक्रमलगायत गरेर सहयोग उठाउँछन्। कतिपय अवस्थामा त्यस्ता सहयोग र खर्चका विवरण पारदर्शी हुँदैनन्। गैरआवासीय नेपाली संघ, जिल्ला क्षेत्र, तहका सम्पर्क समाजहरु, विभिन्न जातीय, भेगीय, संघ–संस्था गरेर मलेसियामा दर्जनौं नेपाली संस्था छन्। नेपालमा विद्यालय बनाउने, स्वाथ्य चौकी निर्माण गर्ने, अनाथ आश्रमलाई सघाउ पुर्याउने, दुःखीलाई सहयोग गर्ने लगायत नाममा हुने कार्यक्रम तथा अभियानबाट संकलित रकमको पारदर्शिताबारे बेलाबेलामा विवाद भइरहन्छ। 

दलनिकट जनवर्गीय र भातृ संस्थासमेत नेपालमा सहयोग पठाउँदा कहिलेकहीँ हैरानै हुन्छन्। ‘यहाँ कार्यरत मजदुर सदस्यबाट हाम्रो संगठन चल्ने हो,’ तत्कालीन नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे भन्छन्, ‘कहिलेकहीँ त चन्दा सहयोगका लागि स्वदेशबाट अनावश्यक दुःख पनि दिन्छन्।’ पाण्डे सामाजिक कामका लागि आर्थिक सहयोग माग्नेको नजरमा विदेशका नेपाली आर्थिक रुपले सबल हुने र देशका लागि जे पनि गर्न पछि पर्दैनन् भन्ने सोचाइ रहेका कारण रकम उठाउन परदेशका नेपालीलाई लक्षित गर्ने गरेको ठान्छन्। ‘यहाँ पसिना बगाएर साह्रै दुःखले गुजारा गरिरहेका हुन्छन्,’ पाण्डे भन्छन्, ‘अनावश्यक विषयमा सहयोग माग्दा चाहिँ श्रमिकलाई नराम्रो लाग्न सक्छ’। 

कलाकार पनि ठगिन्छन्
विभिन्न नाममा आयोजना हुने सांगीतिक साँझ, कन्सर्टलगायत लागि नेपालबाट झिकाइने कलाकार समेत त्यस्ता आयोजकबाट ठगिने गरेका छन्। दूतावास कर्मचारीका अनुसार नेपालबाट निम्ता गरिएका कलाकारलाई कबुलेको रकम नदिएको जस्ता उजुरी दूतावासमा पटकपटक आएको छ। 

संस्था दर्ता हुनै आउँदैनन्
मलेसियामा गठन गरिएका सामाजिक संघ–संस्थालाई दर्ता हुन आउन दूतावासले पटकपटक आग्रह गर्दै आएको छ। ‘यहाँ रहेका नेपालीलाई दुःख पर्दा वा समस्या पर्दा यस्ता किसिमका संस्थामार्फत जान पाए हामीलाई पनि सजिलो हुन्थ्यो,’ नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव विनोद मुखिया भन्छन्, ‘तर त्यस्ता संस्थालाई दर्ता हुन आउनुस् भनेर पटकपटक आग्रह गरे पनि उहाँहरु दर्ता हुन आउनुभएकै छैन।’ उनले त्यस्ता संस्थामार्फत सहकार्य गर्न दूतावास तयार रहेको सुनाए। 

प्रकाशित: ६ चैत्र २०७५ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App