coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१४ करोडका कारगेड बाइक किन्दै सरकार

काठमाडौं - सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो। उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ। खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ। ‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ।

सरकारले विनियोजन गरेको बजेट अनुसार भिभिआइपीको सवारीमा प्रयोग हुने ३० वटा स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ। असारभित्र ती कारगेड मोटरसाइकल जापानबाट काठमाडौं आइपुग्ने छन्। उत्तमराज सुवेदीले, प्रवक्ता, नेपाल प्रहरी

‘औपचारिक वा राजकीय सवारीमा राष्ट्रपतिका लागि १३, प्रधानमन्त्रीलाई ७ र उपराष्ट्रपतिलाई ३ वटा कारगेड मोटरसाइकल प्रयोग हुँदै आएका छन्,’ सुरक्षा स्रोतले भन्यो, अहिले प्रयोग भएका कारगेड मोटरसाइकल पुराना भए, तिनलाई विस्थापित गरेर नयाँ उपलब्ध गराउने हाम्रो तयारी हो।’ प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई पनि एक÷एकवटा स्कर्टिङ मोटरसाइकल उपलबध गराउने सरकारी तयारी छ। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कारगेडका लागि सरकारले ३० वटा मोटरसाइकल खरिद गर्न १४ करोड रुपैयाँ निकासा गरिसकेको छ। अतिविशिष्ट पदाधिकारी (भिभिआइपी) का लागि मात्रै प्रयोग हुने गरी करिब १४ करोड रुपैयाँ मूल्यका कारगेड मोटरसाइकल खरिद प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कसको सवारीमा कति स्कर्टिङ बाइक
राष्ट्रपति : १३
प्रधानमन्त्री : ७
उपराष्ट्रपति : ३

२०७५ असोज १४ गते महंगा कारगेड मोटरसाइकल किन्ने निर्णय गरेकोे सरकारले यसलाई गुपचुप राखेको थियो। अर्थमन्त्रालयले बजेट निकासा गरेपछि मात्रै भिभिआइपी÷भिआइपीको सुरक्षा र सुविधासम्बन्धी निर्णय एकपछि अर्को गरी सार्वजनिक भएका हुन्। कारगेड मोटरसाइकल किन्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयका नाममा बजेट निकासा गरिसकेको छ। प्रहरीका अनुसार यी मोटरसाइकल २०७६ असारसम्म काठमाडौं आइपुग्ने छन्। २०५८ पुस २२ गते (सन् २००२ जनवरी २–४) सम्पन्न ११ औं सार्क शिखर सम्मेलनका लागि पनि ३० वटा कारगेड मोटरसाइकल खरिद गरिएको थियो। २०७१ मंसिर १० र ११ (सन् २०१४ नोभेम्बर २६–२७) गते काठमाडौंमै सम्पन्न १८ औं सार्क शिखर सम्मेलनमा आएका पाहुनाको स्कर्टिङका लागि समेत ७६ वटा मोटरसाइकल खरिद गरिएको थियो।

तीन वर्षअघि खरिद भएका २ तिहाइभन्दा बढी कारगेड मोटरसाइकल भिआइपी सवारीका क्रममा प्रयोग गर्न नमिल्ने भइसकेका छन्। कमसल भएकै कारण ती मोटरसाइकल यति चाँडै बिग्रिएका हुन्। १७ वर्षअघि खरिद गरिएका ३० मध्ये २७ वटा कारगेड मोटरसाइकले चालु अवस्थामा छन्। ‘सरकारले विनियोजन गरेको बजेट अनुसार भिभिआइपीको सवारीमा प्रयोग हुने ३० वटा स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने, ‘आगामी असारभित्र कारगेड मोटरसाइकल जापानबाट काठमाडौं आइपुग्ने छन्।’

प्रकाशित: २६ फाल्गुन २०७५ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App