coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विकासमा छलाङ मारेका छौं : महासेठ

तस्बिर : दिनेश लुइटेल/नागरिक

काठमाडौं – दुई तिहाइको बलियो सरकारले सर्वसाधारणको अपेक्षा अनुसार विकास गर्न नसकेको गुनासो व्याप्त रहेको बेला पूर्वाधार निर्माणको बागडोर सम्हालेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काममा छलाङ मारेको दाबी गरेका छन्। 

मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको उपलक्ष्यमा मंगलबार पत्रकार सम्मेलन गरेका मन्त्री महासेठले यसअघिका कुनै पनि वर्ष हुन नसकेको पुल निर्माणको काम एक वर्षमा सम्पन्न गरेको जिकिर गरे। 

‘विगतका कुनै पनि वर्ष ४०–५० भन्दा बढी पुल निर्माण भएका थिएनन्,’ उनले भने, ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि ९४ वटा पुलको निर्माण कार्य सकेको छु।’ मन्त्रालयले चालु आर्थिक वर्षमा सयवटा पुल निर्माण गर्ने लक्ष्य लिए पनि महासेठले भने दुई सयवटा पुल निर्माण गर्ने गरी कामलाई गति दिइएको बताए। उनले पर्याप्त बजेटको व्यवस्था भयो भने तीन सयवटा जति पुल निर्माण हुन सक्ने बताए। 

विभिन्न स्वतन्त्र निकायले विकास गर्न छुट्ट्याइएको बजेट सरकारले खर्च गर्न नसकेको आरोप लगाइरहेको बेला महासेठले ठूला आयोजनामा बजेट अभाव हुन थालेको समेत जिकिर गरे। ‘चालु आवको अहिलेसम्म काममा भएको सबै खर्चको विवरण संकलन हुन बाँकी नै छ,’ उनले भने, ‘फागुन मसान्तसम्म वित्तीय प्रगति ३८ प्रतिशत हासिल गरेका छौं।’ काम गरेबापतको भुक्तानी दिनुपर्ने भएकाले चैत मसान्तसम्म मन्त्रालयको वित्तीय प्रगति ६० प्रतिशत पुग्ने उनको भनाइ छ। आर्थिक वर्षको अन्त्यमा भने शतप्रतिशत प्रगति गर्ने उनले दाबी गरे। 

पर्याप्त बजेटको व्यवस्था भयो भने चालु आर्थिक वर्षमा तीन सय वटा जति पुल निर्माण हुन सक्ने।

राष्ट्रिय गौरवका अधिकांश आयोजनामा लक्ष्य अनुसार नै काम भएको उनको दाबी छ। महासेठका अनुसार साना आयोजनाको काममा मात्र केही ढिलाइ भएको हो। उनले यो वर्षदेखि जेठ मसान्तपछि काम गरेबापतको भुक्तानी नदिने बताए। 

पछिल्लो एक वर्षको अवधिमा महासेठले नयाँ र स्तरोन्नतिसहित सात सय ४७ किलोमिटर सडकको कालोपत्रे गरिएको दाबी गरे। सडक कालोपत्रेमा भएको भनी देखाइएको प्रगति पनि विगतमा हासिल गरिएको उपलब्धिभन्दा बढी हो। उनले पेस गरेको उक्त तथ्यांकको समेत पूरा भएको आधार देखिँदैन। स्वतन्त्र निकायले अहिलेसम्म त्यसबारे अध्ययन गरेको पाइँदैन। 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सोही तथ्यांकलाई सार्वजनिक गरेका थिए। मन्त्रालयले गरिरहेको कामको गति अनुसार बजेट नपुग्ने महासेठको भनाइ  छ। मन्त्रालयको नेतृत्व सम्हालेको केही महिना नियम, कानुन बनाउँदा समय लागे पनि यतिखेर विकासले गति लिइरहेकोे र आउँदो निर्वाचनसम्म नेकपाले अघिल्लो निर्वाचनको बेला सार्वजनिक गरेको घोषणापत्र अनुसार नै विकासका उपलब्धि हासिल गर्ने उनको दाबी छ। 

आउँदो निर्वाचनसम्म ६ हजार किलोमिटर सडकको विस्तार, हुलाकी, मध्यपहाडी र मदन भण्डारी लोकमार्गको निर्माण कार्य सम्पन्न गर्ने उनको घोषणा छ। निर्माण कार्य सुरु गरिएको करिब १५ वर्षदेखि हुलाकी सडक अलपत्र अवस्थामा छ।  हुलाकीको करिब पाँच सय ४४ किलोमिटर निर्माणको प्रक्रिया अझै सुरु नै गरिएको छैन। 

महासेठले सात सय ५३ वटै केन्द्रलाई जोड्ने, पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम सुरु हुन गइरहेको बताए। ‘पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउनका लागि चैत ८ गते प्रधानमन्त्रीज्युले शिलान्यास गर्दै हुनुहुन्छ,’ उनले भने, ‘अबको १० वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेल सञ्चालन गर्छौं।’ विद्युतीय रेलका लागि डिपिआर तयार भइसकेको उनको भनाइ छ।  

जयनगर–जनकपुर–कुर्था (३५ किमी) मा भने अबको दुई महिनामा रेल चल्ने उनको दाबी छ। दुईवटा रेल खरिदका लागि भारत सरकारसँग प्रक्रिया सुरु भइसकेको उनले बताए। ‘अबको दुई महिनामा जयनगर–जनकपुर–कुर्थामा रेल चल्छ,’ उनले भने। त्यस्तै उनले पानी जहाज सञ्चालनका लागि अध्ययन, अनुसन्धान र अवलोकनको काम भइरहेको बताए। 

अबदेखि मन्त्रालयले ठूला सडकका १५ हजार किलोमिटर सडकको मात्र जिम्मेवारी लिने महासेठको भनाइ  छ। बाँकी ७२ हजार किलोमिटर सडक प्रदेश स्थानीय तहलाई हस्तान्तरण हुने उनले बताए। कतिपय प्रदेशले ठूला आयोजनाको काम गर्न नसक्ने भन्दै सहयोगको याचना गरिरहेको समेत महासेठले खुलासा गरे।  

 

प्रकाशित: ६ चैत्र २०७५ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App